अमृत सुवेदी । पोखरा, ४ फागुन ।
साहित्य केका लागि भन्ने प्रश्न खास गरिहनुपर्ने प्रश्न हो जस्तो धेरैलाई लाग्दैन । यो धेरैलाई बेतुक कै लाग्छ । तरपनि साहित्यको मुल्य, यसको शक्ति र प्रभावको विषयमा हुने छलफल र बहसमा उठिरहने प्रश्न हो साहित्य केका लागि ? नेपाली साहित्यले झण्डै दुई सय बर्ष पुरा गरिरहेको छ । नेपाली साहित्यको यो राजमार्गमा कति आए–गए । कति ध्रुव तारा बनेर नेपाली साहित्यमा चम्कीरहेका छन् । कति यही राजमार्गमा छन् । कति आउने क्रममा छन् र कति यो राजमार्गदेखि बाहिर रहेर हेरिरहेका छन् । साहित्य किन र कसका लागि भन्ने छलफल र वहस कैबीच यसप्रतिको धारणा साहित्यकारहरुको अलगअलग छ । कोही भन्छन् म आफ्ना लागि र आत्मसन्तुष्टिका लागि लेख्छु । कोही भन्छन् समाज र परिवर्तनका लागि लेख्छु म आफ्ना लागि लेख्दिन । कोही भन्छन् म रहरले लेख्छु तर त्यो समाजको पनि बन्छ । स्वहिताय सः साहित्य र स्वान्त सुखायः भन्ने कुरा कसैका निम्ति प्रत्यक्ष हो भने कसैको निम्ति परोक्ष । प्रत्यक्ष कोटिको साहित्य स्वान्त सुखाय चाहिँ हुन्छ तर सर्व हितायः नहुन पनि सक्छ भन्ने पनि कुरा उठ्छ । खास साहित्य केका लागि र कसका लागि अनि किन लेख्ने त ? केही पोखरेली स्रष्टाहरुले पोखरा हटलाइनलाई यस्तो प्रतिक्रिया दिएका छन् ।
देश, काल र मानवीय मूल्य भेटिए महत्वपूर्ण – सरुभक्त![sarubhakta.jpg]()
साहित्य सिर्जनात्मक मानवीय अहमं संतुष्टिकालागि रचना गरिन्छ । साहित्यकार महान भए उनको सिर्जनात्मक अहम देश, समाज, विश्व र मानवीय मूल्यसापेक्ष हुनसक्छ, नभए आफैमा मात्र खुम्चन सक्छ । कसैले भन्लान आफ्ना लागि वा आत्मसनतुष्टिका लागि कसैले भन्लान समाजका लागि यो सबै भन्ने शैलीको भिन्नता मात्रै हो । कसैले आत्मसन्तुष्टिका लागि भन्छन् कसैले समाजकोलागि लेख्छु भन्छन् जे भनेपनि लेखनमा देश, काल र मानवीयताका मूल्य र कलात्मक मूल्य भेटिए महत्वपूर्ण बन्छन् । नभए केही न केही यसको मुल्य हुँदैन ।
लेखन समाजबाट पृथक हुनै सक्दैन -तीर्थ श्रेष्ठ
साहित्य मान्छेले लेख्छ, मान्छे समाजको अंग हो । मान्छेले लेख्ने कुरा समाजको प्रभावमा पनि हुनसक्छ, मान्छेले लेखेका कुराबाट समाज प्रभावित हुन पनि सक्छ । मान्छे र सिर्जनाकोबीचमा अन्योन्याश्रित सम्बन्ध छ । कहिलेकाहीँ व्यक्तिका रुपमा लेख्छ, व्यक्तिका लागि लेख्छु भन्दापनि समाजका लागि हुनपुग्छ । कहिलेकाहीँ समाजका लागि लेख्छु गर्छु भन्दापनि सो समाजका लागि नभएको पनि हुनसक्छ । जसका लागि पनि स्वान्त सुखायका लागि भएपनि वा लेखन समाजका लागि भनेपनि प्रकारान्तले लेखन समाजबाट पृथक हुनै सक्दैन । कतै न कतै लेखिएका कुरा समाजसँग सम्बन्ध राख्छ ।
म त्यस्तो कुनै दावी गर्न चाहन्न – लक्ष्मण थापा
म केका लागि लेख्छु र किन लेख्छु ? यो झलक्क हेर्दा सजिलो जस्तो लाग्ने पश्न भएपनि मलाई साँच्चै कठिन प्रश्न लागेको छ । ज्यादै पीडामा भएको मानिस चिच्याएर, कराएर, राएर, रिसाएर, आफुबाट पीडा निथ्राउँछ । केही समयपछि हलुका भई शान्त हुन्छ । कोही मज्जाले नाच्छन् र थाकेर शान्त हुन्छन् । आफुमा भएका कुण्ठाहरु रिसाएर, चिच्याएर, उफ्रेर, गाली गरेर चित्त बुझाउँछ । कोही अत्यन्तै खुसी हुँदा हाँस्दै, गुनगुनाउँदै, उफ्रिँदै आफ्नो खुसी अभिब्यक्त