पोखरा, ८ साउन/ पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष प्रकाशमोहन खनालले सार्वजनिक सम्पति दुरुपयोग र भ्रष्टाचारजन्य गतिविधी नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अबको ५० वर्षको लागि हुने बृहत योजना बनाएर पोखरा उपत्यकाको विकासमा लाग्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले उनको सम्मानमा विहीबार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै उनले व्यवस्थित सहरको लागि व्यवस्थित पूर्वाधार चाहिने भएकाले योजना बनाउँदा विज्ञहरुकै सहयोग लिइने स्पष्ट पारे ।
‘म गरीबकै छोरा हो, मलाई पैसा चाहिएको छैन, म भइञ्जेलसम्म भ्रष्टाचारजन्य गतिविधी हुन दिनेछैन’ विभिन्न विवादमा मुछिदै आएको उपत्यका नगर विकास समितिमाथिका गुनासा सुनेपछि उनले भने । तालहरुको संरक्षण, पोखरा बसपार्क निर्माण, मापडण्ड लागु गराउने जस्ता कामहरुलाई प्राथमिकता दिने बताउँदै उनले पोखरेलीले चाहना राख्ने हो भने तत्काल बसपार्क बन्ने ठोकुवा गरे । पोखराको विकासमा पोखरेलीहरु र यहाँका राजनीतिक दलहरुले नै चासो राख्नु पर्नेमा जोड दिँदै उनले भने–‘ पोखरा बनाउने हामीले नै हो, हाम्रो जिम्मेवारी अर्कालाई सुम्पेर विकास हुन्छ भन्ने मान्यता म राख्दिन ।’ उनको संकेत पोखरा बसपार्क निर्माणमा क्षेत्रीय प्रशासक दीनेशकुमार थपलियाले देखाएको अग्रसरताप्रति रहेको थियो । उनले अगाडि खुलेरै भने– ‘क्षेत्रीय प्रशासकले सहजिकरण गर्ने हो, बनाउने त हामीले नै हो ।’
राजनीतिक दलहरुबीच एकमत बन्न नसक्दा विकास निर्माण हुन नसकेको उनको तर्क थियो । योजनाहरु निर्माण गर्दा स्थानीय जनताको साथ लिने वचनवद्धता प्रकट गर्दै उनले ३० सालतिर कायम गरिएको मापडण्डमा परिमार्जन गर्नुपर्ने खाँचो औंल्याए । कार्यक्रममा उपस्थित व्यक्तिहरुतर्फ इंगित गर्दै उनले भने–‘ यहाँ भएका ९० प्रतिशत व्यक्तिहरुले बनाएको घर मापडण्ड अनुसार छैन होला, कतिले त दुई तलाभन्दा माथिको नक्सा पास नै गर्नुभएको छैन होला, कानून नै त्यस्तो भएकोले यो अवस्था आएको हो, परिमार्जन गर्नुपर्छ ।’
निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको प्रतिवद्धता जनाए पनि उनले पर्यटक बसपार्कको जग्गा ठेक्कामा लगाउने अधिकार उपत्यका नगर विकास समितिसँगै भएको जिकिर गरे । उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेका जग्गाहरुको संरक्षण गर्ने उनको प्रतिवद्धता थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले पोखरालाई आधुनिक सहर बनाउने योजनाका साथ अगाडि बढ्न उपत्यका नगर विकास समितिका अध्यक्षसँग आग्रह गरे । २०३२ सालतिर बनेका योजनाकै भरमा पोखरा अगाडि बढेको स्मरण गर्दै उनले अब पोखराको विकासको लागि बृहत योजना ल्याउनैपर्नेमा जोड दिए ।
पोखरा विमानस्थल निर्माणदेखि बसपार्क निर्माणसम्म पोखरा उद्योग वाणिज्य संघले खेलेको भूमिकाको स्मरण गर्दै उनले संघ पोखराको विकासको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्न तयार रहेको बताए । पोखरामा योजनावद्ध विकास र उपर्युक्त मापडण्ड कायम गर्न ढिलाई गर्नु नहुने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेशकुमार राजभण्डारीले पोखरा सभागृह बनाउन संघले नै आर्थिक संकलन गरेको स्मरण गर्दै सभागृहको अवस्था बिग्रेकोमा दुःख व्यक्त गरे ।
अर्का सल्लाहकार तथा पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले विकासका निम्ति अधिग्रहण गरिएको जमिन व्यक्तिलाई बाड्ने काम रोकिनुपर्नेमा जोड दिए । संघका प्रथम उपाध्यक्ष देव क्षेत्रीले पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीका समस्याप्रति ध्यान दिन नवनियुक्त अध्यक्षसँग आग्रह गरे । महासचिव रवीन्द्रबहादुर प्रजुुले तत्काल नयाँ योजनाका साथ सुन्दर पोखरा निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै सो अभियानमा निजी क्षेत्रले सघाउने बचनवद्धता व्यक्त गरे । संघका कोषाध्यक्ष दिलिपराज श्रेष्ठले उपत्यका नगर विकास समिति आफ्नो काम, कर्तव्य र अधिकारप्रति सचेत रहनुपर्नेमा जोड दिए । कार्यसमिति सदस्य सीता गुरुङले उपत्यका नगर विकास समितिले आफू मातहतमा रहेका जग्गाहरुको सीमाङ्कन गर्नुपर्ने सुझाव दिइन् । कार्यसमिति सदस्य नारायण कोइरालाले धेरै योजनामा भन्दा पनि देखिने एउटा परियोजनालाई तत्काल अगाडि बढाउन नवनियुक्त अध्यक्षलाई आग्रह गरे ।
पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियसनका अध्यक्ष माधव पौडेलले अटो भिलेज निर्माणको माग गरे । गण्डकी अटोमेकानिकल्स वक्र्स एसोसियनका अध्यष्क्ष कुलबहादुर नेपालीले अटो भिलेजको निर्माण भए आफूहरु पोखरा बाहिर गएर पनि वक्र्ससप राख्न तयार भएको बताए । नेपाल स्टिल फ्रेव्रिकेटर्स एसोसियनका उपाध्यक्ष यामप्रसाद पौडेलले अवैध उद्योगहरुलाई करको दायरामा ल्याउनुपर्ने माग गरे । बुद्ध विशाल बजार व्यापारिक एसोसियनका अध्यक्ष बलराम गौतमले पोखरामा वातावरण मैत्री झोला प्रयोगको अभियानलाई सघाउन आग्रह गरे ।
कार्यक्रममा बोल्ने भाँडा व्यवसायी समितिका उपाध्यक्ष डिवि भुजेल, वुद्ध विशाल बजार व्यापारिक एसोसियसनका केशवबहादुर खत्री,औषधी व्यवसायी संघका महासचिव रामबहादुर केसी,ट्युव तथा टायर मर्मत एसोसियसनका सचिव चन्द्रेश्वर बस्ताकोटी लगायतले सुन्दर पोखरा निर्माणको अभियानमा निजी क्षेत्रसँग हातेमालो गरी अगाडि बढ्न उपत्यका नगर विकास समितिसँग आग्रह गरेका थिए ।
Comments are closed.