साँझ परेपछि पोखरामा सार्वजनिक सवारी पाउनै मुश्किल

‘गाडी नभरिए बीचबाटोमै छोडिन्छन् यात्रु’


nnn2पोखरा, ८ चैत/पोखरा अर्थात्, देशकै पर्यटकीय नगरी । अझ नेपालको दोश्रो ठूलो शहर पनि । काम बिशेषबाहेक दैनिक हजारौं स्वदेशी र विदेशीहरुले टहलिनैका लागि रोज्ने मुख्य थलो । आकर्षक भौगोलिक वनावट र पर्यटकका लागि उपलब्ध सेवा सुविधाले कहलिएको ठाउँ भएपनि पोखरा सबै कुरामा सक्षम र सबल भने छैन ।
अचाक्ली महङ्गी, खानेपानी समस्या, यातायातको असुविधा लगायत जनताले पाउने सास्तीका धेरै बिशेषता पनि छन् यहाँ । त्यसमा पनि सार्वजनिक यातायात क्षेत्रको त कुरै नगरौं । रातीसम्मै यात्रुको चहलपहल हुने भएपनि पोखरामा साँझ ६ बज्दा नबज्दै सार्वजनिक गाडी पाउन मुश्किलै पर्छ । पाईहाले पनि साँझमा गुड्ने गाडीको कुनै भर र ठेगान भने हुँदैन । एक ठाउँमा भनेर चढेका यात्रु की अर्कै ठाउँमा ओरालिन्छन् की त चालक, सहचालक र यात्रुबीच पैसाको मोलमोलाई सुरु हुन्छ ।
हुन त पोखरामा साँझ ८ बजेसम्म सार्वजनिक गाडी चलाउने भनेर बर्षौं पहिले नै यातायात व्यवसायीले निर्णय गरेका हुन् । तर देखाउन र सस्तो लोकप्रियताका लागि गरिएका यस्ता निर्णय यातायात व्यवसायीका कागजमा मात्रै सिमित भए भने आम सर्वसाधारणले पत्रिका र रेडियोमा पढेका र सुनेका समाचार बाहेक सेवा पाउन भने सकेका छैनन् ।nnn1
घटना यहि शनिबार साँझको हो । बाग्लुङ्ग घर भएका एक युवक पोखराको बाग्लुङ्ग बसपार्कबाट गृहजिल्ला पुग्नका लागि ना ५ ख ५२ ३० नम्बरको यात्रु बस चढे । चितवनबाट अर्कै गाडीमा पोखरा आईपुगेका उनी शनिबार राती नै बाग्लुङ्ग पुग्नुपर्ने थियो । पृथ्वीचोकमा गाडीबाट झर्दा साँझको साढे पाँच बजिसकेको थियो । गाडीबाट झरेर बाग्लुङ्गका लागि बस छुट्ने स्थान बाग्लुङ्ग बसपार्कमा उनी करिब ६ बजे मात्रै पुगे । घाम अस्ताईसकेपनि झमक्क साँझ भने परिसकेको थिएन । सडकमा पारीसम्मै गुडेका सवारीसाधन प्रष्टै देखिन्थे ।
हतार हतार पृथ्वीचोकबाट नास्ता खाएर ट्याक्सीमा बाग्लुङ्ग बसपार्क पुग्दा टिकट काउण्टर बन्द भैसकेको थियो । टिकट काउण्टरको अगाडी नै पर्यटक ओसार्ने बसजस्तै देखिने बसका सह चालकले यात्रु बोलाईरहेका थिए । हेर्दा स्तरिय जस्तै लाग्ने बसमा वाईफाई, एसी सुविधा लगायतका सबै सुविधा उपलब्ध हुने उल्लेख गरिएको थियो । सहचालकले बाग्लुङ्गका लागि बस गुड्नै लागेको बताएपछि ती युवक बस चढे । बसमा पुग नपुग १०÷१२ जना जति थिए । बाग्लुङ्ग बसपार्कबाट यात्रु बोलाउँदै हिँडेको बस करिब डेढ किलोमिटर गुडेपछि, हरिचोकमा पुगेर झ्याप्पै रोकियो ।
बसमा रहेका यात्रुहरु आपसमा खासखुस गर्न थाले । थप यात्रु चढाउनका लागि बस रोकिएको होला भन्ने अनुमान भयो । तर चालक र सह चालकले यात्रु थोरै भएको भन्दै बस अब अघि नबढ्ने बताए । साँझ परिसकेको थियो । सडकमा गुडेका सबै गाडीका चालक हेडलाईटको भरमा बाटो नियाल्दै थिए । बेलुकी अबेर नै भएपनि गन्तव्यमा पुग्न पाईने आशमा बस चढेका सबै यात्रुहरु चालक र सहचालकको कुराले निराश भए ।
