‘सशस्त्र प्रहरी अब्बल सुरक्षा निकाय’
पोखरा, २८ चैत्र/ उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संविधान निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरेका छन् । सशस्त्र प्रहरी बल तालीम महाविद्यालय लामापाटन पोखरामा शुक्रबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोहमा बोल्दै उनले संविधान निर्माणमा सहकार्य गर्न दलहरुलाई आग्रह गरेका हुन् ।
उनले सरकारको प्रमुख कार्यादेश संविधान निर्माण रहेको बताउँदै त्यसका लागि आवश्यक वातावरण निर्माण र सहमतिका लागि प्रयास भैरहेको बताए ।
‘सरकारको प्रमुख काम संविधान निर्माण हो, त्यसका लागी सबै राजनीतिक दलहरुलाई आफना स्वार्थ त्यागेर सहमतिमा आउन आग्रह गर्दछु ।’ उपप्रधानमन्त्री गौतमले भने । संविधान निर्माणमा सबै राजनीतिक दलहरुलाई सहमति र सहकार्यका लागी पटकपटक आग्रह गर्दै नेपाली जनताले चाहेजस्तो आर्थिक विकास हुन नसकेको स्वीकार गरे । उनले देश संक्रमणकालीन अवस्थामा रहेको बताउँदै संक्रमणकालीन अवस्थालाई छोट्याउन सरकार प्रयासरत रहेको दावी गरे ।
गृहमन्त्री गौतमले संक्रमणकालीन अवस्थामा शान्ति सुरक्षा कायम गर्न कठिन र चुनौती हुने बताउँदै सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कायम र अमनचयनमा महत्वपूर्ण योगदान गरेको बताए । उनले भने– ‘सशस्त्र प्रहरीले द्धन्द्ध कालमा गरेको योगदानले अब्बल सुरक्षा निकायका रुपमा स्थापित भएको छ ।’ गृहमन्त्री गौतमले समाजमा शान्ति र सुब्यवस्था कायम गर्न सृजनशिल र सुब्यवस्थित कार्ययोजना बनाएर अगािड बढन समेत निर्देशन दिए । उनले देश र जनताको रक्षाका लागी धैर्य र अविचलित नभई मानव अधिकारको रक्षा गर्दै आफनो कर्तव्य पुरा गर्न पनि निर्देशन दिए ।
उनले सिमित स्रोत र साधनलाई प्रयोग गरेर उच्चतम प्रतिफल प्राप्त गर्न सशस्त्र प्रहरी बल सफल भएको भन्दै गृहमन्त्री गौतमले प्रशंसा गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सरकारको कायादेशलाई जिम्मेवारी र कुशलता पुर्वक पुरा गदै देश र जनताको हितमा काम गर्न प्रतिबद्ध रहेको बताए । उनले नागरिकको सुरक्षा र सेवामा सशस्त्र प्रहरीप्रतिको विश्वास जनतामा विगतमा भन्दा अझैवृद्धि हुने अपेक्षा गरे । उनले संगठनलाई आधुनिकीरण गर्न संस्थागत गर्न केही योजना लागू भएको र केही निर्माणको क्रममा रहेको जानकारी समेत दिए ।
दिक्षान्त समारोहमा २४ जना सशस्त्र प्रहरी निरीक्षकहरुलाई दिक्षीत गरिएको थियो । २९ जनाका लागि संचालन गरिएको तालिममा २ जना तालिमका क्रममा भागेको र एक जना खुट्टामा समस्या भएपछि सहभागी नभएको महाविद्यलाय लामापाटनका वरिष्ठ प्रहरी उपरिक्षक राजु अर्यालले जानकारी दिए । सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित तालिममा प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटुवाल तालिममा सर्वप्रथम भएका छन् । यसैगरी, कवाजतर्फ कृष्णकुमार भण्डारी, चाँदमारीतर्फ देवबिक्रम थापा र शारिरीक सहिष्णुतातर्फ निरञ्जन कार्की प्रथम भएका छन् ।
कार्यक्रममा सभासदहरु, गृहसचिव सूर्यप्रसाद सिलवाल, क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया, कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत लगायत कास्कीका राजनीतिक दलहरु तथा वरिष्ठ प्रहरी अधिकृतको सहभागिता थियो ।
यसैबीच, कार्यक्रममा प्रधानमन्त्री शुसिल कोइराला आउने भनिएपनि अन्तिम समयमा उनी सहभागी भएनन् । उनी नआएपछि गृहमन्त्री गौतम पोखरा आउने कार्यक्रम तय भएको थियो । बिहान नौ बजेका लागी आमन्त्रण गरिएपनि प्रधानमन्त्री अन्तिम समयमा नआउने जानकारी गराएपछि करिब ३ घण्टा ढिलो कार्यक्रम सुरु भएको थियो । गृहमन्त्री गौतम हेलिकोप्टर मार्फत कार्यक्रमस्थल लामापाटनमा आएका थिए ।
Comments are closed.