राम थापा ‘अविरल’/
बागलुङ, ४ पुस/ समयमै संविधान दिन दलहरु कसरतमा रहेका बेला बागलुङका कवि, सर्जकले पनि निर्धारित समयमै संविधान ल्याउन कवितामार्फत जोड दिएका छन् । कवितामा संविधानसभा विषयक काव्य गोष्ठीमा सबै कवि, सर्जकले एक स्वरमा माघ ८ भित्रै संविधान दिन खबरदारी गरे ।
“हामी नेपाली फेरि असफल हुन चाहँदैनौँ, संविधानका लागि नागरिक खबरदारी” भन्दै सत्कर्म नेपाल, पत्रकार महासङ्घ बागलुङ र साझेदारहरुको नागरिक समूहले गरेको कार्यक्रममा कवि, सर्जकले आफ्ना सिर्जनामार्फत नयाँ संविधानको पक्षमा वकालत गरे । कवि गुणराज पौडेल गुराँसले सहमतिको संविधान ल्याउनुपर्नेमा जोड दिँदै लेखेको कविता पाठ गरे ।
एक युगमा एकपटक आउने
भाग्यमानीहरुको अवसर पनि हो यो
हातमा विश्वास मस्तिष्कमा सहमति लिएर
जनचाहना पुरा गर्ने वचन
कलम र कापीको दोसाँधमा
फसेको छैन सायद ।
बुधवार भएको कवि गोष्ठीमा सबै सर्जक समयमै संविधान जारी गरेर नागरिकको सपना साकार पार्ने कुरामा सहमत देखिन्थे । सर्जक सीतारा थापा कविता पढ्दै यसो भनिन् ।
खबरदार छ, नेताहरु बनाउ संविधान
धोका नदेउ नागरिकलाई बनाउ संविधान ।
बीसजना सर्जकले आ–आफ्ना कविता, गजल, मुक्त र गीतबाट दलले वाचा गरेकै मितिमा संविधान आउनुपर्नेमा जोड दिए । कवि भरत बागलुङेको कविताले पनि यसरी संविधान लेख्न चुनिएका सभासद्हरुप्रति खबरदारी ग¥यो ।
खबरदार माननीय
ओ–सम्माननीय
सोँच, हजारपटक सोँच
ठीक एक वर्षअघि तिमीले गरेका
वाचा र अरिङ्गाल जस्ता
नागरिकको आक्रोशका बारेमा ।
युगमा एकपटक आउने संविधानसभाको अवसरलाई देश र नागरिकको सर्वोपरि हितमा प्रयोग गर्नतिर रचना–सन्देश केन्द्रित थियो । आगामी माघ ८ गते नै नेपाली नागरिकलाई नयाँ संविधान दिनको लागि सम्बन्धित निकायमा दबाब पुगोस् भनेर कवितामार्फत खबरदारी गरिएको आयोजक सत्कर्म नेपालका अध्यक्ष सीताराम थापाले बताए । सोही अवसरमा समयमै संविधान जारी गर्नका लागि हस्ताक्षर सङ्कलन पनि गरिएको थियो ।
Comments are closed.