एकराज गिरी
पोखरा १० बैशाख ।पोखराको मासबारमा रहेको ह्याप्पी बोर्डिङ स्कुलमा तोडफोड गरेको आरोपमा अनेरास्ववियू स्कुल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतम बुधबार पक्राउ परेका छन् । मंगलबार स्कुलमा तोडफोड गरेको भन्दै कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका गौतमलाई कास्की प्रहरीले बुधबारै सार्वजनिक अपराध मुद्धामा म्याद थप गरेको छ । बुधबार पक्राउ गरिएका गौतमलाई सात दिन म्याद थप गरिएको कास्की प्रहरी प्रमुख हरिबहादुर पालले बताए । पक्राउ परेका गौतमलाई वडा प्रहरी कार्यालय बैदामको हिरासतमा राखिएको छ । गौतमसँगै गएका अखिल क्रान्तिकारीका अध्यक्ष कृष्णराज दाहाल विरुद्ध भने उजुरी नपरेको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख पालका भने, ‘उजुरीमा दाहालको नाम छैन । गौतमको बयानबाट के आउँछ, अनि थाहा हुन्छ ।’ जिल्ला शिक्षा कार्यालय कास्कीमा आयोजना गरिएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनलाई पक्राउ गरिएको हो । अनुमति विना संचालन गरेको भन्दै गौतम र अखिल क्रान्तिकारीका कृष्णराज दाहालले विद्यालयमा तोडफोड गरेका थिए ।
यता निजी विद्यालयमा गरिएको शुल्क बृद्धि र अनुमति विना संचालन भएका विद्यालयको खारेजी र पक्राउ गरिएका विद्यार्थी नेताको रिहाइको माग गर्दै कास्कीका विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले निजी शैक्षिक संस्था बन्द लगायतका कार्यक्रम घोषणा गरेका हुन् । आन्दोलन अन्र्तगत विहीबार कुनैपनि सरकारी सवारी साधन संचालन गर्न नदिने, बैशाख ११ गते निजी शैक्षिक संस्था बन्दको घोषणा गरेका छन् । अनेरास्ववियू क्याम्पस जिल्ला कमिटी अध्यक्ष अर्जुन अधिकारीका अनुसार गौतमलाई रिहाई नगरे १२ गतेदेखि अनिश्चितकालिन शैक्षिक आमहड्ताल घोषणा गरिने बताए ।अनेरास्ववियूका, अनेरास्ववियू क्रान्तिकारीका, नेविसंघ कास्की, अनेरास्ववियू क्रान्तिकारी, अखिल छैटौ, अग्रगामी विद्यार्थी मोर्चाका नाममा आन्दोलनका कार्यक्रमसहित संयुक्त विज्ञप्ति आएको हो ।
उनीहरुले निजी विद्यालयमा गरिएको शुल्क वृद्धि तत्काल खारेज गर्न र राज्यले अवैधानिक घोषणा गरेका शिक्षण संंस्थाहरू तत्काल बन्द गर्न गरेको आग्रहलाई वेवास्ता गर्दै जिल्ला शिक्षा कार्यालय शैक्षिक माफियाको चंगुलमा परेको आरोप विद्यार्थी संगठनले लगाएका छन् ।विद्यार्थी संगठनले बुधबार घोषणा गरेको आन्दोलनका कार्यक्रम र ह्याप्पी बोर्डिङमा भएको तोडफोडमा आप्mनो संलग्नता नभएको नेपाल विद्यार्थी संघले जनाएको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सरोज केसीले नेवि संघको तोडफोड र बन्द, हड्तालप्रति समर्थन नभएको बताए । ‘अनुमति विना संचालन भएका स्कुल बन्द र महङ्गो शुल्क विरुद्धको आन्दोलनमा हाम्रो समर्थन छ तर बन्द, हडताल र तोडफोडमा समलग्नता छैन्’ उनले भने ।
नेविसंघ कास्कीका संयोजक सुवास कोइरालाले पनि तोडफोडप्रति आफुहरुको सहभागीता नभएको बताए । अनुगमनमा पनि सवै संगठनलाई दिएर जानुपर्नेमा दुई जना मात्रै भएको उनले बताए ।यता अनेरास्ववियू केन्द्रीय सदस्य नरेश रोकायाले भने नेविसंघ सहभागी नभएपनि गौतमको रिहाईको माग गर्दै घोषणा गरिएको आन्दोलन जारी रहने बताए ।
Comments are closed.