सुस्त साक्षरता अभियान, कास्की साक्षर जिल्ला हुन लक्ष्यबाट पर

अहिलेसम्म १८ गाविस र पोखराको एउटा मात्र वडा साक्षर घोषणा
गाविसहरु साक्षर हुन होडबाजी
एघार हजारलाई साक्षर बनाईदै


अमृत सुवेदी/ पोखरा १६ चैत्र।
आगामी बैशाख पाँच गते भित्र कास्कीलाई साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य भएपनि यो मितिमा असम्भव हुने भएको छ । जिल्ला शिक्षा कार्यालय कास्कीले वैशाख पाँच गते भित्र नगरपालिका बाहेक कास्कीलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने लक्ष्य राखेको थियो ।
कास्कीको हेमजा गाविसबाट सुरु भएको साक्षर गाविस घोषणा आजसम्म आईपुग्दा १८ वटा गाविस र पोखरा उपमहानगरपालिकाको वडा नम्वर १६ वाटुलेचौर मात्र सारक्ष घोषणा भएको छ । कहिलेसम्म साक्षर घोषणा हुन्छ भन्ने एकिन छैन । ‘कास्की गएको बर्ष नै साक्षर घोषणा हुनुपर्ने हो’, जिल्ला शिक्षा अधिकारी अम्बीका आचार्यले भने,‘बजेट अभाव भएका कारण र तयारी नहुँदा पछि पर्‍यो ।’

बैशाख पाँच गते भित्र जिल्लालाई साक्षर घोषणा गर्ने कार्यक्रम रहेको भएपनि एसएलसी र कक्षा आठको परिक्षाका कारणा ढिला भएको जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगन थापाले जानकारी दिए । ‘अहिले साक्षर गाविस घोषणा गर्ने काम तिब्र गतिमा चलेको छ’ थापाले भने ‘गाविसहरुलाई साक्षर घोषणा गर्न भ्याइनभ्याइ छ । हामीले सबैलाई मिल्ने गरी घोषणा गर्दै छिट्टै कास्कीलाई साक्षर बनाउने अभियानलाई जोड दिएका छौं ।’ यही चैत २३ गते निर्मलपोखरी, २५ गते लाहाचोक, २६ गते थुम्की गाविस साक्षर घोषणा हुँदैछन् । यस्तै अन्य थुप्रै गाविसलाई घोषणा गर्नका लागि छलफल भैरहेको उनले जनाए ।

पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकामा भने समन्वयको अभावमा काम सुरु हुन सकेको छैन । नगरपालिकाका सबैसँग छलफल गरी काम अगाडी बढाइने कार्यालयले जानकारी दियो । नगरपालिकाले भने पूर्ण खोप र साक्षर घोषणा सँगसँगै गर्ने तयारी गरेको बताइएको छ ।  कुल जनसंख्याको ९५ प्रतिशत साक्षर भए साक्षर घोषणा गर्न सकिने सरकारी नीति अनुसार १५ बर्षदेखि ६० बर्ष उमेर समुहका एघार हजार जना निरक्षरलाई अहिले कास्कीमा साक्षर बनाईदैछ । कक्षा नौ र दशका विद्यार्थी निरक्षरलाई साक्षर बनाउन खटिएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ । यसैगरी स्थानीय शिक्षा समिति र सम्वन्धित क्षेत्रमा काम गर्ने गैर सरकारी संस्थाहरुको समेत समन्वयमा काम भैरहेको छ ।  जिशिकाले ०६७ मा घरधुरी सर्वेक्षणबाट निरक्षरको तथ्यांक संकलन गरी जिल्ला शिक्षा समितिमार्फत प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यसबेला २५ हजार १ सय ८ महिला र ८ हजार ५ सय ६७ पुरुष गरी ३३ हजार ६ सय ७५ निरक्षर थिए । आव ०७०र७१ मा आइपुग्दा ११ हजार ६ सय ८२ जना रहेको थापाले बताए ।

विगतमा सामुदायिक अध्ययन केन्द्रमार्फत साक्षरता कक्षा सञ्चालन भए पनि अहिले ९९ सरकारी विद्यालयका ९ र १० का विद्यार्थीलाई जिम्मा दिइएको छ । ‘इच वन टिच वन’ अभियानअन्तर्गत विद्यार्थीले निरक्षरलाई अंक र अक्षर चिन्ने बनाइरहेका छन् ।  अनौपचारिक शिक्षा केन्द्रले ७ हजार निरक्षर रहेको अनुमान गरी १२ लाख ८८ हजार रुपैयाँ आएको भएपनि ६४ प्रतिशतलाई मात्र पुग्ने भएपछि धेरै निरक्षर भएको ठाउँमा ४० र कम भएकामा ३८ प्रतिशत बजेट घटाएर पठाइएको उनले बताए । सुरुमा घोषणा गर्ने दश गाविसलाई स्थानीय शिक्षा समितिको निर्णय अनुसार दश÷दश हजार रुपैयाँ प्रदान गरीएको कार्यालयले जनाएको छ ।

Comments are closed.