सिक्लेस जलविद्युत आयोजना अबको एक बर्ष भित्र

पोखरा, माघ ६ –
कास्कीको सिक्लेसमा निर्माणाधिन १३ मेगावाट क्षमताको सिक्लेस जलविद्युत आयोजनाले एक बर्षभत्र विद्युत उत्पादन गर्ने तयारी गरेको छ ।
विद्युत आयोजनाको ७० प्रतिशत निर्माणकार्य सकिएको आयोजनाको प्रवद्र्धक संस्था सिक्लेस हाईड्रोपावर कम्पनीले जनाएको छ । आयोजनाको बाँधक्षेत्रको निर्माणकार्य ८५ प्रतिशत सकिएको र विद्युत गृहको निर्माणकार्य पनि भैरहेको सिक्लेस हाईड्रोपावरका प्रबन्ध निर्देशक रोशन केसीले जानकारी दिए ।
सन् २०१५ भित्रमा आयोजनाको निर्माणकार्य सकेर सन् २०१६ को जनवरीबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जडान गरिने उनले बताए । सिक्लेस जलविद्युत आयोजना २०६९ को बैशाखबाट निर्माण थालिएको हो । विद्युत गृहमा ६ दशमलव ५ मेगावाट क्षमताको २ वटा पेल्टन टवाईन रहने आयोजनाले जनाएको छ ।
आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग हिउँदको समय प्रति युनिट ७ र वर्षायामको समय प्रतियुनिट ४ रुपैयाँमा विद्युत खरिदबिक्री सम्झौता अर्थात पिपिए गरेको छ । दुई अर्ब रुपैयाँको लगानीमा निर्माण हुने सिक्लेस जलविद्युत आयोजनामा स्वदेशी कम्पनी सिनो हाईड्रोपावरको ९३ प्रतिशत लगानी रहेको छ । बाँकी ७ प्रतिशत लगानी गैरआवासीय नेपाली (एनआरएन) का केही व्यक्तिको रहेको आयोजनाका प्रबन्ध निर्देशक केसीले बताए ।
सिक्लेसको मड्क्यू खोलामा निर्माण भैरहेको सिक्लेस जलविद्युत आयोजनाको प्रवद्र्धक सिक्लेस हाईड्रोपावर कम्पनीले लेखनाथसम्मको २६ किलोमिटर विद्युत प्रशारण लाईन आफैं निर्माण गर्ने जनाएको छ ।
लेखनाथमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभीको राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरी आफ्नो प्रशारणको निर्माण थालेको आयोजनाले जनाएको छ । आयोजनाका प्रवन्ध निर्देशक रोशन केसीले १० महिनाभित्रमा विद्युत प्रशारण लाईनको निर्माणकार्य सक्ने जानकारी दिए ।

Comments are closed.