सात बर्षदेखि रोपेको मानो भित्र्याउने बेला आयो– मन्त्री रिजाल

minister 2
पोखरा, १६ असार-
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले संविधान निर्माण गरेर देश र जनतालाई समृद्धिको बाटोमा अग्रसर गराउने बेला आएको बताएका छन् ।
असार पन्ध्र तथा धान दिवसको अवसरमा पोखरा पर्यटन परिषद्ले मंगलबार पोखराको विरौटामा आयोजना गरेको १२ औं असारे रोपाईं महोत्वसको उद्घाटन गदै रिजालले दलहरुबीच भएको १६ बुँदे सहमति र संविधानको मस्यौदामा भएको सहमतिले संविधान निर्माण हुने ग्यारेन्टी भएको बताए ।
रिजालले दलहरुले संविधानको प्रारम्भिक मस्यौदामा सहमति गरेको बताउँदै अब नेपाली जनतासँग सल्लाह, सुझाव र छलफलका लागि ल्याइने जानकारी दिए ।
“मस्यौदामा सामान्य विवाद भएपनि करिब करिब सहमति भैसकेको छ ।” उनले भने– “त्यसले विश्वासको बाटोमा अगाडि बढेको संकेत गरेको छ । जनताको सुझाव लिएपछि अन्तिम मस्यौदा बनाएर केही हप्ताभित्रै संविधान जारी हुन्छ ।”
कस्तो मस्यौदा पेस गर्ने भन्ने कुरामा झण्डै सहमतिमा दलहरु पुगेको उनले बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री रिजालले सात बर्षदेखि रोपेको मानो भित्र्याउने बेला भएको बताए । “सात वर्षदेखि रोपेको मानो फलेर मुरी उब्जाउने बेला आएको छ, देशमा लागेको पहेँले रोग हराउँदै गएर संविधानको मस्यौदा बनायौँ अब भित्र्याउन बाँकी छ ।” उनले भने– “अब धेरै पर्खनु पर्दैन, चाँडै काम पुरा हुन्छ ।” उनले संविधान जारी गर्न सबै नेपालीको सहयोग र साथले मात्रै संविधान जारी गर्न सरकार, सम्पूर्ण राजनीतिक दललाई ढाडस आवश्यक रहेको भन्दै अविश्वास नगर्न आग्रह गरे ।
मन्त्री रिजालले भूकम्पका कारण नेपाल असुरक्षित छ भन्ने नकरात्मक हल्ला फैलिएको बताउँदै पर्यटक फिर्ता बोलाउन राम्रो सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याए । विपत्तिबाट उम्किँदै जनजीवनलाई सामान्य तर्फ उन्मुख गराउँदै अघि बढनुपर्ने उनको भनाई छ । बर्षाअघि नै अस्थायी बसोबासको व्यवस्था गर्ने र स्थायी बसोबासका लागि अझै आठ महिना जती लाग्ने भन्दै पीडितका लागि बसोबास, भत्केका भौतिक पूर्वाधार र साँस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने उनको भनाई छ ।
रोपाईं महोत्सवमा बोल्दै सभाषद शारदा पौडेलले पर्यटन प्रर्वद्धनका लागि यस्ता महोत्सवहरुले भूमिका खेल्ने बताउँदै पर्यटन विकासका लागि सबै एकजुट हुनुपर्ने बताईन् । महोत्सवमा कृषक धर्म न्यौपाने र इमानसिंह गुरुङलाई मन्त्री रिजालले नगद र सम्मानपत्र सहित सम्मान गरेका थिए ।

Comments are closed.