हात्तीपाइलेविरुद्धको औषधि खाने आज अन्तिम दिन

Hattipaile

पोखरा २५ फागुन । कास्की सहित विभिन्न ३८ जिल्लामा अस्तिदेखि जारी हात्तीपाईले बिरुद्धको औषधि खुवाउने अभियान आजै सकिंदैछ । हिजो र अस्ति छुटेको भए आज औषधि खुवाउन तथा खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले सबैलाई आग्रह गरेको छ ।

हात्तीपाईले रोग बिरुद्धको अभियानको क्रममा यस बर्ष कास्कीमा झण्डै ५ लाखलाई औषधि खुवाईने लक्ष्य राखिएको थियो । छैटौ तथा अन्तिम चरणको कार्यक्रम अन्तर्गत कास्कीका ४ लाख ९३ हजार ४ सय २७ जनालाई औषधि खुवाउने लक्ष्य अनुसार अभियान चलाईएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ ।

यो अभियानको लागि कास्कीमा २७ सय ८० स्वयंसेवक र ३ सय १५ स्वास्थ्यकर्मी तथा १५ सुपरभाईजर खटिएको जिल्ला जनस्वास्थ्य प्रमुख बालकृष्ण भुषालले जानकारी दिए ।कास्कीमा अहिलेसम्म जम्मा ९८ जना हात्तीपाईलेका बिरामी भेटिएका छन् । नेपालमा कुल जनसंख्याको ८० प्रतिशत मानिस हात्तीपाईले रोगको जोखिममा छन् । लगातार ६ बर्षसम्म यो रोग बिरुद्धको औषधि खुवाउने क्रममा कास्कीमा यो अन्तिम पटक हो ।

नेपालका ६१ जिल्लामा यसको संक्रमण देखिएको छ भने उच्च पहाडी र हिमाली १४ जिल्लामा संक्रमण नदेखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । औषधि खुवाउने दोश्रो चरण अन्तर्गत फागुन ३०, चैत १ र २ गते काठमाण्डु उपत्यकाको काठमाण्डौं, ललितपुर र भक्तपुरमा औषधि खुवाउने अभियान संचालन हुँदैछ ।

Comments are closed.