सामाजिक उत्तरदायित्व वहन गर्न सिकाउने संस्थाः नमस्ते कम्युनिटी फाउण्डेशन

utsav-gurung
– उत्सव गुरुङ्ग

अनाथ तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको क्षेत्रमा काम गर्नका लागि स्थापना भएको संस्था नमस्ते कम्युनिटी फाउण्डेशन अहिले १२ बर्षमा चलिरहेको छ ।
सन् २००३ मा कास्की जिल्लाभर कार्यक्षेत्र रहनेगरी स्थापना भएको यस संस्थाले पछिल्लो समय बालबालिकाको साथै एकल महिला र सुस्त श्रवण भएकाहरुको क्षेत्रमा समेत हात हालेको छ ।
अहिले पोखरामा दुईवटा बालगृह सञ्चालन गरेर अनाथ बालबालिकाहरुलाई आश्रय दिईरहेको यस संस्थाले कास्कीको लाहाचोकमा महिलाहरुको आयआर्जन तथा सीप विकासका लागि सशक्तिकरण केन्द्र समेत सञ्चालन गरिरहेको छ ।
यही संस्थाले बालगृहमा आश्रय दिईरहेका बालबालिकाहरुको सहयोगका लागि बैशाख ९ गतेबाट खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता समेत सञ्चालन गर्दैछ ।
प्रस्तुत छ, नमस्ते कम्युनिटी फाउण्डेशन र यसले गरिरहेका कार्यहरुको बारेमा संस्थाका प्रशासकीय अधिृकत उत्सव गुरुङ्गसँग पोखरा हटलाइनले गरेको कुराकानी ।

– प्रस्तुतिः नवराज ढुङ्गाना

 – पोखराकै ठूलो सेभेन ए साईड फुटबल सञ्चालन गर्ने भनेर लागिरहनुभएको छ, कसरी ठूलो भयो यो प्रतियोगिता ?

खासमा हामीले यो प्रतियोगिता अनाथ र संस्थाको बालगृहमा आश्रित बालबालिकाहरुकै सहयोगका लागि आयोजना गर्न लागेका हौं । यो खुल्ला प्रतियोगिता हो । पोखरामा जति पनि सेभेन ए साईड फुटबल प्रतियोगिता हुँदै आएका छन् ती खेलाउनका लागि मात्रै खेलाईन्छ । हामीले चाहिँ खेलको मर्मलाई आत्मसात् गरेर यो प्रतियोगिता आयोजना गर्दैछौं, पूर्णरुपमा व्यवसायीक तवरले । पोखरा साथै आसपासका ५० भन्दा बढी टीमको सहभागिता रहने अनुमान छ, यस प्रतियोगितामा । पुरस्कार राशी पनि अन्य प्रतियोगिताहरुभन्दा तुलनात्मक रुपमा बढी छ । प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँ, ट्रफी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप विजेताले ५० हजार रुपैयाँ नगद ट्रफी मेडल तथा प्रमाणपत्र पाउनेछन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मजबुत व्यवस्थापकीय पक्षका साथ टीम संख्या र पुरस्कार राशिका हिसाबले समेत यो प्रतियोगिता पोखराकै ठूलो प्रतियोगितामा राखेका हौं ।

– तपाईंहरु त बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था, फेरी खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्ने भनेर लागिरहनुभएको छ, किन ?
पक्कैपनि हामी विशुद्ध सामाजिक गैर सरकारी संस्था हौं । नमस्ते सामुदायिक बालगृहमा आश्रित रहेका ५६ जना बालबालिकाहरुको सहयोगका लागि नमस्ते कम्युनिटी फाउण्डेशनले पछिल्लो वाक फर किड्स–२०१५ नामक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । यसमा हाम्रै बालगृहका सहयोगका लागि ६ जना ट्रेकिङ्ग जाँदैछन् । उनीहरुका लागि विभिन्न संघसंस्थाले सहयोग गर्नेछन् । हो, यिनै बालबालिकाको सहयोगका लागि गर्न हुन लागेको कार्यक्रमको प्रवद्र्धनका लागि फुटबल प्रतियोगिता गर्न लागिएको हो । हामी कुनैपनि खेल संस्था भएर यो प्रतियोगिता गर्न लागेका होईनौं ।

– प्रतियोगिताको तयारी कहाँ पु¥याउनुभयो ?
यही बैशाख ९ गतेबाट सेभेन ए साईड च्याम्पियनसिप ट्रफी २०१५ सुरु हुँदैछ । यो प्रतियोगितालाई मनकामना केबलकार प्रालिले मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजकमा चिल्ली बार एण्ड रेष्टुरेण्ट, उप सह प्रायोजकमा स्टेप बाई स्टेप उच्च मावि रहेका छन् । यो खुल्ला प्रतियोगिता हो । जो सुकैले पनि सहभागिता जनाउन सक्नेछन् । आयोजकको टीम चाहिँ हामीले आफ्नै बालगृहमा आश्रित बालबालिका र अन्य बालगृहका बालबालिकाहरुलाई समावेश गरेर निर्माण गर्ने तयारी गरिरहेका छौं ।

