स्याङ्जाको कालिगण्डकीका प्रत्येक घरमा ईन्डक्सन चुल्हो

स्याङ्जा, जेठ ११
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा ईन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्दै आएका करिब ४ हजार ६ सय घरधुरीलाई लक्षित गरी ग्यास चुल्हो प्रतिस्थापन गर्दै ईन्डक्शन चुल्हो वितरण गर्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गर्दै ग्यासको बढ्दो मूल्य वृद्धिलाई मध्यनजर गर्दै पालिकाभित्रका सबै घरधुरीमा विद्युतीय ईन्डक्शन चुल्हो वितरण गर्ने लक्ष्य सहित पहिलो निणर्य गरिएको अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए ।
“घरघरमा रहेका ग्यासका सिलिण्डर संकलन गर्ने र ईन्डक्शन चुल्हो दिने निणर्य गरेका छौं ।” अध्यक्ष थापाले भने, “निःशुल्क रुपमा चुल्हो उपलब्ध गराईने निणर्य गाउँसभाको आउँदो बैठकबाट पारित गरेर लागू गरेर कार्यान्वयनमा लैजान्छौं ।”कालीगण्डकीलाई २ वर्षभित्रमा धुँवारहित पालिका बनाउने लक्ष्य राखिएको बनाउँदै थापाले आयातित ग्यासको प्रतिस्थापन गर्दै विद्युतको प्रयोगमा बल पुर्‍याउने बताए । उनले दिएको जानकारी अनुसार यसअघि वडा नं ५ को दलित समुदायमा ईन्डक्शन चुल्हो परीक्षणका रूपमा वितरण गरिएको थियो । दलित समुदायमा संचालित कार्यक्रम प्रभावकारी भएसँगै गाउँपालिकाभरि नै ईन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडी सारिएको छ । धुँवारहित गाउँपालिका बनाउँने निणर्य भएसँगै चुल्होचौकोमा काम गर्दै आएका स्थानीय उत्साहित भएका छन् ।
गाउँपालिकाले विद्युतको पहुँच सबै घरधुरीमा पुर्‍याउने अभियान अन्र्तगत विगत २ वर्षदेखि न्यूनतम विद्युतीय महसुल भुक्तानी गर्दै आएको छ । गाउँपालिकाले न्यूनतम २० युनिटसम्म विद्युत् महसुल निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

Comments are closed.