गर्छन् । ममा पनि यस्तै भावनाहरु हुन्छन् । तिनीहरुलाई अभिव्यक्त गर्ने आ–आफ्ना माध्यमहरु हुन्छन् । मेरा लागि साहित्य त्यही माध्यम हो । स्वभाविकै रुपमा रहरहरु पछि जिम्मेवारीका रुपमा रुपान्तरण पनि हुन्छन् । म आफ्ना रहरहरु अभिव्यक्त गर्दा देश, समाज र आफु बसेका, आफुले भोगेको समयप्रति गैह्र जिम्मेवार रहेर अभिव्यक्त हुन चाहन्न र सक्दिन पनि । त्यसैले मेरो उद्देश्य हुन्छ, मेरो अभिव्यक्ति जिम्मेवार पूर्ण होस् । यसले समाजलाई फाइदा गर्छ गर्दैन मलाई थाहा छैन । म त्यस्तो कुनै दावी गर्न चाहन्न । वस यत्ति हो ।
बाँचेको समय र आस्थाहरुका लागि पनि होस् – ईश्वरमणि अधिकारी
सुरुसुरुमा रहरै रहरमा थालिएको लेखन यात्रा अहिले आदत जस्तै बनेको छ । ‘स्वान्त सुखाय’का लागि आफै लेखिन रुचाउने म लाग्छ आफ्नै लागि लेख्छु र पनि जब आफ्नो लेखनलाई सार्वजनिक गर्ने कुरा आउँछ । सकभर गम्भीर हुने कोसिस गर्छु ता कि उक्त लेखन आफ्ना लागि मात्र नभै आफू बाँचेको समय समाज र आफ्ना बिचार अनि आस्थाहरुका लागि पनि केही होस् । खासै कुनै निर्दिष्ट आयोजना या दवावमा रहेर लेख्न नरुचाउने म जस्तो यौटा सामान्य अक्षर उपासकका लागि साहित्यिक अध्ययन र लेखन जीवन जिउने यौटा पद्धति जस्तै बनेको छ ।
म आफ्नो रुचिको लागि लेख्छु – दीपक समीप
भन्न त कोही कोही साहित्यकारहरु साहित्यिक योगदानको लागि साहित्य सृजना गर्छु भन्छन् । कोही साहित्य सेवाको लागि, देशको लागि लेख्छु भन्छन् । फेरी कोही देश र समाज परिवर्तन गर्नको लागि साहित्य लेख्छु भन्छन् । तर, यि सब भन्नेहरु मलाई चाँहीं वायियात लाग्छन् । किन कि मलाई ढोंग कुराहरु गर्न मन लाग्दैन । उसो भए तँ किन लेख्छस् त ? भन्लान् भन्नेहरु । साहित्य प्रथमतः म आफ्नो रुचिको लागि लेख्छु । तत्पश्चात आफ्नो अलग पहिचानको लागि लेख्छु । आफ्नो अस्तित्वको कायमको लागि लेख्छु । साहित्य लेखन मलाई मनपर्छ । अतः म लेख्छु । तर खुब मन पर्ने चाहीं होइन । हिजोआज लेखिरहे झैं भोलीपर्सी म साहित्य नलेख्न पनि सक्छु । तर, जतिबेलासम्म मलाई लेख्न मन लाग्छ त्यतिबेला सम्म म लेख्नेछु । मलाई लेखनमा रुची भइन्जेल म लेख्नेछु । तर यो रुची कहिले सम्म होला ? त्यो चाहिं म अहिल्यै भन्न सक्दिन । तर साहित्यकै योगदानको लागि भनेर मैले कहिल्यै पनि लेखिन र लेख्दिन पनि । तर, एउटा कुरा के भने, मेरो लेखनले समाजमा गलत प्रभाव नपरोस् भन्ने चाहन्छु ।
साहित्य आत्मसन्तुष्टिका लागि मात्र लेखिंदैन– सरस्वति श्रेष्ठ ‘सरु’
जसरी दुईवटा डुड्डाको घर्षणबाट आगो उत्पन्न हुन्छ । उसरी नै भाव र विचारहरुको गहन घर्षणबाट साहित्यको जन्म हुन्छ । हरेक मानिसभित्र विचारका तरंगहरु हुन्छन् । तिनै तरंगहरुको झिल्का नै साहित्य हो । जुन हृदयको अतुल गहिराइबाट प्रस्फुटन हुने गर्दछ । साहित्य जीवनको गति हो ,जीवनको लय हो । साहित्यले प्रत्यक्ष अप्रत्यक्ष रूपमा हरेक व्यक्तिलाई मीठो लयमा छोई रहेको हुन्छ । मात्र भाव व्यक्त गर्न सक्नु र नसक्नुमा निर्भर रहन्छ । समाजबाट हामि कहिल्यै अलगिन सक्दैनौँ अतः साहित्य पनि समाजमा नै प्रतिस्थापित हुन्छ र साहित्यले समाजलाई ऐना देखाउनु पर्छ विचार र भाव बिनाको साहित्य हुन सक्दैन । साहित्य आत्मसन्तुष्टिका लागि मात्र लेखिंदैन र आत्मसन्तुष्टिका लागिमात्र लेखिनु पनि हुँदैन । अतः साहित्य समाज र राष्ट्रसँग आवद्द रही समाज र राष्ट्रकै दायित्वप्रति उत्तरदायी रही लेखिनु आवश्यक छ ।