– प्रतियोगिताका लागि कुन कुन संस्थाहरुसँग सहकार्य गर्नुभएको छ ?
मुख्य प्रायोजक र सह प्रायोजकसँगै हामीलाई अन्य धेरै संघसंस्थाहरुको साथ मिलेको छ । बिशेष सहयोगी संस्थाहरुमा पोखरा उप महानगरपालिका, एन्फा कास्की, नेपाल सेभेन ए साईड फुटबल महासंघ रहेका छन् । यसैगरी, वेलकम बेकरी, जुपिटर बुक्स एण्ड स्टेशनरी, फिष्टेल एकेडेमी लगायत पोखरामा रहेर व्यवसाय सञ्चालन गरिरहेका संघसंस्थाहरुको सहयोग रहनेछ । प्रतियोगिताबाट १० लाख ३५ हजार अनुमानित आम्दानी हुने र करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

– संस्थाका गतिविधितर्फ फर्किउँ, नमस्ते कम्युनिटी फाउण्डेशन खास कस्तो संस्था हो ?
विशुद्ध गैर सरकारी संस्था । अहिले हामी १२ बर्षमा चलिहरहेका छौं । समाजकल्याण परिषद र जिल्ला प्रशासन कार्यालय कास्कीबाट अनुमति लिएर संचालन सुरु भएको यस संस्थाको मुख्य उद्धेश्य बालबालिका र एकल महिलाको क्षेत्रमा काम गर्नु नै हो । अनाथ तथा आर्थिक अवस्था कमजोर भएर पढ्न नसकेका बालबालिकाहरु हाम्रो प्राथमिकतामा पर्छन् । एकल महिलाको हकमा हामीले उनीहरुलाई सीपमूलक तालिम र लघुवित्त सहयोग कार्यक्रम सञ्चालन गरिरहेका छौं ।

– नमस्ते कम्युनिटीले स्थापनाकालदेखि अहिलेसम्म के के काम ग¥यो ?
हाम्रो प्राथमिकताभित्र रहेका क्षेत्रमा धेरै काम गरिसकेका छौं । अहिलेसम्म १ सय ६ जना अनाथ, सडक तथा बाबुआमा गुमाएका बालबालिकाहरुलाई सफलतापूर्वक उद्धार गरी उनीहरुको हक अधिकार प्रदान गरिएको छ । उनीहरुको रेखदेख, पालनपोषण, शिक्षादिक्षा लगायत सबै कार्यहरुमा हाम्रो संस्था अन्तर्गत स्थापना भएका बालगृहहरुले अभिभावकको भूमिका निभाईरहेका छन् । पोखराको जरेबरमा नमस्ते सामुदायिक प्रतिष्ठान अन्तर्गत स्थापना भएको बालगृहमा ती बालबालिकाहरुको स्यहार सुसार हुँदै आएको छ । यसैगरी, विपन्न वर्गका विद्यालय जान नसकेका अन्य बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । अर्को कुरा हामीले सुस्त श्रवण भएका अथवा श्रवणशक्ति गुमाएकाहरुलाई समेत सहयोग गर्दै आएका छौं । अहिलेसम्म विभिन्न ठाउँमा गरी ४० हजारभन्दा बढीको निःशुल्क श्रवणशक्ति परिक्षण गरिएको छ भने १२ हजार भन्दा बढीको निःशुल्क उपचार गरिएको छ । एकल महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरेर लघुवित्त कार्यक्रममार्फत् लगानी पनि गरिरहेका छौं ।

– ती पुनस्र्थापना गरिएका बालबालिकाहरुको अवस्था अहिले कस्तो छ ? के गर्दैछन् उनीहरु ?
हामीले समाजमा पुनस्र्थापना गराएका बालबालिकाहरु अहिले आफैं जिविकोपार्जन गर्न सक्ने अवस्थामा छन् । धेरैजसो बालबालिकाहरु विभिन्न प्राविधिक सीप सिकेर रोजगारी प्राप्त गरिसकेको अवस्था छ । अध्ययनपछि हामीले उनीहरुका आफन्त तथा छिमेकीहरुलाई बुझाईसकेकाहरुको अवस्था बुझ्दा सन्तोषजनक छ । सीप सिक्न चाहनेहरुलाई विभिन्न सीप सिकाउने संस्थाहरुमा पठाएर रोजगारमूलक बनाउनका लागि सहयोग पनि गरिरहेका छौं ।ncf-nepal

– अन्य सामाजिक संघसंस्थाको तुलनामा नमस्ते कम्युनिटी के मा फरक छ ?

