सरकारी अधिकृत सम्मानित तर उपभोक्ता सँधै मारमा

सन्दर्भः विश्व उपभोक्ता अधिकार दिवस

देशभरीबाटै उपभोक्ता अधिकार सुरक्षित गर्न कुशलतापूर्वक काम भएको भन्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी सरकारबाटै सम्मानित भएर गर्वको महशुस गरिरहेका बेला कास्कीकै उपभोक्ताले भने अधिकार सुरक्षित भएको महशुस गर्न सकेका छैनन् । कानुन निष्कृय र अनुगमन फितलो हुँदा यहाँ दिनहुँ सयौं उपभोक्ताहरु ठगिएका छन् ।


अमृत सुवेदी/ पोखरा १ चैत
तनहुँबाट उपचारका लागि आएका अन्जन थापा पोखरा झर्ने बित्तिकै ठगिए । उनी पृथ्वीचोक झरे । पुग्नुपर्ने थियो सिर्जनाचोकको मेट्रो सिटी हस्पिटल । अस्वस्थ थापा पृथ्वीचोकबाट ट्याक्सीमा चढे र मेट्रोसिटी झरे । उनलाई लागेको थियो, करिब एक किलोमिटर दूरीको धेरै भए त्यही सय रुपैयाँ तिर्नुपर्ला । तर, ट्याक्सी ड्राइभरले दुई सय भन्दा एक रुपैयाँ पनि कम नहुने बताए । उनले कसरी दुई सय रुपैयाँ भनेर सोधे । ड्राइभरको जवाफ थियो–‘यति नै हो लाग्ने, पहिले नै नचढेको भए हुन्थ्यो । अब किचकिच नगर्नुस ।’ उनले केही सिप नलागेपछि दुई सय रुपैयाँ दिए र उपचार तर्फ लागे । यातायात व्यवस्था विभागले तोके अनुसार सुरुमा चढे बापत् १४ रुपैयाँ र त्यसपछि प्रतिकिलोमिटर ३६ रुपैयाँ भाडा तिरे पुग्ने ठाउँमा थापाले दुई सय रुपैयाँ तिनुपर्‍याे ।
थापा त एक उदाहरण मात्रै हुन आइतबार नै अर्को एक उपभोक्तावादी नै ट्याक्सी भाडामा ठगिएका छन् । पोखराको पृथ्वीचोकबाट गैह्रापाटन फिस्टेल अस्पतालमा आइतबार दिउँसो ट्याक्सीमा सवार गर्दा चालकबाट ठगिएको भन्दै उपभोक्ता मञ्च कास्कीका सह—सचिव मिलन तिवारीले चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी दिए । मिटरमा चल्न तिवारीले आग्रह गर्दा मिटर बिग्रिएर बनाउन दिएको छु भन्ने चालकले उत्तर दिए । मिटरमा ट्याक्सी संचालन गर्दा पृथ्वीचोकवाट फिस्टेल अस्पतालसम्म एक सय ७० भाडा उठ्ने भएपनि उनले दुई सय भन्दा तल नलिने भनेपछि तिवारीले दुई सय रुपैयाँ भाडा बुझाउनुप¥यो । यहाँ उपभोक्तावादी नै ठगिन्छन् भने अन्य सर्वसाधारणको हालत के होला ?


प्रभावकारी अनुगमन र कारवाही नहुँदा उपभोक्ता धेरै कुरामा ठगिएका छन् । ट्याक्सीले मनपरी भाडा असुल गरिरहँदा बषौंदेखि मिटर तथा मूल्य समायोजनको कुरा उठेपनि केही भएको छैन । उपभोक्ताले अहिलेसम्म सहज रुपमा ग्यास पाउन सकेका छैनन । ठूला व्यापारी र कलिकति पहुँच भएकाहरुले सजिलै ग्यास पाइरहेको भएपनि सर्वसाधारण ग्यास पाउनबाट वञ्चित छन् । अनुगमन गरि समान रुपमा ग्यास उपलब्ध गराउन नसक्नु उपभोक्तावादी संघसंस्थाको कमजोरी हो ।


