त्यो सुझाव जायज रहेछ । किनभने संविधानसभा सचिवालयको सूचीमा ‘विद्यावारिधि’ गर्नेमा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नाम पनि सामेल छ । सचिवालयले मानार्थ विद्यावारिधिलाई पनि ‘आधिकारिक’ सूचीमा सामेल गरेपछि संख्या गडबड हुन पुगेको हो । सचिवालयका एक अधिकारी भन्छन्- ‘हामीले विवरण भर्न उपलब्ध गराएको फारममा ‘अनररी पी.एच.डी.’ उल्लेख भएको थियो । त्यहीकारण विद्यावारिधिको सूचीमा उहाँको नाम पनि सामेल हुन पुगेको हो ।’
त्यही फारममा ‘अध्ययन विषय’ खुलाउनुपर्ने थियो । तर ओलीले त्यो ठाउँ खाली राखे । खासमा पाँच वर्षअघि ओली र मधेसी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई मध्यअमेरिकाको ‘जीआईयू’ नामक युनिभर्सिटीले काठमाडौंमै राजनीतिशास्त्रको मानार्थ विद्यावारिधि उपलब्ध थियो । जुन विश्वविद्यालयमा एक जना नेपाली पनि आवद्ध थिए । उता गच्छदारले शैक्षिक योग्यतामा त्यो मानार्थ विद्यावारिधिलाई मान्यता दिएको पाइएन । उनले शैक्षिक योग्यतामा ‘स्नातक’मात्र उल्लेख गरेका छन् ।
संविधानसभा सचिवालयद्वारा संकलित ५ सय ९८ जना सभासद्हरु संक्षिप्त परिचयमा एसएलसीभन्दा कम शैक्षिक योग्यता हुने सभासद्को संख्या ५८ छ भने एसएलसी मात्र ५४ जना छन् । प्रमाणपत्र तह अध्ययन गरेका सभासद्हरु ९७ देखिएका छन् भने स्नातक तह उल्लेख गर्नेहरु १९७ छन् । तथ्यांकले संविधानसभामा सबभन्दा बढी स्नातक तह उल्लेख गर्नेहरु भएको देखाउँछ । संविधानसभाभित्र स्नातकोत्तर तह अध्ययन गर्नेहरुको संख्या १३९ छ ।
उता संविधानसभामा विद्यावारिधि गर्ने १६ सभासद्को हकमा गडबड हुन सक्ने ठाउँहरु देखिन्छ । किनभने आफ्नो अघिल्तिर ‘डा.’ उल्लेख गर्ने सभासद्को संख्या २३ छ । त्यसमा प्रकाशशरण महत र मीनेन्द्रप्रसाद रिजालले नामको अघिल्तिर ‘डा.’ उल्लेख गरेको पाइँदैन । अर्कातिर भर्खर एमाओवादी सिफारिशमा सभासद् बनेका ल्हारक्याल लामाले पनि नामको अघिल्तिर ‘डा.’ थपेका छन्, तर उनले कुन विषयमा अध्ययन गरेको हो भन्ने चाहिं खुलाएको पाइँदैन ।
विद्यावारिधि उपाधिको रहरसहित अध्ययन चालु राख्ने सभासद्को सूची पनि लामै छ । पूर्वमन्त्री केशरबहादुर विष्टका छोरा विराज विष्टले ‘विद्यावारिधि’ अध्ययनरत उल्लेख गरेका छन् । २०६६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्ध विष्ट समानुपातिक सभासद् हुन् । उता थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहितले स्नातकोत्तर, बुद्धिज्म विषयमा विद्यावारिधी जारी रहेको विवरणमा खुलाएका छन् । एमाले सभासद् गंगालाल तुलाधरको पनि प्रादेशिक विकास योजना तथा विपद् जोखिम व्यवस्थापनमा विद्यावारिधि चालु रहेको उल्लेख छ ।
यो तथ्यांक ५ सय ९८ सभासद्भित्रको विश्लेषण हो । हाल संविधानसभामा दुई सभासद् निलम्बित छन् भने बाग्लुङ-१ का सभासद् हरिबहादुर खड्काको निधन भएपछि त्यो ठाउँको उपनिर्वाचन परिणाम आउन बाँकी छ । संविधानसभा सचिवालयका अनुसार, दुई सभासद्ले विवरण बुझाएका छैनन् भने ३५ सभासद्हरुले त आफ्नो शैक्षिक योग्यता र अध्ययनको विषय खुलाएका छैनन् ।
त्यसरी शैक्षिक योग्यता र अध्ययन विषय नखुलाउनेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला पनि हुन् । अविवाहित प्रधानमन्त्री कोइरालाले फारममा शैक्षिक योग्यता मात्र होइन कि धेरै ठाउँ खालि छ । बरु त्यसमा निर्वासन जीवन भने लामो छ- १९ वर्षछ महिना, अनि ६ वर्षबन्दी जीवन । कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले राजनीतिशास्त्र र कानूनमा एम.ए तथा एल.एल.बी. उल्लेख गरेका छन् । उपसभापति रामचन्द्र पौडेल स्नातकोत्तर हुन्, तर उनले पनि अध्ययनको विषय खुलाएका छैनन् ।