हामीले बालबालिकालाई पालेर र पढाएपनि त्यत्तिकै छाड्दैनौं । बालबालिकाहरुलाई आत्मनिर्भर हुनसक्ने बनाएपछि मात्रै समाजमा पुनस्र्थापना गरिन्छ । कुनैपनि संस्थामा निर्भर भएर बालबालिकालाई राख्न भन्दापनि उनीहरुलाई भविश्यको बाटो देखाउने काम हाम्रो प्राथमिकता हो । उनीहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्न सिकाईन्छ । यसैगरी, हामीले महिलालाई तालिमसँगसँगै लघुवित्त सहयोग गर्छौं ।

– महिलाहरुको क्षेत्रमा के के गर्नुभयो ?
अहिलेसम्म ४२ जना एकल महिलाहरुलाई लघुवित्त सहयोगमार्फत् करिब २० लाख रुपैयाँ लगानी गरिसकिएको छ । एकल महिला भन्नाले श्रीमान गुमाएका मात्रै होईन कि विवाह नभएका महिलाहरु पनि हाम्रो लक्षित वर्ग हुन् । खासगरी गरिबीको रेखामुनी रहेका महिलाहरुलाई हाम्रो कार्यक्रमबाट सहयोग गर्दै आएका छौं । सुरुमा हाम्रो सहयोग चाहने महिलाहरुलाई ३ महिने तालिम दिईसकेपछि, परामर्श कक्षामा राखिन्छ । उत्पिडिनमा परेका महलिाहरुका लागि मनोविमर्श, उद्यमशिलता, तालिमपछि अनुभव आदानप्रदानको कार्यक्रम हुन्छ । र ईच्छुक महिलाहरुलाई लगानी गर्ने गरिएको छ । खास हाम्रो उद्देश्य महिलाहरु उद्यमशिलतातर्फ लागुन् भन्ने हो । हामी पारदर्शी किसिमले हाम्रा सबै कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं ।

– गैर सरकारी संघसंस्थाहरुमा पारदर्शिताको कुरा एकदमै धेरै उठ्ने गरेको छ । के आधारमा तपाईंहरुको फण्ड र कार्यक्रम पारदर्शी छ ?
उठ्ने कुरा उठिरहन्छन् । एक दुई वटा संस्थाले गलत काम गरे भन्दैमा सबैलाई एउटै खाल्डोमा राखेर मुछ्नु हुँदैन । धेरैले राम्रो काम पनि गरिरहेका छन् । हाम्रो संस्थाको हकमा लेखा सिष्टम पारदर्शी छ । भ्याट बिल बाहेक अन्य बिलहरु संस्थाले स्विकार गर्दैन । सबै वित्तिय कारोबारहरु वेवसाईटमा नै राख्ने तयारी गरिरहेका छौं । यसले अझ संस्थाको पारदर्शिता झल्काउन सहयोग पुग्छ । खासगरी हामीलाई नमस्ते फाउण्डेशन नेदरल्याण्ड र विण्ड अफ चेन्ज इन्टरनेशनल, अष्टे«लिया÷फिनल्याण्ड को ठूलो सहयोग रहेको छ । यसैगरी, सिरियस फाउण्डेशन युके, फ्रेण्ड्स अफ चिल्डे«न जर्मनी, द इन्टरनेशनल ब्रदर्श एण्ड सिस्टर हाउस, नेपाल अर्फान प्रोजेक्ट न्यूजील्याण्ड, हियरिङ्ग प्रोजेक्ट अष्टे«लिया, इन्टरनेशनल एशोसियशन फर ह्युमन भ्यालुज् जर्मनी लगायतका संघसंस्थाको समेत सहयोग रहेको छ ।

– अहिलेसम्म संस्थाले सञ्चालन गरेको कार्यक्रममध्ये सबैभन्दा सफल भएको कार्यक्रम कुन हो ?
हाम्रो पहिलो प्राथमिकताको केन्द्र नै बालबालिकाको क्षेत्र हो । यसैमा बढी सफल भएका छौं । पढ्न नपाएकाहरुलाई सहयोग गरेर उनीहरुलाई भविश्यको बाटो देखाउने काम संस्थाले गरेको छ । यसका साथसाथै महिलाको क्षेत्रमा गरेको काम पनि सफल भएको छ । हामीले कास्कीको लाहाचोकमा सशक्तिकरण केन्द्र नै खोलेर महिलाहरुको क्षेत्रमा काम गरिरहेका छौं । यसबाट महिलाहरुको क्षमता विकास र आयआर्जनमा टेवा पुगिरहेको छ । यसैगरी, सुस्त श्रवण भएकाहरुका लागि सञ्चालन गरिएको कार्यक्रम पनि सफल भएको छ ।

– संस्थाका आगामी योजनाहरु के के छन् ?
अहिले चलिरहेको कार्यक्रमलाई निरन्तरता दिने नै हो । यसका साथै हामीले जिल्ला बाहिर पनि एउटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौं । विपन्न र शिक्षाको पहुँचबाहिर रहेकाहरुका लागि घुम्ती तालिम सञ्चालन गर्ने सोच छ । यसले गर्दा पोखरा मात्रै नभई अन्य जिल्लाका विपन्न र शिक्षाको पहुँचबाहिर रहेका महिला तथा बालबालिकालाई सहयोग पुग्नेछ ।

Comments are closed.