काठमाण्डौ १७ चैत्र ःनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकता बदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने विश्वास व्यक्त गरेका छन् । नेकपा विवादमा गत फागुन २३ सर्वोच्चले गरेको फैसलाविरुद्ध मंगलबार पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएपछि प्रचण्डले सो कुरा बताएका हुन् । उनले सर्वोच्च परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘मलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका कतिपय फैसलामा टिप्पणी भयो भने पुनरावलोकन हुने गरेको छ ।’ देशको राजनीतिक स्थायित्व र सम्बृद्धिका लागि फैसला पुनरावलोकन हुन जरुरी रहेको समेत बताए ।
सर्वोच्चलाई माओवादी केन्द्रको ८ प्रश्न ः सुधार गर्ने मौका नै नदिई अलग–अलग दल भन्न मिल्छ ?
‘देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र सम्बृद्धिमा नेपाल जाँदैछ । यस्तो बेलामा एकताबद्ध भैसकेका दलहरूलाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गर्यो त्यो सच्याउनेछ भन्ने हाम्रो विश्वास छ’, प्रचण्डले भने, ‘नामसम्बन्धी मुद्दा थियो, रिट निवेदकले यो पार्टी टुटोस् भन्ने चाहाना राखेको पनि थिएन ।’
उनले रिट निवेदकले नाममात्रै सच्चाउने माग गरेपनि सर्वोच्चले अघि बढेर पार्टी एकता टुटाएको बताए । ‘नाम मात्रै करेक्सन होस् भन्ने थियो रिट निवेदकको तर निवेदनभन्दा बाहिर गएर गरेको निर्णय पक्कै पनि सर्वोच्च अदालतले केही दिनभित्रै गर्छ । ढिलो गर्न हुने पनि छैन’, अध्यक्ष प्रचण्डको भनाइ छ ।
Comments are closed.