स्वर्ग जाने भर्‍याङ हैन, नेपाल फेर्ने बाटो बनाएरै छोड्छु- ओली

काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा सामाजिक सद्भावका साथ राष्ट्रिय एकता कायम गर्न जरुरी रहेको बताएका छन् । हिमशिखर टेलिभिजनको काठमाडौँ कर्पोरेट अफिसको अाइतबार  उद्घाटन गर्दै उनले नयाँ संविधानले पनि सामाजिक असमानता र विभेद अन्त्य गरी समान अवसर प्रदान गर्ने व्यवस्था गरेको भन्दै त्यसलाई व्यवहारमा लागू गर्न सबैको भूमिका चाहिने बताए ।
kp-oli
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा जुन जाति या भाषी जहाँ बसे पनि हामी सबै नेपाली भएकाले अहिलेको समस्या साझा समस्या हो भन्दै प्राकृतिक सम्पदा र विविधताले भरिएको मुलुक नेपालको संवृद्धिका लागि एकजुट भएर लाग्नुपर्ने बताए । अब मुलुकलाई सकेसम्म आत्मनिर्भर बनाउने बाटोतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले एक वर्षभित्र नेपाललाई विद्युत्भार कटौती मुक्त बनाउने उद्घोष गरे ।

“अब धेरै समय छैन, त्यसैकारण छिटो गर्नुपर्छ, स्वर्ग जाने भ¥याङ बनाउने हैन, नेपाल फेर्ने बाटो चाहिँ बनाएरै छोड्छु । छोटो समयमा हामी केही गर्छौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पशुजन्य व्यवसाय वृद्धि, कपडाका लागि कपासको खेती, टेक्सटायल उद्योग स्थापनालगायतका कामलाई अघि बढाई औद्योगिकीकरण र आधुनिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउँदै जान्छौँ” –उनले भने ।प्रधानमन्त्रीले अब हामीले ग्यासका चुलाभन्दा पनि बिजुलीका चुलातर्फ लाग्नुपर्छ, भन्दै मुलुकलाई एक वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाएरै छाड्ने प्रतिबद्धता जनाए ।

उनले भने– “इन्धनको विकल्पमा काठमाडौँ उपत्यकामा भरपर्दो ढङ्गले अध्ययन गरी मेट्रो रेल, ट्रली बस, विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्छ । हामी अब पूर्व–पश्चिम राजमार्गलाई चौडा गरी छ लेनको सडक बनाउँछौँ, चतरादेखि सिन्धुलीसम्म अर्को सडक बनाउँछौँ, फिल्मसिटी, आइटी सिटी र मोडर्न सिटी मस्र्याङ्दी, तनहुँ र लमजुङको आसपास बनाउँछौँ, त्यतिमात्र होइन उत्तरी क्षेत्रका सबै नाका खुलाउँछौँ ।”

प्रधानमन्त्री ओलीले मध्यपहाडी राजमार्गलाई बढाई काठमाडौँ आसपासका जिल्लामा तरकारी खेतीको पकेट क्षेत्रका रुपमा विकास गरी, फलफूल खेती र नयाँ बस्तीको विकास गर्नेतर्फ उन्मुख हुने पनि बताए ।  नेकपा (एमाले) का अध्यक्ष पनि रहनु भएका प्रधानमन्त्री ओलीले अहिले अर्कै प्रकारको परिस्थिति रहेको र यो कठिनाइपूर्ण अवस्थामा नेपाली जनताले देखाएको देशभक्तिप्रति आभार प्रकट गर्दै जनताले पाएको दुःखकष्टबाट आफू मर्माहत भएको बताए ।

“हामी भारत विरोधी होइनौँ, नेपाल भारत विरोधी होइन, सरकार भारतको विरोधी होइन त्यस्तो सोच्न पनि सकिन्न । म भारतीय सरकारलाई आग्रह गर्न चाहन्छु, यति आत्मीय र मैत्रीपूर्ण भावना राख्ने नेपाली जनताको मर्मलाई तपार्इंहरुले बुझिदिनुस्, नेपाललाई ग्यास र इन्धन उपलब्ध गराइदिनुस् । भारतीय बुद्धिजीवी र त्यहाँका सञ्चार माध्यमलाई धन्यवाद दिन्छु, जसले नेपालीको पीडाप्रति सद्भाव देखाएर मानवीय भावना देखाउनुभएको छ” – उनले भने।

प्रधानमन्त्री ओलीले तराईको नाकाबन्दीले मुलुकको अर्थतन्त्रलाई बर्बाद बनाएको र यसले कसैलाई पनि फाइदा नहुने भन्दै आन्दोलनकारीका जायज मागलाई सम्बोधन गर्न सरकार लचिलो रहेकाले सहमतिमा आउन आग्रह गरे । उनले अहिले मुलुकमा देखिएको समस्या समाधान गर्न तीन प्रमुख राजनीतिक दल मिलेर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले प्रेस तथा प्रकाशन स्वतन्त्रताको हकको प्रयोग गरी सञ्चारमाध्यमले स्वतन्त्र, सुरक्षित र जिम्मेवार पत्रकारिताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले नयाँ संविधानले सबै जाति, समुदाय र वर्गको हक अधिकारलाई सम्बोधन गरेकाले यसको पूर्ण कार्यान्वयनका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने खाँचो औँल्याए ।

Comments are closed.