पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ मा पर्ने ज्यामिरबोट सुन्दरीगाउँमा अवस्थित सिद्धिकाली मन्दिर उद्घाटन तथा मूर्ति प्राणप्रतिष्ठा सम्पन्न भएको छ ।
आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समितिद्वारा आयोजित एक कार्यक्रमका बीच आज प्रदेशसभा सदस्य श्यामराजा महतले मन्दिरको उद्घाटन गर्नुभएको थियो । साथै विधिपूर्वक पुजापाठ गरि मूर्ति प्राणप्रतिष्ठा गरिएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य महतले यस क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिद्धिकाली मन्दिरको विकासका लागि समितिले भक्तजन र शुभेच्छुकलाई सहयोग गरौं भन्ने वातावरण सृजना गरे आर्थिक सहयोग जुटाउन समस्या नहुने उहाँले बताउनुभयो ।
देशमा आर्थिक संकट उत्पन्न भएको र यसको समाधानकालागि कृषि क्षेत्रलाई प्राथमिकता दिई उत्पादनतर्फ जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “बैंक, सहकारी कतै पैसा पाइन्न, लिएको ऋण उठाउन वित्तीय संस्थाले छोड्दैन अब गाउँघरका बाँझो जमिनमा उत्पादन गरेमात्र अहिलेको अवस्थालाई पार लगाउन सकिन्छ ।”
शुक्लागण्डकी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले मन्दिरको शिलान्याससँगै वडामा विकासले गति लिएको बताउनुभयो।
वडा नं. २ का अध्यक्ष सुमनबहादुर राना मगरले यस क्षेत्रको योजनावद्ध तरिकाले विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिका अध्यक्ष दिपेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा डा. रामप्रसाद पौडेल, वेद अनुयायी ऋषिराम ढुंगाना, शुक्लागण्डकी नगरपालिका वडा नं. १ की सदस्य लक्ष्मी भण्डारी, जग्गादाता डिल्लीराम अधिकारी, राधाकृष्ण मन्दिर समितिका अध्यक्ष गणेशबहादुर खत्री, आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिर निर्माण समिति सचिव सञ्जयराज ढकाल, शुभ विहानी आमा समुहकी अध्यक्ष शोभा विक लगायतले बोल्नुभएको थियो ।
उक्त अवसरमा मन्दिर समितिलाई जग्गा प्रदान गर्ने डिल्लीराम अधिकारी, कृष्णराज अधिकारी, ऋषिराम ढुंगानालाई सम्मान गरिएको थियो । कार्यक्रममा लोक भजन गायक प्रजापती पराजुलीले आफ्नो प्रस्तुती राख्नुभएको थियो ।
२०७८ साल जेठ ४ गते शिलान्यास गरिएको मन्दिर निर्माणकालागि हालसम्म करिव १२ लाख रुपैया खर्च भएको समितिका सचिव ढकालले जानकारी दिनुभयो ।
शुनपा–१ ज्यामिरबोटमा अवस्थित आँखेताल हाल सामान्य रुपमा संरक्षण गरिएको छ । सोहि ताल परिसरमा सिद्धिकाली मन्दिर निर्माण गरिएको हो । सो क्षेत्रको संरक्षण र विकासकोलागि करिव तीन वर्ष अघि निर्माण समिति गठन गरिएको थियो । आँखेताल संरक्षण तथा सिद्धीकाली मन्दिर निर्माण समितिले खेलकुदका माध्यमबाट स्थानीय सम्पदाको पहिचान भन्ने मुल नाराका सिद्धीकाली कप साविक वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताबाट बचत रकम समेत मन्दिरको विकासको लागि खर्चिएको समितिले जनाएको छ ।
यहाँस्थित आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका साथ शुक्लागण्डकी नगरपालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने अभियानका साथ जुटेका हुन् ।
यसको संरक्षण र विकासका लागि पाँच वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका स्वदेश तथा विदेशमा रहेका युवाले विशेष सक्रियता देखाएका थिए । उनीहरुबाट सहयोग संकलन गर्दै सुरु गरिएको अभियानसँगै हाल आएर मन्दिरको उद्घाटन एवम् प्राणप्रतिष्ठासम्म आइपुग्नुलाई निकै महत्वका साथ हेरिएको छ ।
पृथ्वी राजमार्गको गगनगौँडाबाट पाँच किलोमिटरको दुरीमा पुग्न सकिने यहाँ आउन बीचमा पर्ने खुदी खोला र गुवे खोलामा पक्की पुल बनिसकेका अवस्थामा यो एउटा आन्तरिक पर्यटनको राम्रै गन्तव्य बन्न सक्ने विश्वास लिइएको छ ।
Comments are closed.