सृजना मा.वि.मा भर्चुअल नेपाली वक्तृत्कला प्रतियोगिता

पोखरा महानगरपलिका वडा नं. ८, शान्तिमार्ग स्थित सृजना आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत छात्र द्वय सुमन काफ्ले र मिलन खड्काको आयोजना तथा विद्यालयको व्यवस्थापनमा यही श्रावण १६ गते शनिबारका दिन अनलाइन (जुम) को माध्यमबाट कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीहरूको सहभागितामा नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिनुहँुदै विद्यालयका प्राचार्य डोलराज पाण्डले विषम परिस्थतिका कारण भर्चुअल माध्यमबाट भएपनि विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि यस्ता प्रतियोगिताहरूले मद्घत पुग्नेकुरा व्यक्त गर्नुभएको थियो । यसैगरी उक्त कार्यक्रममा विद्यालयका शिक्षक एवम् शैक्षिक परामर्शदाता शंकर पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । ‘महामारीले विद्यार्थी वर्गमा पारेको प्रभाव’ विषयक उक्त वक्तृत्वकला प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत छात्रा रोशनी भण्डारीले प्रथम स्थान, कक्षा ९ मा अध्ययनरत छात्रा सर्वज्ञ अधिकारीले द्वितीय स्थान, कक्षा ८ मा अध्ययनरत छात्र आयुष खड्काले तृतीय स्थान र कक्षा ८ मा अध्ययनरत छात्र मनिष कुँवर र कक्षा ९ मा अध्ययनरत छात्रा सुवेक्षा खड्काले चतुर्थ स्थान हासिल गर्न सफल भएका थिए । विद्यालयका सह–प्राचार्य गोपाल थापा एवम् शैक्षिक प्रमुख इन्द्र कुमार श्रेष्ठले विजेता विद्यार्थीहरूलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै भौतिक रूपमा विद्यालय सञ्चालन भएपछि पुरस्कार र प्रमाणपत्र वितरण गरिने कुराको जानकारी गराउनुभएको थियो । कक्षा १० मा अध्ययनरत छात्र मिलन खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली विभागका शिक्षकहरू विष्णुप्रसाद सुवेदी, रिता आचार्य र सुरेन्द्र काफ्लेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कक्षा १० मा अध्ययनरत छात्र सुमन काफ्लेले गरेको कुरा विद्यालयका मिडिया इन्चार्ज विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।

Comments are closed.