जीवन र जगत्प्रतिको धारणाहरु व्यक्त गर्न लेख्छु _रुपिन्द्र प्रभावी
म कुनै पनि काम उद्देश्यसहित गर्ने मान्छे हुँ । साहित्य पनि मेरो कामहरुमध्ये एक हो त्यसैले साहित्य लेख्नुका पछाडि पनि केही उद्देश्यहरु अवश्य हुन्छन् । सबैभन्दा पहिलो उद्देश्य त जीवन र जगत् तथा तिनमा आधारित व्रिmयाकलापहरुप्रति आफ्ना धारणाहरु व्यक्त गर्न म साहित्य लेख्छु । यसको अर्थ यो होइन कि म आफ्ना कुण्ठाहरु मात्र पोख्न साहित्य लेख्छु । आफ्ना कुरा लेख्दा म केवल आफ्ना लागि मात्र होस् भन्ने चाहन्नँ । समाज परिवर्तनका लागि मेरा रचनाहरुले केही न केही भूमिका खेलून् भन्ने म चाहन्छु । समाज र समयसापेक्ष रचना नै लेख्ने प्रयत्नमा म लागिरहेको हुन्छु । त्यसैले, म साहित्य सिर्जना आफ्नो माध्यमबाट समाज परिवर्तनका लागि योगदान होस् भन्ने उद्देश्यसहित लेख्छु ।
पोखरा बसेर कर्णाली लेख्ने आदत ममा छैन – मन क्षेत्री
म कहिलेकाँही लेख्छु । मलाई लागेका, मैले देखेका र मैले भोगेका कुराहरु नै मेरो लेखनका आधारहरु हुन् । संरचनाले तिनिहरु कहिले गजल, कहिले मुक्तक, कहिले कविता लगायतको परिधीमा बाँधिएर पाठक सामु आइरहेका छन् । भोलीको गणितले मेरो लेखनलाई कुन कित्तामा पार्छ आज सोचेर बर्वाद हुने पक्षमा पनि म छैन । मैले संधै र सवै मेरा लागि नै लेख्छु । म जस्तै यो लिगलिगकोटे समय बाँचिरहनुका कारण पनि हुनसक्छ पाठकहरुलाई ति मन परिरहेका पनि छन् तर मैले लेख्दै गर्दा सोच्ने विषयचाहीँ मैले बाँचेको परिवेश र भोगेको समय भन्दा पर हुँदैन । पोखरा बसेर कर्णाली लेख्ने आदत ममा छैन र नहोस् । मैले मेरै लागि लेखेको विषय पनि सामाजिक हुने भएकाले त्यो स्वत समाजका लागि पनि हो । सम्भवत स्वभावका कारण समाज परिवर्तनका लागि पनि हुन सक्छ ।
साहित्य छ र पो सूर्य र चन्द्रमा छन्– दुर्गाबहादुर शाह ‘बाबा’
जीवन र जगतका लागि साहित्य आवश्यक छ । साहित्य छ र पो सूर्य र चन्द्रमा छन् । साहित्य बगैंचा हो र त्यसको माली हो साहित्यकार । बगंैचामा जसरी मालीले सबै जातका विरुवाहरुलाई समान रुपले मिलाएर राख्छ त्यसरी नै साहित्यकारले विभिन्न देश, काल, परिस्थिती र वातावरण अनुसार आफूभित्र रहेको गहिरो छापलाई विभिन्न माध्यमबाट आफू पोखिने गर्छ । कुनै फलफूलको बोट माटोको माध्यमबाट आफू बाँच्छ र प्राणिहरुले आफ्नो रुचि र त्यसको पहिचान अनुसार बोटको फल उपभोग गर्छन् । साहित्यकारले नि आफ्नो अध्ययन र अनूभुती सिर्जनामार्फत बजारमा देखा पर्छन् त्यहि अनुसार अध्ययनकर्ताले आवश्यकता र रुचि अनुसार ग्रहण गर्दछन् ।
लेखकको लागि मात्रै हो भन्नु तर्क संगत हुँदैन– उदिपराज ढुड्गाना
व्यवहारिक रुपमा कुनैपनि सर्जकले सबैभन्दा पहिले साहित्य आफ्नै लागि लेख्ने गर्छ तर साहित्य खुद लेखकको लागि मात्रै हो भन्नु तर्क संगत हँुदैन या भनौं मूर्खतापुर्ण हुन्छ । साहित्य हरेक व्यक्तिको जीवनको हरेक पाटोलाई सहि मार्ग निर्देशन गर्नको लागि तथा समाजको ऐना प्रस्तुत गर्न र जीवनलाई सजिवता प्रदान गर्नका लागि लेखिन्छ र लेखिनुपर्छ जस्तो लाग्छ । म त्यसरी नै लेख्छु ।
Comments are closed.