सस्तो बजार प्रकरण टेन्डर नपाएपछि जमिन कब्जा

पोखरा, १५ फागुन
पोखरा नयाँबजारस्थित सस्तो बजार रहेको नेपाल वायु सेवा निगमको जग्गा भाडामा लिन टेन्डर नपरेपछि बजारभित्रकै व्यापारीले कब्जा गरेका छन् । उनीहरु निगमको करिब ५ रोपनी जग्गामा वैशाखदेखि अनाधिकृत रुपमा बसिरहेका छन् । बजारभित्रकै व्यवसायीले आफूलाई टेन्डर नपरेपछि निगमले गरेको टेन्डर प्रक्रियाको घोर विरोध गरेको खुलेको छ ।
२०७२ चैत मसान्तमा सम्झौता सकिने भएपछि निगमले २०७२ माघ १७ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा नयाँ टेन्डरका लागि बोलपत्र आह्वान ग¥यो । जसमा ३१ वटा फर्मले टेन्डर विड गरे । त्यसमध्ये ४ वटा फर्म बजारभित्रकै व्यापारीको थियो । अधिकतम २४ लाख रुपैयाँदेखि न्युनतम ४ लाख मासिक भाडा बुझाउने गरी बोलपत्र दर्ता भए । बोलपत्र दर्ता गर्नेमा शिव खनाल पनि थिए । उनले शिवम नट बोल्ट नयाँबजारको फर्मबाट १६ लाख ११ हजार १ सय ११ मासिक भाडा बुझाउने गरी बोलपत्र दर्ता गरेका थिए । शिव सहित सस्तो बजारभित्रकै केशव भुजेल, प्रकाश दुलाल, रमेश श्रेष्ठ लगायतले आफै बजार सञ्चालन गर्ने भन्दै १ सय ५१ जनाबाट प्रतिसटर ८५ हजार रुपैयाँ संकलन गरेका थिए । उक्त १ करोड २८ लाख रुपैयाँको हाल कतै हिसाबकिताब छैन ।
फुटपाथ व्यापारीलाई व्यस्थित गर्न राखिएको वायु सेवा निगमको जग्गा अहिले विप्लव माओवादीको आडमा व्यवसाय गर्ने केही व्यापारीको कब्जामा छ । यसअघि भरत गुरुङको अकिरा एन्ड आकृति प्रालिले २०६९ देखि भाडामा लिएर सस्तो बजार सञ्चालन गरेको थियो ।
वायु सेवा निगम क्षेत्रीय कार्यालयको सूचना बमोजिम विड गरेर सूर्य दील ग्रुप इन्भेस्टमेन्टले टेन्डर प्राप्त ग¥यो । सूर्य दील वायु सेवा निगमबीच २०७३ कात्तिक १ गते मासिक ११ लाख रुपैयाँ भाडा बुझाउने गरी ५ वर्षका लागि सम्झौता भयो । सम्झौता बमोजिम सूर्य दीलले धरौटी वापत ६ महिनाको भाडा ६६ लाख रुपैयाँ अग्रिम भुक्तानी समेत ग¥यो । सुर्य दील ग्रुपले व्यवसायी युवराज खतिवडालाई सस्तो बजार सञ्चालनको लागि अख्तियारी दिइसकेको थियो । तर व्यवसायी खतिवडा हाल सस्तो बजार प्रवेश गर्न सक्ने अवस्थामा छैनन् । विप्लव माओवादीको आडमा शिव खनाल लगायत व्यापारीको दादागिरीका कारण उनी सस्तो बजार प्रवेश गर्न सकेका छैनन् । साना व्यवसायीसँग छलफलका लागि युवराज खतिवडा सस्तो बजार जान खोजेपनि शिव खनाल नेतृत्वको समूहले प्रवेश गर्नै दिँदैन । खनालले आफूलाई टेन्डर नपरेपछि साना व्यवसायीलाई उक्साएर अन्यलाई बजारभित्र प्रवेश गर्न नदिएका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै व्यवसायी खतिवडाले ठगीको पर्दाफास हुने डरले आधिकारिक कम्पनीलाई प्रवेश गर्न नदिइएको बताए । ‘हामीले डोजर लगाइदिए साना व्यापारीबाट उठाएको पैसा फिर्ता गर्नु पर्दैन भन्ने उनीहरुलाई छ,’ खतिवडाले भने, ‘तर हामी त्यसो गर्दैनौं बरु ठगिएको पैसा फिर्ता गर्न सहयोग गर्छौं ।’ उनले आफूले बुझाएको पैसाको हरहिसाब शिव खनालसँग माग्न र नदिए सिधैं ठगी हो भनेर बुझ्न सस्तो बजारभित्रका साना व्यापारीलाई आग्रह गरेका छन् । ‘चप्पल, मोजा बेचेर गुजारा गर्ने साना व्यापारीलाई ठगेर खान पल्किएकाको कर्तुत छताछुल्ल हुने देखेर हामी विरुद्ध भ्रम फैलाइएको छ,’ उनले भने । भ्रष्टाचार नगरेको भए प्रशासन र संचारमाध्यममा हिसाबकिताव बुझाउन सस्तो बजार व्यवस्थापन समितिलाइ खतिवडाले चुनौती दिए । उनले व्यवस्थापन समितिले घोटाला गरेको रकम विप्लव माओवादीको जिल्ला नेतृत्वसम्म पुग्ने गरेको दाबी गरे । उनले प्रश्न गरे ‘पार्टीको नियत नै चन्दा उठाएर खाने हो कि के हो ?’
व्यवसायी खतिवडा सम्झौता बमोजिम बजार सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हाल सम्झौता बमोजिम मैले बजार सञ्चालन गर्न नपाएको अवस्था छ ।’ बजार भित्र रहेका केही व्यापारीले राजनीतिको आडमा मनोमानी गरेको उनको दाबी छ । खतिवडाले सम्पूर्ण कानुनी प्रक्रिया पु¥याएर पाएको टेन्डर बमोजिम काम गर्न नपाउँदा ठूलो ब्ययभार परेको बताए । ‘कानुनी रुपमा हामीले सञ्चालन गर्न पाउनुपर्ने भएपनि हामी सस्तो बजार प्रवेश गर्न पाउने अवस्था छैन,’ उनले भने, ‘राजनीतिक आडमा अनावश्यक बल, डर, धाकधम्की प्रयोग गरेर गुण्डागर्दी शैलीमा बजार कब्जा गरेका छन् ।’
व्यवसायी युवराज खतिवडाले सटर किनबेचको कानुनी अधिकार वर्तमान व्यवस्थापन समितिलाई नभएको बताउँछन् । ‘जब टेन्डर नै सूर्य दीलको पक्षमा छ भने कुन कानुनी आधारमा सटेर किनबेच भइरहेको छ ?,’ उनले प्रश्न गरे । खतिवडाले आफूले ६५ सय रुपैयाँभन्दा कम भाडामा साना व्यापारीलाई राख्न तयार रहेको पनि बताए । त्यसो भयो भने त्यहीभित्रका केही व्यापारीको आम्दानीको स्रोत घट्ने चिन्ताले साना व्यापारीलाई भड्काएको उनको आरोप छ । खतिवडाले व्यवसाय सञ्चालनको वातावरण बनाइदिन जिल्ला प्रशासन कार्यालयमा पटक पटक निवदेन दिएपनि कुनै सुनुवाई नभएको जनाए । ‘सम्झौता भएको ४ महिनासम्म पनि सञ्चालन गर्न पाइरहेका छैनौं,’ उनी भन्छन्, ‘राज्यकै निकायले टेन्डर आह्वान गरेर, राज्यको नियमानुसार रकम बुझाएर प्राप्त टेन्डर राज्यकै नियमकानुन अनुसार काम गर्न खोज्दा राज्यले नै असहयोग गर्नु जायज होइन ।’ उनले सस्तो बजार व्यवस्थापन समितिका प्रतिनिधिलाई बारम्बार वार्ताको लागि आग्रह गर्दा समेत नआएको बताए ।
सस्तो बजार सञ्चालक समितिको नाममा शिव खनाल, केशव भुजेल नेतृत्वको समूहले अनाधिकृत रुपमा उठाएको उक्त रकम साना व्यवसायीले फिर्ता पाएका छैनन् । उक्त रकमको हरहिसाब माग्न जाँदा शिव खनालले साना व्यवापारीलाई बजारबाटै निकाल्ने धम्की दिएको टंक खतिवडाले बताए । सस्तो बजारभित्रकै अर्का व्यवसायी सन्तबहादुर गुरुङले हिसाबकिताब खोज्दा विगत चार महिनादेखि आफ्नो सटरमा तालाबन्दी गरिएको जानकारी दिए । उनले भने, ‘ताला खोल्न वैदाम प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पटक पटक धाए तर सुनुवाइ भएन ।’ सस्तो बजारमा सटर खाली हुने वित्तिकै व्यवस्थापन समितिले एउटा सटरलाई १ लाख ५० हजार रुपैयाँ सम्म बेचेको गुरुङले बताए । विप्लव माओवादी नेतृत्वको सस्तो बजार व्यवस्थापन समितिले साना व्यवसायीबाट पानी बत्तिको लागि भन्दै भाडा उठाए पनि वायु सेवा निगमलाई बुझाएका छैनन् ।

