पाेखरा २५ फागुन । कुनै जमाना थियो पोखरा कन्दरा व्याण्ड भन्ने वित्तिकै विवेक श्रेष्ठलाई सम्झीहाल्थे । उनको आवाजको पोखरा मात्रै होइन देशभर नै चर्चा हुन्थ्यो । १६ बर्षको उमेर मै गीत गाएर संगितप्रेमीको मन जितेका विवेकले २१ बर्षपछि फेरी पोखरेलीलाई एकल साँझ मार्फत पुरानै प्यास मेटाइदिएका छन् । शनिबार पोखरा नदिपुरमा भएको एकल साँझमा उनले नयाँ पुराना थुप्रै गीत गाए ।
विवेकले कन्दरा व्याण्डको नयाँ गीत, भेडी गोठैमा (सरुभक्त श्रेष्ठद्धारा लेखिएको), तिमी पारी, चन्चले कान्छी, लेककी हे माया गाउँदै गर्दा अधिकांश दर्शकहरु सिटबाट उठेर नाच्न थालिसकेका थिए भने हङकङ पोखरामा त सबैजसो दर्शकहरु नाचिरहेका थिए ।
बगालेटोलको सडकमा सौर्य वत्ति जडान गर्न आवश्यक रकम जुटाउने उद्देश्यका साथ बगालेटोल टोल सुधार समिति र बगालटोल सामुदायिक विकास केन्द्र पोखराले विवेकलाई एकल साँझमा उभ्याएको हो । धेरैले विवेक श्रेष्ठलाई पप गीत मात्र गाउने गायकका रुपमा चिनेका थिए । उनको पप गीत गाउने परिचयलाई चिर्दै नेपालका विभिन्न स्रष्टाहरुको कालजयी आधुनिक तथा लोकगीतहरु पनि गाए र उनको गायकीमा झमे पोखरेली । उनले गाउँदै गए दर्शकले वान्स मोर भन्दै गए । उनको नयाँ एल्बमको जिज्ञासा राखेका दर्शकलाई भविश्यमा नै कन्दरा ब्याण्डबाट एल्बम निकाल्ने वाचा गरे ।
गोपाल योञ्जनको “धेरै छ गर्नु स्वदेशको सेवा” बोलको गीतबाट उक्त एकल साँगीतिक साँझको आरम्भ गरेका श्रेष्ठले गुलाम अलिको “लोलाएका ती ठूलाठूला आँखा”, बच्चु कैलाशको “तिमीले त हैन”, दिप श्रेष्ठ, अरुण थापा, नारायण गोपालका अति कर्णप्रिय गीतहरुलाई आफ्नो आवाजमा सुनाए । दर्शकहरुसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना बितेका बाल्यकाल, युवा अवस्था आजको दिनसम्म उनका घटनाहरु सुनाउँदै गीत गाउँदै गर्दा दर्शक दीर्घाबाट वान्स मोरका आवाजहरु धेरै पटक गुञ्जिएका थिए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठद्वारा लेखिएको “हङकङ पोखरा, निर्मोही आफ्नो को छ र” गीतबाट चर्चामा आएको कन्दरा व्याण्ड र विवेक श्रेष्ठले नेपाली साँगीतिक आकाशमा धेरै अर्थ राख्ने स्व. विनोद गौचन, स्व. प्रविण गुरुङ, स्व. सरोज गोपाल, स्व. अरुण थापा र स्व. नारायण गोपाललाई श्रद्धान्जली दिंदै उनीहरुको कालजयी गीतहरु गाउँदा दर्शकहरु उनको स्वरमा लठ्ठीएका थिए ।
कार्यक्रम सक्किएको जानकारी कार्यक्रम सञ्चालक कृष्ण मर्सानीले दिईसक्दा पनि दर्शकहरु टसमस नगरी बसेका थिए । तर, समयको ख्याल राख्दै विवेक श्रेष्ठलाई हङकङ पोखरा गीत पुनः गाउन अनुरोध गरेपछि उक्त गीतका साथमा कार्यक्रम सम्पन्न भएको जानकारी विवेक श्रेष्ठ आफैले दिएपछि मात्र दर्शकहरु कार्यक्रम सक्किएछ भनेर हलबाट बाहिरिएका थिए ।
कार्यक्रम समापन पछि आयोजक दुई संस्थाका तर्फबाट विष्णु अल्पविरामले गायक विवेक श्रेष्ठ र संगीतकार सुनिल थापालाई मायाको चिनोबाट सम्मान गरिएको थियो भने उनलाई गायनमा साथ दिने अजुदा थापा र संगीतमा सुनिल थापा, महिपाल लामा, राजा मुखिया, अमित गुरुङ, दानबहादुर मगरलाई खादाबाट सम्मान गरिएको प्रचार समितिका संयोजक दिलिप दोषीले बताए ।
कार्यक्रममा करिव ४ लाख जतिको विज्ञापन व्यानरहरु आएको र करिव २ लाख ९० हजार जतिको टिकट विक्री भएको अनुमान गरिएको छ । सबै तथ्याङ्कहरुआई सकेपछि उक्त साँझको आय व्यय सार्वजनिक गर्ने र त्यसको लगत्तै सौर्य बत्ति जडानका लागि कोटेशनहरु माग गरिने आयोजक संस्था मध्येका एक बगालेटोल सामुदायिक विकास केन्द्रका अध्यक्ष नीरा श्रेष्ठले जानकारी दिए ।
Comments are closed.