आइतबार विश्व उपभोक्ता अधिकार दिवस पनि हो । सरकारले यो दिवसलाई सप्ताहव्यापी रुपमा मनाउँदैछ । यही क्रममा फागुन ६ र ७ गते पोखरामा अन्तरक्रियात्मक कार्यक्रम पनि हुँदैछन् । यही दिवसकै अवसरमा कास्कीका एक सरकारी अधिकृत कुशलतापूर्वक उपभोक्ता अधिकार संरक्षण गरेको भन्दै सरकारबाट सम्मानित भएका छन् । ७५ वटै जिल्लाका बजार संरक्षक अधिकृतहरु मध्येबाट उपभोक्ता हकहित संरक्षण तथा बजार अनुगमनका क्षेत्रमा सक्रियतापूर्वक कार्य सम्पादन गरेको भन्दै कास्कीका सहायक प्रमुख जिल्ला एवं बजार संरक्षण अधिकारी चन्द्रनाथ गौतम वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागबाट सम्मानित भएका हुन् । सरकारी अधिकृत सम्मानित भएर गर्वको महशुस गरिरहेका बेला कास्कीका उपभोक्ताले भने अधिकार सुरक्षित भएको महशुस गर्न सकेका छैनन् । कानुन निष्कृय र अनुगमन फितलो हुँदा यहाँ दिनहुँ हजारौं उपभोक्ताहरु ठगिएका छन् ।
बजार अनुगमनका लागि जिल्ला अनुगमन समिति बनेको छ । तर, निरीह र निकम्मा जस्तो भएकोे गुनासो धेरैको छ । जिल्ला प्रशासन, प्रहरी, नौपतौल तथा गुणस्तर विभाग, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च लगायत थुप्रै संघसंस्था यसमा आबद्ध छन् । चाडवाडका बेला मात्र बजार अनुगमनलाई थोरै प्राथमिकता दिने तर, अरुबेला खासै सक्रिय नहुँदा चोरलाई चौतारो मिलेको छ । पोखराको नयाँ बजारमा किराना पसल गर्दै आएका एक व्यापारीले भने, ‘हाम्रोमा अहिलेसम्म अनुगमनका लागि भनेर कोही आएको छैन ।’ कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत भने यो कुरा मान्न तयार छैनन् । नियमित अनुगमन भैरहेको उनको भनाई छ । ‘उपभोक्ताले पनि आफु ठगिएको, कमजोरी भएको ठाउँका प्रशासनलाई खबर गर्ने गर्नुपर्छ । सबैकुरा प्रशासनले मात्रै गर्न सक्दैन । सचेत नागरिकले सहयोग गर्नुपर्‍याे’, राउतले भने ।
प्रभावकारी अनुगमन र कारवाही नहुँदा उपभोक्ता धेरै कुरामा ठगिएका छन् । ट्याक्सीले मनपरी भाडा असुल गरिरहँदा बषौंदेखि मिटर तथा मूल्य समायोजनको कुरा उठेपनि केही भएको छैन । उपभोक्ताले अहिलेसम्म सहज रुपमा ग्यास पाउन सकेका छैनन । ठूला व्यापारी र कलिकति पहुँच भएकाहरुले सजिलै ग्यास पाइरहेको भएपनि सर्वसाधारण ग्यास पाउनबाट वञ्चित छन् । कालोबजारी र पहुँचवालाका कारण ग्यास सर्वसाधारणसम्म पुग्न नसकिरहेको व्यवसायी सुन्दर श्रेष्ठले बताए । अनुगमन गरि समान रुपमा ग्यास उपलब्ध गराउन नसक्नु उपभोक्तावादी संघसंस्थाको कमजोरी हो । फेन्सी, किराना, डिपार्टमेन्टल स्टोर्स, मासु पसल, डिजेल तथा पेट्रोल हरेक कुरामा उपभोक्ताहरु ठगिनु परेको छ । केही समय अघि मात्र पोखरामा म्याद गुज्रेका सामान बेचेको, खसीको मासु भनेर बाख्राको मासु बेचेको, डिजेलमा पानी मिसाएर बिक्री गरेको घटना सार्वजनिक भएको थियो । तर, निरन्तर अनुगमन र कारवाही नहुँदा अन्तपनि यस्तो छैन भन्न सकिने अवस्था छैन । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने कास्कीमा उपभोक्ता सुरक्षा बढ्दै गएको बताउँछन् । उपभोक्ताका पक्षमा अनुगमन भैरहेको उनको भनाई थियो । हालसालै मात्रै डिजेल तथा पेट्रोल पम्प, मासु पसल लगायतमा अनुगमन गरी सचेत गराइएको बताए ।

Comments are closed.