पोखरा, ३० साउन/ लेखनाथ नगरपालिकाको वडा नम्बर १२ । काँग्रेस महाधिबेशनको रौनक । चुनावकै माहोलमा तरुण दलको सोही वडाका उपाध्यक्ष शिब घिमिरेले एक हप्ताअघि भेला राख्न खोजे । भेलाको उद्देश्य संस्थापन पक्षमा माहौल बनाउनु थियो । संस्थापन पक्षका घिमिरेले भेला राख्न थालेको थाहा पाएपछि, तरुण दलका जिल्ला उपाध्यक्ष नारायणहरी तिवारीले उपाध्यक्षले भेला राख्न नमिल्ने सुझाए । तिवारी देउबा पक्षका हुन् । घिमिरे आफुलाई सभासद जीवन परियारको स्वकीय सचिव भन्दै हिड्ने ब्यक्ति भएको कांग्रेसहरुको भनाई छ । तर, सभासद परियारले त्यसो नभएको र संसद सचिवालयमा गएर बुझ्न सकिने वताउँछन् ।
भेला राख्न तिवारीले छेकेको भन्दै, घिमिरेले कांग्रेसको संस्थापन निकटका उच्छृङ्खल केटाहरु बिश्वास गौतम, राजु रानाभाट, रबिन केसी र प्रकाश गुरुङलाई उचाले । त्यसपछि उनिहरुले तरुण दलका जिल्ला उपाध्यक्ष तिवारीलाई धम्काए । त्यो बिवाद त्यसको एक–दुई दिनमा उपाध्यक्ष तिवारी, कांग्रेसका युवा नेता कल्याणबाबु भण्डारी, बिश्वास गौतम र रबिन केसी बसेर मिलाइयो । तथापी तिवारी माथिको आवेश रोकिएन ।
गत बुधबार तालचोकमा बसिरहेका तिवारी माथि बिश्वासले आक्रमण गरे । सार्वजनिक स्थलमा अरु मानिसहरुसमेत भएको अवस्थामा तिवारी माथी आक्रमण हुँदा कांग्रेस नेता रामजी बादल पनि त्यही थिए । उनले झगडा नगर भन्दै छुट्याउन खोजे । त्यहाँ तरुण नेता तिवारीले पिटाई खाए ।
बुधबार भएको यो घटनालाई मिलाउनका लागि काँग्रेसका पूर्व महाधिवेन प्रतिनिधी बुद्धमान गुरुङ्गले पहल लिए । अनि बिहीबार साँझपख दुबैपक्षलाई बोलाए । रामजी बादल, नारायणहरी तिवारी र मनोज गुरुङ्ग एउटा समूह । बिश्वास गौतमहरुको अर्को समूह पुग्यो बुद्धिमानको घरमा ।
मासु चिउरा र स्प्राइट खाएर उनीहरुबीच छलफलमा भएको सहभागी वताउँछन् । तर, उनीहरुले मदिरा सेवन गरेका थिए की थिएनन् ? भन्ने कुराको अनुसन्धान हुन बाँकी नै रहेको कास्की प्रहरी प्रमख हरिबहादुर पालले वताए ।
छलफलमा सहभागी तिवारीका अनुसार बिश्वासले आफुले हात छाडेकोमा माफी पनि मागे । माफी मागे जस्तो गरेपनि, गौतमसँगै आएका प्रकाश गुरुङसहितका युवाहरु सन्तुष्ट भएनन् । उनीहरुले आफुहरुको पनि शक्ति भएको काँग्रेसका केन्द्रीय सदस्य तथा सभासदको साथ आफुलाई भएको वताइरहेका थिए ।
सुरुमा निस्किएको गौतम समूहका प्रकाशले बुद्धिमानको घर मुनिनै बादलको नामै किटेर ज्यान मार्ने धम्की दिए । धम्की दिएपछि, घर धनी बुद्धिमानले बादलहरुलाई केटाहरुको भर नभएको भन्दै नजान सुझाए । तर, बादलले ‘आफ्नै भाइहरु हुन्, केही हुन्न’ भनेका थिए । तालचोकमा बिहीबार भएको घटनामा तवारीलाई पिट्दा, रामजी बादलले बिश्वासलाई पिट्न खोजेको उनीहरुको आरोप थियो । प्रकाशले त रामजी बादललाई तिन दिन भन्दा बढी बाँच्न नदिने भन्दै धम्की दिए ।
बिश्वासको समूह बुद्धिमानको घरबाट हिँडेको केही समयमा राती करिब नौ बजे रामजी बादलको टोली पनि आफ्नो घर तर्फ लाग्यो । दुई वटा मोटरसाइकल थिए । एउटामा थिए नारायणहरी तिवारी, अर्कोमा रामजी बादल र मनोज गुरुङ ।