केहीले गन्तव्यमा पुग्नका लागि विकल्प खोज्न थाले भने केहीले पोखरामै चिनजानका साथीभाई र आफन्तलाई फोन गर्न थाले । शनिबार राती बाग्लुङ्ग पुग्नैपर्ने कामले गाडी चढेका ती युवाले चाहिँ “नजाने भए किन हामीलाई किन गाडीमा चढाएको” भन्दै चालक र सहचालकसँग बाझाबाझ गर्न थाले । उनको कुरामा अन्य यात्रुहरुले समेत सहमति जनाएपछि केहीबेर तनावको स्थिति सिर्जना भयो । गन्तव्यमा जाने गाडी पाएपछि ढुक्क हुँदै चढेका उनीहरुसँग साँझ छिप्पिईसकेकाले अर्को गाडीमा जाने विकल्प पनि थिएन ।
यात्रु र चालक तथा सहचालकको विवाद बढेपछि, जौवारी प्रहरी चौकी, सिम्पानीसम्म पुग्ने र प्रहरीसँग कुराकानी गरेपछि मात्रै अघि बढ्ने की नबढ्ने भन्ने सहमति भयो । ड्युटीमा रहेका प्रहरीले यथार्थ बुझेर चेतावनी दिएपछि चालक गाडी अघि बढाउन सहमत भए । त्यतिबेलासम्म साँझको साढे सात बजिसकेको थियो । तर ती युवकसहित केही यात्रु भने चालकको भर नभएको र बीच बाटोमा लगेर फेरी अलपत्र पार्नसक्ने भन्दै त्यही बसमा जान तयार भएनन् । उनलाई त्यस बसमा जानु उचित लागेन र अन्ततः पोखराकै एक होटलमा बास बसे ।
“मलाई जसरी भएपनि आज बाग्लुङ्ग पुग्नैपर्ने थियो ।” उनले पोखरा हटलाईनसँग गुनासो गर्दै भने– “तर गाडी चालकको विश्वासमा पर्दा महत्वपूर्ण काम छुट्यो, जानका लागि अन्य विकल्प पनि भएन ।”
पोखराको सार्वजनिक यातायातप्रति गुनासो गर्दै उनले पोखराजस्तो ठूलो शहरबाट नजिकैको अर्को ठाउँमा जानपनि साँझमा गाडी नपाईनु र पाईहालेमा पनि चालक र सहचालकले बेईमानी गर्नु दुःखलाग्दो भएको बताए ।
बाग्लुङ्गका ती युवकले पाएको सास्तीको यो त एक प्रतिनिधि घटना मात्रै हो । पोखराभित्रै स्थानीय रुटमा चल्ने सवारीसाधनका चालक र सहचालकको व्यवहारबाट दैनिक थुप्रै पोखरेलीहरु आजित छन् । साँझ ६ बजेपछि पोखराका धेरैजसो नगर माईक्रो चल्दैनन् भने चलेपनि कहिले यात्रु थोरै भएको त कहिले नभ्याउने भन्दै बीचबाटोमै यात्रु ओरालिदिने गरेको उनीहरुको गुनासो छ । पहिले निश्चित गन्तव्यमा पुग्ने भनेर यात्रु चढाउने अनि कैयौंबेर यात्रुलाई अल्मल्याईदिएपछि जान नसकिने भन्दै गाडीबाट ओरालिदिँदा अर्को बसको व्यवस्था गर्न पनि समस्या पर्ने गरेको यात्रुको गुनासो छ ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केदार रजौरेले कुनैपनि सवारी चालक वा सहचालकले बिचबाटोमा यात्रुलाई अलपत्र पार्न नहुने बताए । यस्ता गुनासा आएमा प्रहरीले तत्काल त्यस्ता सवारीसाधनलाई कार्वाही गरेर यात्रुलाई गन्तव्यमा पुर्याउने काम गरिरहेको बताए । “यस्ता गुनासो प्रहरीकहाँ धेरै आउँछन् ।” उनले भने– “गन्तव्यमा पुर्याउने भनेर यात्रु चढाईसकेपछि जुनसुकै सवारीसाधनले पनि यात्रुलाई अलपत्र पार्न पाईंदैन ।” त्यस्ता सवारीसाधनलाई यातायात व्यवस्था कार्यालयले कार्वाही गर्ने र आफुहरुले यात्रुहरुको तत्कालको समस्या मात्रै समाधान गर्न सकिने उनको भनाई छ । -नबराज ढुङ्गाना

Comments are closed.