सचिवालयका अनुसार, उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम एसएलसी मात्र हुन् । एमालेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल राजनीतिशास्त्र र इतिहासमा स्नातक हुन् । एमाले नेता माधवकुमार नेपाल वाणिज्यशास्त्रमा स्नातक अध्ययन गर्नेमा पर्छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल कृषि विषयमा स्नातक हुन् भने उपाध्यक्ष डा. बाबुराम भट्टराईले आर्किटेक्चर, शहरी विकास, क्षेत्रीय विकासमा विद्यावारिधि गरेका छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गणितमा, स्नातक (कानून र विज्ञान)मा स्नातकोत्तर हुन् । पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा राजनीतिशास्त्रमा स्नातक हुन् ।
‘शैक्षिक योग्यता भएका र नभएकाबीच के फरक पर्छ त ?’ अघिल्लो संविधानसभाकालमा संवैधानिक समितिका सचिव रहेका टेकप्रसाद ढुंगाना भन्छन्- ‘पढेकाहरुले संविधान र कानूनका विधेयकहरुमा सहजै ‘फिडब्याक’ र ‘इन्पुट’ दिन्छन् । किनभने उनीहरुमा अन्तर्राष्ट्रिय ज्ञान हुने नै भयो र सैद्धान्तिक परिभाषाहरु सहजै विश्लेषण गर्छन् । त्यही रुपमा शैक्षिक योग्यता नभएकाहरु प्रस्तुत हुन सक्दैनन् । साधारण लेखपढ भएकालाई त विषयबस्तु बुझाउन गाह्रो हुन्छ ।’
ढुंगाना भन्छन्- ‘त्यतिबेला भने सभासद्हरुमा शैक्षिक योग्यता महत्व हुँदो रहेछ ।’ तर उनी सदनभित्र जनताका पीरमर्का, उनीहरुको आवाज मुखरित गर्ने हुँदा शैक्षिक योग्यता नभएपनि खासै अर्थ नराख्ने उल्लेख गर्छन् । ‘त्यसकारण’ उनी भन्छन्- ‘संसदका निम्ति शैक्षिक योग्यता नभए पनि संविधानसभाका निम्ति तोकिएको भए त्यसले संविधान निर्माणमा सजिलो तुल्याउने थियो ।’
नाम अघिल्तिर ‘डा.’ लेख्ने
१. डा. अमरेश कुमार सिंह, अन्तर्राष्ट्रिय सम्बन्ध
२. डा. आरजु राणा देउवा, मनोविज्ञान र व्यवस्थापन
३. डा. उषा किरण अन्सारी, चिकित्साशास्त्र
४. प्रा. डा. कृष्ण बहादुर छन्तेल थापा, स्वास्थ्य शिक्षा
५. डा. गणेश कुमार मण्डल , मेडिकल साइन्स
६. प्रा.डा.गणेश मान गुरुङ्ग, समाजशास्त्र
७. प्रा. डा. चन्द्र मोहन यादव, रेडियोलोजी
८. डा. डिम्पलकुमारी झा, आयुर्वेद
९. डा. दुमनसिंह थापा क्षेत्री, विकास र समाजशास्त्र
१०. डा. नारायण खड्का, अर्थशास्त्र
११. डा. बाबुराम पोखरेल, मानव संसाधन विकास
१२. डा. बाबुराम भट्टराई, आर्किटेक्चर, शहरी विकास, क्षेत्रीय विकास
१३. डा. वीरेन्द्रप्रसाद महतो, अर्थशास्त्र
१४. डा. बंशिधर मिश्र, चिकित्साशास्त्र
१५. डा. भीष्मनाथ अधिकारी, राजनीतिशास्त्र, शिक्षाशास्त्र, चिकित्साशास्त्र
१६ डा. राजन भट्टर्राई, चेन्जिंग सेक्युरिटी पर्सेप्सन अफ नेपाल (इन द कन्टेक्स्ट अफ इन्डिया एन्ड चाइना रिलेसन)
१७ डा. रामशरण महत, अर्थशास्त्र
१८ डा. ल्हारक्याल लामा
१९ डा. विजय कुमार सिंह, मेडिसिन
२०. प्रा. डा. शशांक कोइराला, चिकित्साशास्त्र
२१. डा. शिवजी यादव सिभिल, इञ्जिनियरिङ्ग
२२. डा. शेखर कोईराला, चिकित्साशास्त्र
२३ डा. सुवोध कुमार पोखरेल, चिकित्साशास्त्र
२४ प्रकाशशरण महत, अर्थशास्त्र
२५.मीनेन्द्रप्रसाद रिजाल, व्यवस्थापन
२६. के. पी. शर्मा ओली, अनररी पी.एच.डी. (डा. उल्लेख गर्दैनन्)
स्राेत-कान्तिपुर
Comments are closed.