सराङ्गकोटमा बस दुर्घटना, ६ जनाको ज्यान गयो, ४९ जना घाईते, ८ जनालाई काठमाडौं लगियो(अपडेट)

पोखरा, २२ फागुन –

कास्कीको सराङ्गकोटमा शुक्रबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ । अरु ४९ जना घाईते भएका छन् ।

ज्यान गुमाउनेमा पोखरा–२६ सराङ्गकोटका १६ बर्षिय विवश तिमिल्सिना, ५० बर्षिय, हरि बहादुर खत्री, ४० बर्षिय गोमा लुईंटेल, ५० बर्षिय लेख बहादुर ढकाल, ४५ बर्षिय तारा थापा र कास्कीकोट–६ की ५५ बर्षिय भीमा के.सी. खत्री रहेका छन् ।

तिमिल्सिनाको गण्डकी मेडिकल कलेज, खत्री, लुईंटेल, ढकाल र थापाको मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको कास्की प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए । कास्कीकोट गाविसको गुन्टेचौरबाट पोखरा आउँदै गरेको ग १ ख ४८ ४९ नम्बरको बस सडकबाट करिब १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका ८ जनालाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको उनले बताए ।

अन्य घाईतेहरुको मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, सहारा अस्पताल र फिस्टेल अस्पतालमा उपचार भैरहेको छ । घाईतेमध्ये १० जनाको अवस्था गम्भिर छ ।

दुर्घटनामा घाईते भएकाहरुलाई प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । दुर्घटनामा परेका यात्रुहरुका अनुसार बस सह चालकले चलाएका थिए । ओरालो बाटो बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो ।

प्रहरीले बसचालक उदयपुर घर भई सार्दीखोला बस्दै आएका २७ बर्षिय खिल बहादुर आले मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

साँघुरो तथा ओरालो सडक, अत्यधिक यात्रु, चालकको लापरवाही लगायतका कारण सराङ्गकोटमा बर्षेनी ठूला दुर्घटना हुँदै आएका छन् ।

Comments are closed.