हाम्रो भोट जग्गा दिलाई दिनेलाई:सराङ्कोट बासी

 

पोखरा,

बैशाख २२ ,पोखरा–१८ की सीता परियारका श्रीमान विदेश जाँदा २०५७ सालमा उनले घरबारी बन्दकी राखिन् । विदेश गएपछि श्रीमानले कमाएको पैसा पठाए । विदेशबाट पैसा आएपछि उनले साहुको ऋण किस्ता किस्ता गर्दै तिरिन् । पैसा त तिरिन् तर साहुले घरबारी फिर्ता गरेनन् । त्यसपछि उनले हारगुहार गरिन् तर कसैले उनको हारगुहार सुनेन । नत साहुले नै हारगुहार सुनेर जग्गा फिर्ता दिए ।

त्यसपछि सीता तत्कालीन समयमा जनयुद्ध गरिरहेको माओवादीको सम्पर्कमा पुगिन् । साहुले हडपेको आफ्नो घरबारी फिर्ता गर्न उनले माओवादीलाई गुहार मागिन् । नभन्दै २०६१ सालमा स्थानिय माओवादी नेता राजु तिमिल्सिनाको पहल र अगुवाईमा सीताले जग्गा फिर्ता पाईन् ।

तिनै राजु अहिले पोखरा महानगरपालिका वडा नम्बर–१८ को वडाध्यक्षका उम्मेदवार बनेर आएका छन् । राजु उम्मेदवार बनेपछि सीताले नसघाउने कुरै भएन । उनलाई ती दिन झलझली याद आउँछ र भन्छिन्,‘जसले साहुको हातबाट हाम्रो जग्गा खोसेर दिलायो आज त्यही व्यक्ति उम्मेदवार भएको छ । त्यस्ता समाजसेवी राजुलाई हामीले भोट हालेर नजिताए त पाप लाग्छ ।’ उनले आफूले मात्र होईन आफ्नो परिवार र गाउँले सबैले माओवादीलाई भोट दिएर बिजयी गराउने बताईन् ।

सीताको मात्रै होईन सराङकोटकै शेरबहादुर नेपालीको जग्गा पनि त्यसरी नै भु–माफियाले हडप्यो । बन्दकी राखेको जग्गा झुक्याएर जग्गा पास गरेपछि नेपाली घर न घाटको भए । साहुले ब्याजको स्याज जोडेर जग्गा हडपेको उनको भनार्य छ ।

 

जग्गा हडपिएपछि नेपालीपनि माओवादीको शरणमा पुगे । नभन्दै माओवादीको पहलमा साहुको पञ्जाबाट जालसाँजी गरेर हडपेको जग्गा नेपालीले फिर्ता पाए । जग्गा फिर्ता पाएर दंग परेका उनी अहिले माओवादीलाई भोट हालेर जिताउने अभियानमा छन् । भन्छन्,‘मेरो घरबारी, मेरो सर्वस्व फिर्ता गरिदिएको ऋण तिर्नका लागि भएपनि यसपटक माओवादीलाई नै भोट दिन्छु ।

आफूले कुनै समयमा साहु, महाजन, भु–माफियालगायतको पञ्जाबाट जग्गा फिर्ता गराएकाहरुको साथ पाएपछि माओवादी उम्मेदवार राजु तिमिल्सिना यसपटक चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्,‘माओवादीले धेरै घटनामा न्याय दिएको थियो । गरीव र निमुखाको पार्टी भनेकै माओवादी हो । हिजोपनि साहु, महाजन, भु–माफियाको पञ्जाबाट बचाएको हो । आजपनि विकृति, विसंगतिको अन्त्य गर्दै रोजगारी, विकास र समृद्धि दिने माओवादी नै हो । त्यसैले भोट दिएर बिजयी गराउनूस ।’

 

चुवाव प्रचार प्रसारको क्रममा घरदैलो अभियानमा रहेका राजुले आफुले सधै पिडितको पक्षमा लड््ने बताए । स्थानिय चुनावमा माओवादीको जित नभएमा भु–माफिया र सामन्ति फेरी सलबलाउन सक्ने उनको भनाई थियो । सामन्तीलाई तह लगाउनको लागि नै तिमिल्सिनाको उम्मेदवारी रहेको माओवादी केन्द्र पोखरा १८ का अध्यक्ष पुर्णखर तिमिल्सिना बताउँछन् ।

 

पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा राजु शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा साहारा नेपालीले उम्मेदवारी दिएका छन् ।

 

बिहिबार पोखरा १८ शिव भङ्जाङबाट सुरु भएको घरदैलो कार्याक्रम धाराको पँधेरे, गोठादी गाउँ, बाँनिया थर, मगार गाउँ, ढकालथर, हरिडाँडा, शिशुस्याहार, चण्डकीको डिल हुँदै वडा भवनमा पुगेर समापन भएको थियो ।

‘काहुँमा पर्यटकीय पूर्वाधारका लागि योजना बनाउँछौँ’

पोखरा महानगरपालिका–११ स्थित काहुँडाडामा आवश्यक पर्यटकीय पूर्वाधार बनाउन स्थानीयले माग गरेका छन् ।

काहुँवासीले पर्यटनका लागि प्रसिद्ध रहेपनि आवश्यक पूर्वाधार अभाव रहेकामा मत माग्न आउने उम्मेदवार दलका नेताहरुप्रति ध्यानाकर्षण गराए ।

माओवादी केन्द्रबाट आसन्न स्थानीय तह निर्वाचनमा बिहीबार वडाध्यक्षका प्रत्याशी चिन्तामणि खरेल लगायतको टोली समक्ष स्थानीयले पर्यटकीय पूर्वाधार, खानेपानी र सडक निर्माण गर्न माग गरेका हुन् । सो अवसरमा उम्मेदवार खरेलले  पर्यटन विकासका लागि आफ्नो तर्फबाट योगदान गर्ने प्रतिवद्धता जनाए ।

काहुँडाडाँमा भएको घरदैलो र कोणसभामा उम्मेदवार चिन्तामणिले आफू निर्वाचित भएपछि काहुँलाई पर्यटकीय गन्तव्यका रुपमा थप  विकास गर्न र पूर्वाधार निर्माणका लागि योजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् । उनले काहुँमा खानेपानी समस्या समाधान र सडक पूर्वाधार निर्माणमा जोड दिने योजना रहेको सुनाए ।

कार्यक्रममा माओवादी केन्द्रका पोखरा महानगर उपाध्यक्ष हर्कमान विश्वकर्मा, नेताहरु कुमार क्षेत्री, रुद्र विश्वकर्मा, माओवादी वडा कमिटी अध्यक्ष मनोज रसाइली लगायतले विकासका लागि माओवादी उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

माओवादीले सो वडाको वडाध्यक्षमा चिन्तामणि खरेल र वडासदस्यहरुमा विष्णु आचार्य, सरिता विक, सुनिल लामिछाने र उषा विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

Comments are closed.