सात नेपालीले आइपीएलका पुरै खेलाडीकाे सुरक्षा

  • सुरक्षा दिनेमा ५ जना सेनाका पूर्वअधिकृतहरू

चैत्र २०/  भारतका विभिन्न सहरमा आगामी अप्रिल ८ देखि सुरू हुन लागेको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा खेलाडीहरुको सम्पूर्ण सुरक्षा जिम्मा ७ जना नेपालीले पाएका छन्। ७ मध्ये ५ जना नेपाली सेनाका पूर्वअधिकृतहरु रहेका छन्। खेलाडीहरुको सुरक्षाको सम्पूर्ण जिम्मा पाएको दक्षिण अफ्रिकाको निकालोस यसट्यान प्रालिले नेपालका ७ जनालाई सुरक्षाको अख्तियारी दिएको हो।

नेपाली सेनामा पूर्व क्याप्टेन सन्जु कार्की, रविन राणा, पूर्व कर्नेल अरुणजंग थापा, पूर्व मेजर संजय रायमाझी, र रोहित रायमाझी लगायत रविनका भाई र अर्का एक जना नेपालीले सुरक्षाको जिम्मेवारी पाएका हुन्।

उनीहरुलाई सुरक्षा अफिसरको पोस्ट दिइएको छ। उनीहरुले खेलाडीहरुलाई होटल, खेल मैदानसम्म आवतजावत गर्दा र खेल मैदानका लागि विशेष सुरक्षा दिनेछन्। सुरक्षाको जिम्मेवारी पाएका ७ जानै नेपाली भारत प्रस्थान गरिसकेका छन्। खेलका दौरानमा विदेशका समेत सेलिब्रेटी खेलाडीहरुको उपस्थित रहने र उनीहरु बसेको स्थानदेखि ग्राउन्डसम्मको सुरक्षाको समन्वय गर्ने जिम्मा आफूहरुले पाएको जावलाखेलस्थित बरदान सेक्युरिटिज प्रालिका म्यानेजिङ डाइरेक्टर समेत रहेका सन्जु कार्कीले सेतोपाटीलाई जानकारी दिए।

आइपीएलका लागि कति सुरक्षाकर्मी पहिचालन हुन्छ त्यो भने गोप्य राखिएको छ । सुरक्षाको जिम्मा पाएको निकालोस, भारतीय प्रहरी र होटलका सुरक्षाकर्मीले पनि खेलाडीहरुलाई सुरक्षा प्रदान गर्नेछन्। प्रतियोगिताको संचार माध्यम र प्रोडक्सन क्रिउको जिम्मा पनि निकोलासले नेपालीलाई नै दिएको छ।

आइपीएलको दोस्रो संस्करणमा नेपालीहरुलाई सुरक्षाका लागि ट्रायलमा लगिएको थियो । पछि निकोलासले नेपालीको इमान्दारीता र विश्वासका कारण सुरक्षा अफिसर नै बनाएको हो।

Comments are closed.