४१ वर्षपछि आमा छोराको भेट ः गाउँभरि खुशीयाली

८ चैत, इलाम । इलामको माई नगरपालिका–१०, लुम्बाकमा आइतबार दिउँसो बेग्लै उल्लास थियो । गाउँभरिका मानिस घिमिरे गोलाइमुन्तिर लामबद्ध भएर बसेका थिए ।

उनीहरुको सबैको चासो थियो, ४१ वर्षअघि हराएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कस्ता भएछन् ?
भीडभन्दा केहीपर भुइँघरको दलानमा टुक्सुक्क बसेकी थिइन्, ८६ वर्षीया धनमाया तिम्सिना । उनी वेलावेला सडकतिर हेरिरहन्थिन्, फर्किएर पुरानै ठाउँमा आउँथिन् ।

दिउँसो साढे ३ बजेतिर चोकमा दुई वटा गाडी लस्करै प्रवेश गर्यो । अघिल्लतिरको गाडीमा थिए, दीपक । उनी ओर्लिने वित्तिकै भीडले घेरिहाल्यो । कान्छा छोरा धर्मानन्द लगायतले दोहोर्याउँदै उनलाई आमा भएतिर ल्याए ।

 

चार दशकपछि छोरा भेट्दा धनमाया निःशब्द भइन् । छोराले पनि बोल्न सकेनन् । धनमायाले दुर्गाप्रसादलाई मुसारिन् र, मुख खोलिन्, ‘बिरामी छ कि क्या हो, बोल्दैन त !’

लगलग कामिरहेका दुर्गाप्रसाद टोलाइरहे, बोलेनन् ।

स्थानीयले दुर्गाप्रसादलाई माला लगाइदिए । उनलाई लिन कोलकाता पुगेका भाइ प्रकाशचन्द्रले मिठाइको बट्टा निकाले । वेस्ट बंगाल रेडियो क्लबका अध्यक्ष अम्बिरसनाग विश्वासले पठाइदिएको मिठाइ भन्दै आमालाई खवाइदिए ।

आमाले दुर्गाप्रसादलाई मिठाइ खुवाइदिन खोजिन् तर, खाएनन् । केहीवेरमा कोलकाताबाट उनलाई ल्याएका भाइ प्रकाशचन्द्र तिम्सिनाले उनलाई मिठाइ खुवाइदिए ।
छोरालाई देख्ने वित्तिकै चिन्नुभयो त ?’ पत्रकारको प्रश्न भईँमा खस्न नपाउँदै उनी हाँस्दै बोलिन्, ‘सुरुमा त झण्डै चिनिन पो ! फोक्से मासु लागेर विग्रिएछ ।’

वर्षौपछि छोरा आउँदा खुशी लागेको उनले बताइन् । तर उनले धित मर्ने गरी कुरा गर्न पाएकी छैनन्, यात्रो वर्ष कसरी वितायौं भनेर सोध्न पनि पाएकी छैनन् ।

‘के सोध्नु र ! बोल्न त सक्दो रहेनछ’, आमा धनमायाले पत्रकार सँग भनेकी छन् ।

 

तर उनको मानमस्तिस्कमा छोरा १९ वर्षको छँदा एकतप्पाबाट हिँडेको चार दशक पहिलेको हरेक क्षण ताजै छ । ‘तोरी टिपेर बेच्न मंगलबारे जान्छु भनेर हिँडेको थियो’, उनले सुनाइन्, ‘खै.. २०–२५ रुपैयाँ पाएछ, त्यही लिएर कहाँ गयो, गयो ।’

उनकाअनुसार २०२४ सालमा श्रीमान्को मृत्यु भयो, दुर्घटनामा परेर उनको पनि हात काट्नुपर्यो । त्यसपछि परिवारको जिम्मेवारी दुर्गाप्रसादको काँधमा आइपुग्यो । त्यसपछि दुर्गाप्रसादले ‘यहाँ दुःख हुन्छ, कमाएर ल्याउँछु’ भन्ने गरेको धनमाया सम्झन्छिन् ।

तर, हराएको वेला चाहिँ आफूलाई थाहै नदिइ दुर्गाप्रसाद हिँडेको उनी दुःखेसो गर्छिन् । ‘इलाममा आफन्तले देखेका रैछन्, गाडीमा चढेर गयो भनेका थिए’, धनमायाले ४० वर्ष अघिको कुरा सुनाइन्, ‘रोक्छन् कि भनेर लुक्दैलुक्दै हिँडेछ ।’

 

मंगलबारे हुँदै दार्जिलिङ पुगेपछि दुर्गाप्रसादलाई हत्या अभियोग लाग्यो । १ नम्बर प्रदेशका प्रदेशसभा सांसदसमेत रहेका उनका आफन्त धिरेन्द्र शर्माका अनुसार जुनु गुरुङको हत्या गरेको अभियोग उनीमाथि लगाइएको थियो ।

