पोखरा–१, श्रावण
नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रा.लि.ले कोभिड–१९ विरुद्ध लडाईमा सहयोग पु¥याउन गण्डकी प्रदेशलाई रु. १ करोडको सहयोग गरेको छ । कम्पनीद्वारा जारी प्रेश विज्ञप्ति अनुसार, कम्पनीका वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
सो अवसरमा मुख्यमन्त्री गुरुङ्गले गण्डकी प्रदेशमा रहेको सबैभन्दा ठूलो प्राइभेट कम्पनीले कोरोनाभाइरस रोकथामको लागि दिइएको अहिलेसम्मको सबैभन्दा ठूलो आर्थिक सहयोगले कोभिड रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोरोना कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
सहयोग रकम प्रदेशको कोरोना कोष अन्तर्गत कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोष, पोखरालाई सहयोग बापत प्रदान गरेको हो ।
कोरोनाको जोखिम हाल नेपालमा जनस्तरमा फैलिरहेको र यसले जनसमुदायमा त्रास फैलाइरहेको सर्वविदितै रहेको अवस्थामा यस आर्थिक सहयोगबाट कोरोनाभाइरस विरुद्ध लड्न गण्डकी प्रदेशलाई थप प्रेरणा र उर्जा मिल्ने विश्वास कम्पनीको रहेको छ ।
सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघिपनि देशमा दैवी तथा अन्य प्रकोपलाई प्राथमिकतामा राखी विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्ता सहयोगहरु निरन्तर गर्दै जाने योजना कम्पनीको रहेको छ ।
Comments are closed.