३० रुपैयाँमा विश्वयुद्ध लडेका पोखराका १०१ वर्षे लालबहादुर

w5Yb2fhपोखरा २७ बैशाख/ लालबहादुर गुरुङ हालसालै १ सय १ वर्ष पूरा भए । जीवनमा धेरै उकाली ओराली बेहोरे । पोखरा उपमहानगरपालिका १२ का उनी एक शताब्दीबाट उकालो लाग्दा पनि लालबहादुर तगडा छन् । उनमा कुनै रोग छैन, हरपल हाँसिमजाक गर्न रुचाउँछन् ।
आङै सिरिङ पार्ने घटनाका तिखो वाण पनि हृदयमा लागे । युद्धको मैदानमा गोली लागेर ढलेका मित्रलाई वेवास्ता गरी शत्रुलाई तिर हान्न अघि सर्नुपरेको वाध्यताका स्मृति पनि उनीभित्र थुप्रै छन् ।
लालबहादुरले लगातार ५ वर्ष दोस्रो विश्वयुद्ध वर्षसम्म लडे । सँगै गएका साथीलाई युद्धको मैदानमै गुमाए । तर, आफूलाई भने सकुशल घर फिर्ती गराउन सफल भए उनी । तिनै वीर गोर्खाली लालबहादुरसँग बेरसिला युद्धकालीन अनुभूति छन् ।
दोस्रो विश्वयुद्धताका ब्रिटिश सैनिकका गल्लाहरु युवाहरुको खोजी गर्दै नेपालका गाउँ डुल्ने गर्थे । लालबहादुरलाई पनि तिनै गल्लाहरुले देश विदेश घुम्ने अनि लाहुरे भएर पैसा कमाउने लोभ देखाए । लालबहादुर युवा हुँदाका बखत ‘लाहुरे’ बन्ने सपना धेरै नेपाली युवाहरुको शानको विषय थियो । उनलाई पनि ३० वर्षको उमेरमा लाहुरे बन्ने सपनाले तान्यो । त्यतिबेला बिहे पनि भइसकेको थियो उनको ।
होचो कदका लालबहादुरको खाइलाग्दोे शरीर देख्दा ३० वर्ष पुगेको कसैले लख पनि काट्दैनथे । त्यसैको फाइदा लिए उनले । ‘३० वर्ष पुगिसकेको थिएँ १८ वर्ष भनेर गल्लावालालाई ढाँटे’ लालबहादुर भन्छन्, ‘छाती, उचाइ पनि नापेन । लडाकु कम भएर होला हामीलाई यसै भर्ती गरायो ब्रिटिसले ।’
सन् १९४५ मा नेपालबाट १५ दिन हिँडेर गोरखपुर पुगे लालबहादुर । उनका समूहमा ९ र १० जना नेपाली थिए । त्यहाँ भर्ती हुनको लागि छनौट भयो । लालबहादुर छनौटमा पास भए । ‘छ महिना देहरादुनमा तालिम भयो त्यसपछि बम्बई लगेर लडाईंमा जानको लागि पानी जहाजमा लोड गरियो ।’ धुमिल भइसकेका युद्धकालीन स्मृति पुनर्ताजगी हुँदा उत्साही पनि हुँदै थिए लालबहादुर ‘गर्मी हावा, लगातार ९ दिन ९ रातको जहाज यात्रा । कति साथीहरु त छाद्ने, छेर्ने गर्न थाले । धन्न मलाई भने केही भएन ।’
बम्बई हुँदै जहाजमा इराक लगियो उनीहरुलाई । इराकमा ६ महिना लडाईंकै तयारीमा बिताए उनीहरुले । ‘इराकमा ९ सय ६४ जना कैदी साथीहरु छुटायौं ।’ उनले थपे, ‘इराकपछि साइप्रस गयौं ।’ साइप्रसबाट भने गोर्खाली प्लाटुन इजिप्टको राजधानी कायरोमा लगियो । गोर्खाली कम्पनीमा लालबहादुर सहित ८ जना थिए । ‘जर्नेल मिस्टर चर्चिल’ को कमाण्डमा लालबहादुरको कम्पनी थियो । कायरोमा सिक्ने क्रममा बम पड्किएर धेरै नेपालीको ज्यान गयो । ‘भात खाएर सिक्न गाथेँ, मेरै साथीपनि भुक्लुक भुक्लुक ढले’ उनले थपे, ‘गल्ती सिकाउनेको थियो ज्यान गोर्खालीको गयो ।’
