साउन २८, पोखरा
कम्पनी गठन गरी ५ वटा भन्दा बढी बस आयात गरेमा ९५ प्रतिशतसम्म भन्सार छुट दिने सरकारको नीतिप्रति व्यवसायीले चर्को विरोध गरेका छन् । यातायातको संख्या बढाउन भन्दा पनि पुराना सवारीलाई बिस्थापन गर्ने नीति सरकारले लिनुपर्ने उनीहरुको माग छ । विदेशी गाडीमात्र भित्र्याएर संख्या बढाउँदा सडक अभाव हुने र यातायात व्यवसाय नै भद्रगोल हुने व्यवसायीहरुले बताए ।
पृथ्वी राजमार्ग बस सञ्चालक समितिको ४५औं वार्षिक साधारणसभाको उद्घाटनका अवसरमा बुधबार बोल्ने वक्ताहरुले व्यवसायीहरु एक भएमात्र यातायात क्षेत्रमा भएका समस्याहरु समाधान गर्दै व्यवसायिक हकहितको पक्षमा आवाज उठाउन सकिने धारणा राखेका छन् । यातायात क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न आम व्यवसायी एक हुनुपर्ने व्यवसायीहरुले बताए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले अहिलेसम्म बनेका कुनैपनि सरकारले यातायात व्यवसायीको समस्या बुझ्न नसकेको धारणा राखे । ‘जुन पार्टीको सरकार आएपनि यातायात व्यवसायीको समस्या बुझेको पाइएन,’ साधारण सभाको उद्घाटनका क्रममा बोल्दै उनले भने, ‘हाम्रो समस्या समाधानका लागि हामी व्यवसायी नै एक हुनुपर्छ ।’ बारम्बार प्रधानमन्त्रीलाई भेटेर यातायात व्यवसायीको समस्याका बारेमा लिखित रुपमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनले बताए ।
कम्पनी दर्ता गरेर सार्वजनिक बस ल्याउँदा ९५ प्रतिशतसम्म छुट दिने सरकारी नीति यातायात व्यवसायलाई सिध्याउने खेलका रुपमा आएको उनको आरोप छ । अध्यक्ष भण्डारीले भने, ‘सरकारले हाम्रो मागको सुनुवाइ गरेन भने केन्द्रीय कमिटिले देशभरका यातायात व्यवसायीको भेला राखेर नयाँ रणनीतिका साथ अगाडि बढ्नुको विकल्प छैन ।’
महासंघका वरिष्ठ उपाध्यक्ष डोलनाथ खनालले पेशालाई मर्यादित बनाउँदै व्यवसायिक हकहितका लागि महासंघ सधैं लढ्ने भनाइ राखे । ‘सार्वजनिक यातायातका साधन ल्याउँदा दिइने भनिएको छुट पुराना सवारी बिस्थापन गरेर नयाँ साधन ल्याउने व्यवसायीलाई दिइनुपर्छ,’ उनले भने । अर्का वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले प्रतिस्पर्धाका आधारमा आम उपभोक्तामुखी सेवा प्रदान गरिनुपर्ने धारणा राखे । त्यसैगरी अर्का वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले व्यवसायीहरु एकजुट हुँदासम्म सरकारको नीतिले कुनै असर नगर्ने भनाइ राखे ।
महासंघका महासचिव पूण्यप्रसाद सिटौला ