पोखरा, ५ भदौ
कास्कीको सिल्दुजुरे गाविसका स्थानीयले गाविसमा बन्दै गरेको अपर मादी हाइड्रोपावरका कारण आसपासका खेतबारी बाँझिएको गुनासो गरेका छन् ।
गाउँ विकास समितिको आयोजनामा भएको सार्वजनिक सुनुवाईका बेला उनीहरुले हाइड्रोपावर बनाउने बहानामा जथाभावि पानी थुनेर सयौं रोपनी धान उब्जनी हुने खेत नै बाँझो बनाईदिएको गुनासो गरेका हुन् । “हामीले आयोजना नबनाउ भनेको होईन,” स्थानीय बालकृष्ण गुरुङले भने– “तर पुर्वाधार बनाउने नाममा किसानलाई मर्का पार्नु भएन नि ।”
अपर मादी हाइड्रोपावर निर्माण सुरु भएदेखि नै त्यस वरीपरि रहेका खेतहरुमा अहिले धान रोप्न छाडेको किसानहरुले बताएका छन् । हाइड्रोपावरका कारण सिल्दुजुरेको थाकबेशीमा १ सय रोपनी भन्दा बढी खेत बाँझिएको स्थानीयहरुले बताएका छन् ।
सिचाईं अभाव भएको बिषयमा गाउँ परिषदबाटै निर्णय गरेर जिल्लामा पठाएको तर अहिलेसम्म कुनै सुनुवाई नभएको गाविस सचिव मुक्तिनाथ बास्तोलाले जानकारी दिए । “हामीले जिल्लामा जानकारी गराईसकेका छौं,” बास्तोला भन्छन्– “अहिलेसम्म सुनुवाई भएको छैन, अझै सुनुवाई भएन भने स्थानीयलाई लिएर डेलिगेसन जान्छौं ।”
शनिबार गाविसले गतबर्ष सम्पन्न गरेका योजनाहरुका बिषयमा समिक्षा तथा सार्वजनिक सुनुवाई समेत गरेको छ । कार्यक्रममा सहभागीहरुले हाइड्रोपावरका कारण खेतबारीमा सिञ्चाई गर्न नपाएको र गाविसलाई तिर्नुपर्ने कर समेत नतिरेको गुनासो गरेका छन् । “हाम्रो गाविसमा पावर बनाएपछि हामीलाई कर तिर्नुपर्दैन ?” नेपाली काँग्रेस गाउँ सभापति मनबहादुर बरालले भने– “हामीले कति ताकेता गर्दा पनि निर्माण कम्पनीले चासो दिएको छैन ।”
योसँगै स्थानीयहरुले गाविसले आन्तरिक श्रोत बृद्धी गर्न नसकेको, जिल्लामा पठाएका योजनाहरु सम्बोधन हुन नसकेको, राजनीति पहुँचका आधारमा योजना छनोट भएको लगायतका गुनासो गरे । नेकपा एमालेका गाउँ अध्यक्ष झलकप्रसाद बरालले पनि गाविसमा एक घर एक धारा योजना सञ्चालन गर्नका लागि जिल्लामा पठाएको तर सम्बोधन हुन नसकेको गुनासो पोखे ।
उनीहरुले गाविसबाट पाउनुपर्ने सेवा राम्रोसँग पाएपनि बिकास निर्माणका योजनाहरु खासै प्रभावकारी नभएको बताए । तर गाविस सचिव मुक्तिनाथ बास्तोलाले भने एउटै ब्यक्ति धेरै उपभोक्ता समितिमा बस्ने, समयमा योजना सम्झौता नगर्ने र योजना छनौटमा बिचार पु¥याउन नसकेका कारण योजना सम्पन्न गर्न केही समस्या भएको बताए ।
गाविसको दीगो विकासका लागि आन्तरिक श्रोत बृद्धी गर्ने तयारी गरिरहेको एनेकपा माओबादीका गाविस अध्यक्ष शेर बहादुर गुरुङले बताए ।
Comments are closed.