स्याङ्जामा सञ्चार सुविधासहितको आइसोलेसन अस्पताल


प्रकाश डोटेल
स्याङ्जा, २१ जेठ

स्याङ्जामा कालिका सामुदायिक अस्पताल सञ्चार सुविधा सहित आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । टेलिभिजन हेर्ने, वाईफाइ चलाउने सुविधासहित सीसी क्यामेराको निगरानीमा सेन्टर संचालनमा आएको हो ।

भीरकोट नगरपालिका–१ हेलुमा रहेको अस्पतालमा ६० वेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । सञ्चार सुविधा सहित १६ शैया महिलाका लागि र ४४ शैया पुरुषका लागि तयार पारिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि सामुदायिक अस्पतालमा आसोलेसन तयार पारिएको छ ।

एकसाताको अवधिमा १२ जनामा कोरोना संक्रमित भएपछि स्थानीयले चासो बढाएपछि सेन्टर संचालनमा आएको छ । स्याङजा जिल्ला अस्पतालमा १० बनाइको शैयाको आइसोलेसन वार्ड पर्याप्त नभएपछि कालिका अस्पतालमा शैया निर्माण गरिएको छ । जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै शैया अभाबले एक संक्रमित महिलालाई पोखरामा पठाउन बाध्यता सृजना भएको थियो ।

पछिल्लो पटक संक्रमित भेटिएका ५ जनालाई कालिकाकै आसोलेसनमा राखिएको छ । चापाकोट र बिरुवाका उनीहरु मंगलबार साँझ सेन्टरमा ल्याइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार आइसोलेसन सेन्टर निर्माणका लागि अस्पताल व्यवस्थापन समिति, जिल्ला समन्वय समिति, प्रशासन, जिल्लाका स्थानीय तह र प्रदेश सरकारको सहयोग छ ।

जिल्लाको मध्यभागमा रहेको अस्पतालमा (कोभिड–१९) संक्रमित राख्न आइसोलेसन शैया बिस्तार गर्ने योजनाले जिल्लाबासीलाई राहतको अनुभूति र सुरक्षित महशुस गर्ने भीरकोट नगरप्रमुख छायाँराम खनालले विश्वास जनाए । पीसीआर परीक्षण र थप भेन्टिलेटरसहितको उपचार सेवा उपलब्ध गराउन जिल्लाका स्थानीय तह एकजुट भएर लाग्नुपर्नेमा खनालले जोड दिए ।

जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा.सुशिल मरासीनीको नेतृत्वमा चिकित्सकीय व्यवस्थापन गरिएको छ । थप जनशक्ति आवश्यक परेमा जुनसुकै स्थानीय तहले पनि उपलब्ध गराउने सहमति बनेको छ । बजार क्षेत्रभन्दा केहि टाढा शान्त वातावरण रहेको अस्पतालमा एउटा भेन्टिलेटर समेत रहेको प्रमुख डा. मरासीनीले बताए ।

जिल्लाको मध्यभागमा रहेको सो अस्पतालले २०६२ देखि स्थानीय नागरिकलाई विशेषज्ञ टोली सहितको स्वास्थ्य सेवा प्रदान गर्दे आएको थियो । पोखरास्थित गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा अस्पताल संचालनमा रहेको अस्पताल सञ्चालक समितिका अध्यक्ष तोयनाथ अर्यालले जानकारी दिए ।

जिल्लाभित्र भारतबाट आउनेको संख्या दिनानुदिन बढ्दै गएको छ । गण्डकी प्रदेश र स्याङ्जाको नाका रुपमा रहेको राम्दीबाट मात्रै दैनिक ४०÷५० को संख्यामा आउने गरेका छन् । भारतबाट आउनेहरुलाई किटको अभावमा आरडिटी गरिएको छैन् । उनीहरुलाई पालैपालो पीसीआर परिक्षण गरिएको छ ।

Comments are closed.