स्थानीय निर्वाचनमा सबै पार्टीलाई आफ्नै दलीय चुनाव चिन्ह प्रदान गर्न साना दलको माग

 

काठमाण्डौः२७ चैत्र–निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा आफ्नो दलीय चुनाव चिन्हसहित प्रतिस्पर्धा गर्न पाउने गरी कानुनमा आवश्यक संशोधन गर्न साना पार्टीहरूले जोडदार माग गरेका छन्।

विवेकशील साझा पार्टीको आह्वानमा पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा बसेको १३ वटा दलको बैठकले संघीय संसद्मा राष्ट्रिय दलको मान्यताप्राप्त दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह प्रदान गर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को प्रावधान अत्यन्त विभेदकारी र लोकतन्त्रको मर्म विपरीत रहेको ठहर गर्दैै तत्काल संशोधनको माग गरेको वैठक पछि प्रकाशित विज्ञप्तीमा भनिएको छ ।

बैठकमा विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी काँग्रेस, नेपालवाद पार्टी, नेपाल समाजवादी पार्टी (लोहियावादी), आमूल परिवर्तन मसिहा पार्टी, नेपाली काँग्रेस (वी. पी.), राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, गान्धीवादी पार्टी नेपाल, नेपाल परिवार दल, नेपाली जनता दल, नयाँ पिपुल्स पार्टी र आजाद जनता पार्टीका शीर्ष नेतृत्व तथा प्रतिनिधि सहभागी रह्ेको बताइएको छ ।

Comments are closed.