गगनगौंडामा हिँडिरहेको मोटरसाइकलमा सुरुमा तिवारी माथी बिश्वास गौतमले लाठीले आक्रमण गरे । तिवारीले मोटरसाइकल रोकेर लाठी खोस्न खोजे । तर, अरु तिन जना आएर आक्रमण गरे । बादल चढेको मोटरसाइकमा समेत आक्रमण भयो । बादललाई प्रकाश गुरुङ्ग सहितले पिटेर घिसार्दै लगे । तिन जनाको कुटाईबाट तिवारी बेहोस भए । तिवारीका अनुसार उनि होसमा हुँदासम्म घटनास्थलमा ६ जना मानिस उनले देखेका थिए । बेहोस भएपछि, उनले घटनाको बारेमा केही थाहा पाएनन् । बिश्वास, प्रकाश, राजु रानाभाट, रबिन केसी लगायतका ब्यक्तिहरु त्यहाँ भएको बुझिएको छ ।
घटनाको बारेमा जानकारी पाएको प्रहरीले घटनास्थलमा पुग्दा मनोज गुरुङ्गलाई घाइते अवस्थामा भेटेर अस्पताल लग्यो । करिब दश बजे तिर प्रहरीले घटनामा संलग्नहरुको खोजीका लागि तनहूँ(कोत्रे) सम्म पुग्यो । तर, केही फेला परेन । बिहान बादलको लाश भेटिएपछि, मात्रै ठुलो घटना भएको प्रहरीलाई थाहा भयो । शुक्रबार बिहान घटनामा संलग्न अभियुक्त राजु रानाभाटलाई कास्की प्रहरीले पक्राउ गरेको छ भने शनिबार लेखनाथ नगर सभापति राजेन्द्रमणी लामिछाने पक्राउ परेका छन् । मनाेज गुरुङले दिएकाे किटानी जाहेरीकाे अाधारमा कास्की प्रहरीले लामिछानेलार्इ पक्राउ गरेकाे हाे ।
(नारायणहरि तिवारी, कास्की प्रहरी र घटनालाई सुरुदेखि नै नियालेका कांग्रेस कार्यकर्ताहरुसँगको कुराकानीमा आधारित ।)
‘रामजी दाइलाई घिसारेर लगे’
नारायणहरी तिवारी
उपाध्यक्ष
तरुण दल कास्की
बुद्धिमानको घरमा पुगेर फर्कदै थियांै । बसन्तले म सँग माफी पनि मागेको हो । तर, जाने बेलामा उनिहरु बादलदाइसँग आक्रोशित देखिए । प्रकाशले त मुख खोलेरै मार्छु भनेको हो । हामी के त्यसो गर्लान् ? र भनेर हिड्यौं । बाटो कुरेर बसेका रहेछन् । सुरुमा मलाई आक्रमण गरे । मोटरसाइकल चलाइरहेका बेला आक्रमण भयो । बसन्तले हानेको हो सुरुमा । मैले मोटरसाइकल रोकेर लाठ्ठी खोस्न खोजे । तर, अरुले पनि मलाई आक्रमण गरे । पछाडीबाट, आक्रमण भएकाले प्रतिकार गर्न सकिएन ।
नत्र दुइ चार जनालाई त तह लगाउन सकिन्थ्यो । उनिहरुले चलिरहेको मोटरसाइकलमा एक्कासी आक्रमण गर्दा, हामीले प्रतिकार गर्न पाएनांै । उनिहरुले एकोहोरो आक्रमण गरे । मलाई पछि अर्को बाइकमा रहेका बादल र मनोज माथी आक्रमण भयो । मैले बादललाई घिसारेर तल तिर लगेको देखे । त्यसपछि के भयो थाहा भएन ?
(तिवारी घटनाका बेलामा मृतक बादलसँगै थिए)
को हुन् नेता बादल
कास्कीको लेखनाथ नगरपालिका १ बरालथर स्थायी घर भएका ५५ बर्षिय नेता बादलको पूरा नाम रामजी पौडेल बादल हो । बादल काँग्रेस राजनीतिमा धेरै संघर्ष गरेपनि महत्वपूर्ण उपलब्धि हात पार्न नसकेका पीडित नेतामध्ये एक हुन् । पारिवारिक पृष्ठभूमी नै नेपाली काँग्रेस भएकाले पनि बादल विद्यार्थी कालदेनि नै नेपाल विद्यार्थी संघ हुँदै काँग्रेसको सक्रिय राजनीतिमा होमिए ।
विद्यार्थी कालमा उनी नेविसंघको केन्द्रीय सदस्यसम्म भए भने कास्की जिल्ला सभापति समेत भएका थिए । केन्द्रीय सदस्य हुँदा नै उनले निभाएको महत्वपूर्ण भूमिकाको बलले केही महत्वपूर्ण पदसम्म पनि पुग्न सफल भए । पार्टी विभाजन हुँदा बादल नेपाली काँग्रेस प्रजातान्त्रिकको तर्फबाट महाधिवेशन प्रतिनिधि समेत भएका थिए ।
नेपाली काँग्रेसका हरेक आन्दोलनमा अग्रणी भूमिकामा रहेर अघि सर्ने बादल पञ्चायतकालमा थुप्रै पटक जेल पनि परेका थिए । उनी विपी चिन्तन प्रतिष्ठानका क्षेत्रीय सल्लाहकार समेत हुन् । विपी चिन्तन प्रतिष्ठानले गत संविधानसभा निर्वाचनमा उनको नाम पनि सिफारिस गरेको थियो । तर उनी उम्मेद्वार छनौटमा परेनन् । बादलका एक छोरी र श्रीमति छन् ।
Comments are closed.