माेरङ / नेपालले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै घरेलु मैदानमा नेपालले तीन अंक प्राप्त गरेको छ । समूह चरणकै बंगलादेशसँग नेपालले आगामी चैत २ गते शनिबार प्रतिष्पर्धा गर्ने छ । भुटान विरुद्धको खेलमा विगतको इतिहासलाई जोगाउन सफल भएको नेपालको जितमा मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र कप्तान निरु थापाले एक÷एक गोल गरे । घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेलेको नेपालले पहिलो हाफमा दुई र मध्यान्तरपछि एक गोल गरेको थियो ।एक पक्षिय खेलको १३ औं मिनेटमा नेपालले मञ्जलीकुमारीको गोलमार्फत अग्रता लिएको थियो । कप्तान निरु थापाले मिलाइदिएको पासमा उनले गरेको प्रहारले गोलरक्षक संगीता मङ्गरको हातमा ठोक्किंदै जाली चुमेपछि नेपालले अग्रता लिंदा भुटान दबाबमा प¥यो । थापाको नियन्त्रणमा बल रहेको अवस्थामा भुटानी खेलाडीले स्ट्राईकर सावित्रा भण्डारीलाई मात्रै मार्क गरिरहँदा मञ्जलीकुमारीले पोष्ट प्रहारको अवसर पाएकी थिइन ।त्यसको तीन मिनेट पनि वित्न नपाउँदै स्ट्राईकर भण्डारीले गोल थपेर अग्रता दोब्बर बनाइन । १६ औं मिनेटमा दीपा राईको पासमा बललाई भण्डारीले पोष्टको दिशा दिंदा नेपालले गोल अन्तर २–० बनायो । तेस्रो गोल कप्तान निरु थापाले ५५ औं मिनेटमा गरिन् । सावित्राको हेडर बललाई निरुले फिनिसिङ टच दिंदा ३–० गोल अन्तरले नेपालको जित निश्चित भयो । खेलालाई पूरै नियन्त्रणमा लिएको नेपालले गोल गर्नका लागि पाएका धेरै अवसरलाई सदुपयोग गर्न सकेन । विगतमा भुटानसँगको खेलमा भारी गोल अन्तरले विजयी हुँदै आएको नेपाली टोलीले घरेलु मैदानमा भने त्यो अन्तरलाई कायम राख्न सकेन ।
Comments are closed.