स्थानीय जग्गाधनी र प्रहरीबीच झडप, १० जना घाइते

कास्की, ३ पुस
नयाँ विमानस्थलका लागि सरकारले अधिग्रहण गर्न लागेको जग्गाको उचित मुअब्जा माग गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण छिनेडाँडा पोखरामा तालबन्दी गर्न पुगेका स्थानीय जग्गाधनी र प्रहरीबीच बिहीबार झडप भएको छ । झडपमा कम्तीमा १० जना घाइते भएका छन् ।

-airpotप्रहरी र स्थानीयवासीतर्फ पाँच–पाँचजना गरी कम्तीमा १० जना घाइते भएको कास्कीका प्रहरी प्रमुख एसपी वसन्त लामाले जानकारी दिए । जग्गा धनीतर्फ घाइते भएका दुईजनाको मनिपाल अस्पतालमा उपचार भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार सङ्घर्ष समितिका सचिव बोधराज कार्कीले जानकारी दिए । अन्य घाइते घर फर्किएको उनले बताए । प्रहरीतर्फ घाइते भएकाको सोही अस्पतालमा उपचार भइरहेको एसपी लामाले जानकारी दिए ।

सरकारले चार दशकअघि पोखरामा क्षेत्रीय विमानस्थल बनाउन अधिग्रहण गरेको तीन हजार ६०१ रोपनी क्षेत्रफलको जग्गामा हालै स्थापना गरिएको प्राधिकरणको कार्यालयमा तालाबन्दी गर्न स्थानीय जग्गा धनी बिहान १० बजे कार्यालय अगाडि पुगेका थिए । विमानस्थलका लागि जग्गा अपुग भएको भन्दै सरकारले थप ६२९ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाएको थियो । पछिल्लोपटक अधिग्रहण गर्न लागिएको यही जग्गाको लागि मुअब्जा रकम अति न्यून मूल्याङ्कन गरिएको भन्दै स्थानीय जग्गा धनी चरणबद्ध आन्दोलनमा थिए । झडपपछि उनीहरुले ४५ मिनेट पृथ्वीराजमार्गमा चक्काजाम कार्यक्रमसमेत गरेका थिए ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार सङ्घर्ष समितिका सचिव बोधराज कार्कीले उचित मुअब्जा नपाएसम्म स्थानीयले कुनै हालतमा विमानस्थल बन्न नदिने बताए । सरकारले प्रतिरोपनी रु २२ लाख हाराहारी मूल्य प्रस्ताव गरेको छ भने जग्गाधनीले आनाकै रु १८ लाख वरपर मागेका छन् ।

Comments are closed.