३६५ दिन नै विपीका सिद्धान्तलाई टेकेर नेपाली काँग्रेस अगाडि बढनुपर्छ ः मन्त्री थापा

४० औं विपी स्मृति दिवसका अवसरमा पोखरा महानगर समितिले बिहिवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले विपीका विचारलाई अनुसरण गर्दै काङ्ग्रेस अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । ४० औं विपी स्मृति दिवसका अवसरमा पोखरा महानगर समितिले बिहिवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री थापाले विपी राष्ट्रियता, प्रजातन्त्र र समाजवादको अनुयायी भएकाले उहाँले गर्नुभएका कार्यलाई अनुसरण गर्दै अगाडि बढेमात्र सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । विपीलाई एक दिन मात्र सम्झेर नहुने र ३६५ दिन नै विपीका सिद्धान्तलाई टेकेर नेपाली काँग्रेस अगाडि बढनुपर्ने आवश्यकतालाई मन्त्री थापाले औंल्याउनुभएको छ ।
स्थानीय निर्वाचनमा भएका कमीकमजोरीलाई समिक्षा गर्दै आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि निर्वाचनमा काँग्रेसलाई जिताउन सबैले महत्वपुर्ण भूमिका खेल्नुपर्ने धारणा उहाँको छ । मन्त्री थापाले नेपाली काँग्रेस पोखरा महानगर समितिले गरेका कार्यक्रमको प्रशंसा गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाल काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला ‘मधु’ ले विपीले सँधै ग्रामीण मुखी विकास नै समाजवाद भएको भन्ने गरेको र विपी कै कारण नैसर्गिक अधिकार प्राप्त भएको उल्लेख गर्नुभएको छ । संविधान सभा सदस्य शारदा पौडेलले विपीका वाणीको सम्मान र कदर गरे मात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो । संविधान सभा सदस्य कृष्ण कुमारी परियारले नेपाली काँग्रेस अब काम प्रति बढी चासोका साथ लाग्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो ।क्षेत्रीय सभापति राजेन्द्र मणी लामिछानेले विपीका विचारमा नै वर्तमान राजनीति केन्द्रित हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । जनप्रतिनिधिलाई जनताको सेवामा समर्पित हुन उहाँले आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस कास्कीकी पूर्व कोषाध्यक्ष लक्ष्मी पाण्डेले विपीले प्रतिपादन गरेका कुरालाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले बिर्सदै गएको बताउनुभयो । पार्टीलाई संगठीत बनाउनुपर्ने आवश्यकता प्रति उहाँको जोड थियो ।
स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली काँग्रेस हार्नु भनेको लज्जास्पद भएको र समिक्षा गर्नुपर्ने धारणा उहाँले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा डा. दिपक केसीले रक्तदानको महत्व र फाइदाका विषयमा प्रकाश पार्नुभएको थियो । नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेले आगामी दिनमा समितिले अझै रचनात्मक कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई महासचिव टुकराज बास्तोलाले संचालन गर्नुभएको थियो ।

Comments are closed.