पोखरा १७ चैत/पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश थपलियाले यातायात क्षेत्रमा सिण्डिकेट गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिएका छन् । पर्वतमा भएको एक कार्यक्रममा बोल्दै प्रशासक थपलियाले बढ्दो विकृति अन्त्य गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको भन्दै सरकारले लगानी गरेर बनाएको बाटोमा व्यवसायीले मनोमानी गरेको आरोप लगाए । अव सिण्डिकेट गर्ने कोही नबच्ने उनको भनाई थियो ।
जनताका गुनासा सुनेर सरकारी कामलाई चुस्त पार्ने भन्दै मंगलबार पर्वत आएका थपलियाले नागरिकको गुनासो सुनेपछि अब विकृति रोक्ने आफ्नो प्रमुख प्राथमिकता रहने बताए। ‘यातायातमा विकृति बढ्दो छ, व्यवसायीले आफ्नै सम्पत्तिमा सडक खनेजसरी दादागिरी देखाइरहेका छन, अब म त्यो हुन दिन्न’, उनले भने,‘कानुनविपरित गर्ने जो कोही पनि कारबाहीमा पर्छ।’ उनले पोखरादेखि मुस्ताङसम्म सिधा सवारी सञ्चालनका लागि आफ्नो पहल रहेको बताए। म्याग्दीका व्यवसायीले मुस्ताङ सिधा सवारी जानबाट रोकेकोमा उनी आक्रोशित भएका थिए। ुसडक बनाउने सरकारले अनि कुनै निश्चित व्यक्तिले निजीजस्तो गर्ने दिन अब गएु उनले भने, ‘यातायातमा भइरहेको सिण्डिकेट म सुन्नै चाहन्न।’ उनले यातायात व्यवसायीलाई पहिलो नम्बरमा सेवा र दोस्रो नम्बरमा मात्रै व्यवसाय सम्झन पनि स्मरण गराएका थिए।
कार्यक्रममा यातायातमा भएको सिण्डिकेट हटाउनुपर्ने, पोखरा–बागलुङ राजमार्गको स्तरोन्नती गर्नुपर्ने, ग्रामिण सडक मर्मतको नाममा अनियमितता हुने गरेको र त्यसको अन्त्य गर्नुपर्ने लगायतका गुनासा स्थानीयले राखेका थिए। स्थानीयले यातायातको साधनमा यात्रा गर्दा छोटो दुरीमा टिकटको ब्यवस्था नभएकोप्रति पनि गुनासो गरेका थिए।पर्वतमा पर्वत यातायात ब्यवसायी समितिले ५० रुपैयाँभन्दा माथि र धौलागिरी अञ्चल यातायात बस ब्यवसायी समितिले एक सयभन्दा बढी भाडा रहेको ठाउँसम्मको यात्रामा मात्रै टिकटको ब्यवस्था गर्दै आएको छ। तर, प्रशासक थपलियाले भाडा एक रुपैयाँ भएपनि अनिवार्य रुपमा टिकटको व्यवस्था गर्नैपर्ने बताए।
Comments are closed.