सराङ्गकोट बस दुर्घटनामा ज्यान गुमाउने लुईंटेलको ऋण मिनाहा

पोखरा १५ चैत ।राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डोले कास्कीको सराङ्गकोटमा गत फागुन २२ गते भएको बस दुर्घटनामा ज्यान गुमाउने एक सदस्यले लिएको ऋण मिनाहा गरिदिएको छ ।

नेपालको पहाडी क्षेत्रमा विपन्न समुदायको चेतना, संगठन तथा आयआर्जनको माध्यमबाट जीविकोपार्जनमा सुधार ल्याउन क्रियाशिल उक्त संस्थाले कास्कीकोट गाविस वडा नं. २ की गोमा लुईंटेलको परिवारलाई करिब ८ हजार रुपैयाँ क्रियाखर्चसहित उनले भैंसीपालनका लागि लिएको १ लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको हो ।

मृतक सदस्यको स्मृतीमा शनिबार कास्कीकोट–२, गुण्टेचौरमा आयोजित श्रद्धान्जलीसभामा लुईंटेलले लिएको ऋण मिनाहाका साथै उनको परिवारलाई क्रियाखर्च प्रदान गरिएको संस्थाका सूचना व्यवस्थापन प्रमुख युधिष्ठिर भुसालले जानकारी दिए । कार्यक्रममा नेष्डोको तर्फबाट दुर्घटनामा घाईते भएका संस्थामा आबद्ध सदस्य वसन्त के.सी. र डिलमाया सुवेदीलाई पनि क्रमशः २ हजार र १ हजार रुपैयाँ उपचार राहतस्वरुप प्रदान गरिएको थियो ।

कास्कीकोटबाट पोखरातर्फ आँउदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको ज्यान गएको थियो । श्रद्धान्लीसभामा बोल्दै नेपाल राष्ट्र बैंक पोखराका व्यवस्थापक तिमिल्सिनाले देशको आर्थिक उन्नतीमा ठूला बैंकहरुको भूमिका रहेपनि विपन्न वर्गको घरदैलोमा पुगी बचत संकलन गर्नुको साथै विना धितो कर्जा प्रवाहका साथै दर्जनौ कल्याणकारी सुविधाले ग्रामीण समुदायको समृद्धीमा टेवा पुगेको बताए ।संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले संस्थाले महिला तथा विपन्न वर्गलाई विनाधितो कर्जा दिनुको साथै जन्मदेखि मृत्यूसम्मका हरेक सुखदुखमा साथ दिंदै आएको बताए ।

Comments are closed.