किटानी जोहरीलाई उदृत गर्दै शर्माले भनेअनुसार गुरुङको शव दार्जिलिङको एक खोल्सामा भेटिएको थियो । अनुसन्धानका लागि खटिएको प्रहरीले नेपाली मुलको व्यक्ति घटनामा संलग्न रहेको जानकारी पायो ।

घटनास्थल नजिकै एक जना खैरो ज्याकेट र कोठे सर्ट लगाएको नेपाल घर बताउने मानिस बसेको नजिकै रहेको विद्यालयका विद्यार्थीले प्रहरीलाई बयान दिए । त्यही आधारमा प्रहरीले दुर्गाप्रसादलाई पक्राउ गरेको कागजातबाट देखिने शर्मा बताउँछन् ।

‘जाहेरीबाहेक उनीविरुद्ध कुनै प्रमाण छैन’, शर्माले भनेका छन् ‘त्यसपछि हत्या भएको भन्ने पक्षबाट कुनै फलोअप पनि छैन र घटनाको मुचुल्का पनि देखिँदैन ।’ प्रहरी अनुसन्धानबाट प्रमाणित हुने कुनै आधार भेट्टाएन । तर अदालतले दुर्गाप्रसादलाई मानिसक रुपमा कमजोर करार गरिदिएको उनको दाबी छ ।

आमा धनमाया पनि छोराले कसैको हत्या ग¥यो होला भन्ने विश्वास नरहेको बताउँछिन् । उनी भन्छिन्, ‘सोझो थियो, जग्गा किन्छु भन्थ्यो, जेल हाल्दिएछन् ।’

धनमायामा अनुसार उनलाई एक दिन छोरा आउँछ भन्ने लाग्थ्यो । तर कुनै अत्तोपत्तो थिएन । ‘पोहोर दार्जिलिङमा रहेको थाहा पाएपछि झन धेरै आश लाग्यो’ उनले सुनाइन् ।छोरा वेपत्ता भएको केही वर्षपछि धनमाया पनि आफन्त केदारनाथ बसेकाले लुम्बाकतिर बसाइँ सरेकी थिइन् । दुर्गाप्रसाद आइतबार त्यही पुगेका छन् ।
भाइ प्रकाशचन्द्रका अनुसार दाजुको ब्रतबन्ध गरिदिने परिवारको योजना छ । त्यो भन्दा पहिले उपचार गर्नुपर्नेछ ।
‘विभिन्न सरकारी अस्पतालमा कुरा गर्नुपर्ला, नभए सहयोगीहरु पनि खोज्नुपर्ला’, आफन्त धिरेन्द्रले अनलाइनखबरसँग भने, ‘अब पहिलो प्राथमिकता उपचार नै हो ।’उनको मुद्दा पनि टुंगिएको छैन । दुर्गाप्रसादको पक्षमा बहस गरेका उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा उनीमाथि लागेको आरोपको विषयमा फैसला भइनसकेको बताउँछन् । उनी भन्छन्, ‘सोमबार फेरि सुनुवाइ हुँदैछ, उनीमाथि लागेको अभियोगको छिनोफानो हुन अझै समय लाग्छ ।’अधिकांश समय मौन रहने दुर्गाप्रसादको मुखबाट बेलाबेला दुई÷चार शब्द निस्किन्थ्यो । छेऊमा आएका आफन्तले सामान्य परिचय दिएपछि उनले मुन्टो हल्लाउँथे, चिनेको संकेत दिन्थे ।

उनको मौनता तोड्न नाती गोपाल तिम्सिनाले ‘अब बुहारी र ठूलो ममीसँगै ल्याउनुपर्छ’ भन्दै ठट्टा गरे । अरु बेला चुपचाप बसिरहने दुर्गाप्रसाद नाती बोलेपछि भने हाँसे । गोपालले फेरि थपे, ‘कि गर्लफ्रेण्ड पो छ कि ! बिहे गर्नुपर्छ ।’ त्यसपछि चाहिँ उनले मुस्कुराउँदै मुख खोले, ‘गर्दिन ।’

घरमा उनले धेरै कुरा गरेका छैनन् । कतिपय वेला चाहिँ उनी आफैं गीत गुन्गुनाइदिन्थे । नाती गोपालका अनुसार उनले पुरानो हिन्दी गीत गाएका हुन्, तर बोली स्पष्ट बुझिँदैथ्यो ।
अदालतमा पेश गरिएको उनको मानिसक स्वास्थ्य जाँचको रिपोर्टले पनि दुर्गाप्रसाद ९÷१० वर्षको बच्चाको जस्तो हालतमा रहेको देखाएको छ ।
तर परिवारका सदस्यहरुले भने लामो समय जेलमा बसेका उनी डराएको हुनसक्ने बताउँछन् । आइतबार साँझसम्मको उनको हाउभाउ हेर्दा भने उनी विस्तारै खुल्दै गएको देखिन्थे । साँझतिर उनी आफैं आँगनमा निस्किए र हात खुट्टा धोए । त्यसपछि कोठातिर लागे । अनलाइन खबर बाट साभार

Comments are closed.