१९४५ को लडाईं अन्तिम हुने समय इटलीमा युद्धको अग्रभागमा पुगेका थिए लालबहादुर । इटलीको राजधानी रोम पुगेपछि पालो आयो ग्रिनेट, राइफल पड्काउने । ‘बिहान रोटी तरकारी खायो युद्धमा गयो ।’ लडाईंको अग्रपंक्तिमा पुग्दा झण्डै ७० वर्षकोअघिको स्मृतिमा पुगे लालबहादुर, ‘इटलीमा शत्रुले कतिबेला आक्रमण गर्छन् थाहा हुन्थेन । हामी पनि आक्रमण कतिबेला गर्ने तयारीमा हुन्थ्यौं ।’
रोममा लडाईं हुँदाको एक दुःखद सम्झना आँखामा नचाउँदै लालबहादुर भन्न थाले, ‘डाँडो जस्तो ठाउँ थियो । हामी एक कम्पनी गोर्खा बिहानै डिफेन्स क्याम्पबाट सर्चमा निस्किएका थियौं । परर मेसिन गन पड्किन थाल्यो । हरियो निलो गोली आउँथ्यो । कुनै टाउको माथिबाट उड्थ्यो ।
कुनै खुट्टा छोएर जान्थ्यो । हामी आत्तिन थाल्यौं । यसो अगाडिको साथीतिर हे¥यो, अघिसम्म तगडा साथी पुक्लुक्क ढल्थ्यो । साथीहरु तितरबितर भए । को कता छन् थाहा छैन । कमाण्डरले निस्किने आदेश दिएपछि निस्किनुपथ्र्यो । तर म एक्लै भएँ ।
गोली यता र उताबाट उडिरहेको थियो । मध्यरात भइसक्यो साथीहरु कोही निस्किँदैनन् । एक्लै भएपनि निस्किन्छु भनेर अघि सरें । फेरि गोली आयो । टाउकोको हेलमेट छोएर गयो । जे सुकै होस् भनेर निस्किएर सेल्टरमा पुगें । पछि पो थाहा भयो, म एक्लै रहेछु सेल्टर फर्किने ।’hfXyUo2
आफूहरुले गरेको योगदानबारे पल्टनबाटै तत्कालिन नेपालका प्रधानमन्त्री जुद्धशमशेरलाई पत्र पनि लेखेका थिए । ‘अरुलाई चिठी लेख्न आएन । मैले नै लेखेँ’ उनले भने, ‘तीनवटा श्री लेखेर सरकार जुद्धशमशेरको नाममा पत्र लेखें ।’ तर, उनको हिसाबमा युद्ध लडेबापत पाउने तलब भने निकै कम थियो । महिनाको ३० भारतीय रुपैयाँ तलब लिएर ज्यान हत्केलामा राखेर लडुँ कि नलडुँ हुन थाल्यो उनलाई । सँगैका साथीहरु सकिइसकेका थिए । मनमा आफ्नै डाँडा पाखा, आफन्तका मायालु व्यवहार नाच्न थाल्यो । उनले ज्यान हत्केलामा राखेर लडाईंको मैदानमा गरेको साहस र पाएको तलबको हिसाब गरे । ‘३ वर्षको तलब हिसाब गरें जम्मा ७ सय भारु हुने रैछ ।’ तलब र योगदान कहिँकतै मिलेझैं लागेन उनलाई ।
त्यसैले आफ्नै देश फर्किने निर्णय गरे । प्लाटुन कमाण्डरले त्यतिबेला सम्झाएका पनि थिए । लडाईं पनि सकिएको थियो । बरु श्रीमती यतै लिएर आइज । घरै नबस यति लडिसकेपछि किन बिचमै छोड्छस् । तर, लालबहादुरलाई त्यो कुरा चित्त बुझेन । आफ्नै देश फर्किने निर्णय गरे ।
लडाईं सकिएँदा उनी फ्रान्स थिए । सन् १९५७ को अप्रिल महिनामा फ्रान्सबाट घर फर्किए । नेपाल आएपछि एक पटक पनि सम्पर्क गरेनन् उनले । अहिलेचाहिँ त्यतिबेला पल्टन नफर्किएर बुद्धि नपुगेझैं लाग्छ उनलाई, ‘कमाण्डरले भनेका कुरा अहिले मनमा तेर्सो परेको छ । त्यतिबेला बुद्धि पुगेनछ ।’                                                       प्रतिमा सिलवाल÷चक्रपथ

Comments are closed.