के भन्छ वायु सेवा निगम ?
नेपाल वायु सेवा निगम क्षेत्रीय प्रबन्धक विजयबहादुर बस्नेतले पुरानो पक्षलाई जग्गा खाली गर्न २०औं पटक पत्राचार गरेपनि नछोडेको बताउँछन् । उनले सार्वजनिक खरिद ऐन अनुसार नै टेन्डर प्रक्रिया मार्फत मासिक ११ लाख भाडा बुझाउने गरी सूर्य दील ग्रुप इन्भेस्टमेन्टले सम्झौता गरेको बताए । निगम अन्तर्गत साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग उपनिर्देशक अष्टमान महर्जन, बरिष्ठ अधिकृत नवीन शाक्य र कानुन शाखा अधिकृत नै आएर पुराना व्यापारीसँग छलफल गरेको थिए । तर सस्तो बजार व्यवस्थापन समितिले प्रक्रिया नै रद्द गरेर आफूहरुलाई दिनुपर्ने अडान लिएपछि विवाद समाधान हुन सकेको थिएन । क्षेत्रीय प्रबन्धक बस्नेतले भने, ‘प्रक्रिया नै रद्द गरेर अपारदर्शी ढंगले दिन सक्दैनौं ।’ उनले ठाउँ खाली गर्न प्रशासनलाई गुहार गरिरहेपनि सुनुवाई नभएको बताए । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सस्तो बजार खाली गर्ने सम्बन्धमा चासो लिएकाले एक हप्ताभित्र निकास निस्कनले आशा गरे ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले विवाद समाधानका लागि सर्वदलीय वैठक आह्वान गरेपनि सस्तो बजारका व्यवसायी अनुपस्थित भएको बताए । उनले मंगलबार पुन सर्वदलीय वैठक आह्वान गरेकोले उक्त वैठकबाट विवाद समाधान हुने अपेक्षा गरे ।

Comments are closed.