पोखरा हटलाईन
साउन,२८
रोजगारीको सिलसिलामा साउदी अरबमा रहनुभएका नेपालीले पठाएको २ लाख २९ हजार ४ सय ८५ रुपैयाँ पल्लोटारीका पहिरोपीडितका लागि हस्तान्तरण गरिएको छ ।मस्र्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका पहिरो पीडितका लागि स्थापना गरिएको विपद् कोषमा उक्त रकम राखिएको छ । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ, महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल र महासंघका जिल्ला उपाध्यक्ष कृष्ण आलेले उक्त रकम मस्र्याङ्दी गाउँपालिका ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, गाउँपालिकाका वडाअध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । महासंघको टोलीले आइतबार गाउँपालिकाको कार्यालय भुलभुलेमा पुगेर साउदीबाट प्राप्त राहत रकम हस्तान्तरण गरेको हो । पहिरोबाट पीडित भएका स्थानीयको तत्काल तथा दीर्घकालीन समस्या समाधानको लागि साउदी अरबमा रहेका लमजुङेको नेतृत्वमा संकलित राहत रकम हस्तान्तरण गरिएको पत्रकार महासंघका अध्यक्ष गुरुङले बताउनुभयो । गाउँपालिका अध्यक्ष गुरुङ र वडाअध्यक्ष बस्नेतले सहयोग गर्ने सम्पूर्ण महानुभावलाई धन्यावाद दिनुभएको छ ।साउदी अरबको दम्मामस्थित साउदी डोलोमाइट एण्ड जिर्को कम्पनीमा कार्यरत कर्मचारीबाट संकलन गरिएको पहिरोपीडितका लागि राहत नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङमार्फत पठाएको राहत संकलनकार्यका अगुवा पूर्णबहादुर रिमालले बताउनुभयो ।
पहिरो पीडितका लागि साउदी डोलोमाइट एण्ड जिर्को कम्पनीमा कार्यरत ६६ जनाले सहयोग गरेका छन् । सहयोग रकम प्रदान गर्नेमा लमजुङका अलावा छिमेकी जिल्ला गोरखा, तनहुँ, पोखरा, चितवन साथै पर्वत, स्याङ्जा, रामेछाप, काठमाडौं, धादिङ, संखुवासभा, अर्घखाँची, दोलखा, धनकुटा, मोरङ, प्युठान, नवलपरासी, सिन्धुली, सुनसरी, सिराह, रुकुम, ताप्लेजुङ, कपिलबस्तु, महोत्तरी र कञ्चनपुर जिल्लाका नागरिक रहेका छन् ।
Comments are closed.