पोखरा, ३० साउन
नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले कास्कीको लेखनाथमा हत्या गरिएका आफ्ना कार्यकर्ता रामजी पौडेल बादलका हत्यारालाई कडाभन्दा कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । शनिबार पोखरास्थित काँग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली सभालाई सम्बोधन गर्दै नेता देउवाले पौडेलको हत्याले आफु मर्माहत भएको भन्दै हत्यारालाई कानुनी कठघारामा उभ्याएरै छाड्ने प्रतिबद्धता जनाए । पौडेलको हत्याले आफ्नो दाहिने हात भाँचिएको महसुस भएको उनले बताए ।
“उहाँको हत्याले मेरो दाहिने हात नै भाँचिएको महसुस गरेको छु ।” देउवाले भने– “हत्यारालाई कानुनी कठघारामा उभ्याउन कुनैपनि कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” देउवाले पौडेलले आफुलाई निकै सहयोग गरेको र आफ्नो अनन्य मित्र भएको पनि उल्लेख गरे । श्रद्धान्जली सभामा स्थानीय विकास मन्त्री तथा काँग्रेस महामन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा संघर्ष गर्ने युवा नेताको दुःखद अन्त्य भएको बताए ।
“अनवरत रुपमा संघर्ष गर्ने युवा नेताको दुःखद अन्त्य भएको छ ।” उनले भने– “श्रद्धान्जली सभामा पार्टी सभापति र अन्य नेताहरु आउन पाउनुभएन, उहाँहरु नआएपनि पार्टीको तर्फबाट बादलप्रति श्रद्धान्जली अर्पण गर्न चाहन्छौं । घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई कडाभन्दा कडा कार्वाही हुने विश्वास दिलाउन चाहन्छु ।”
सिंहले प्रधानमन्त्री एवं पार्टी सभापतिको तर्फबाट पनि समवेदना सुनाउँदै घटना घटाउनेहरुलाई कार्वाहीको दायरामा ल्याई सत्यतथ्य पत्ता लगाउने काममा सरकार दृढ रहेको जानकारी दिए । कार्यक्रममा नेता देउवा, मन्त्री सिंह, सिंचाई मन्त्री एनपी साउद लगायतले पौडेलको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।
पौडेलको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमपछि अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिएको थियो । श्रद्धान्जलीमा पार्टीका विभिन्न तहका नेता एवं कार्यकर्ताहरुको सहभागिता थियो । अन्तिम श्रद्धान्जलीपछि शनिबार नै उनको शव अन्त्येष्टीका लागि लेखनाथ लगिएको थियो ।
काँग्रेस राजनीतिमा धेरै संघर्ष गरेपनि महत्वपूर्ण उपलब्धि हात पार्न नसकेका पीडित नेतामध्येका एक बादल देउवा पक्षधर थिए ।
विद्यार्थी कालमा उनी नेविसंघको केन्द्रीय सदस्यसम्म भए भने कास्की जिल्ला सभापति समेत भएका थिए । केन्द्रीय सदस्य हुँदा नै उनले निभाएको महत्वपूर्ण भूमिकाको बलले केही महत्वपूर्ण पदसम्म पनि पुग्न सफल भए भने पार्टी विभाजन हुँदा बादल नेपाली काँग्रेस प्रजातान्त्रिकको तर्फबाट महाधिवेशन प्रतिनिधि समेत भएका थिए ।
आसन्न नगर समितिको अधिवेशन बारेको विवाद मिलाउने क्रममा उनीमाथी आक्रमण भएको थियो । उनको शव लेखनाथको गगनगौंडामा शुक्रबार बिहान भेटिएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तरुण दलका स्थानीय कार्यकर्ता राजु रानाभाटलाई पक्राउ गरेको छ । फरार रहेका रविन केसी, प्रकाश गुरुङ र विश्वास गौतम भने फरार छन् । उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.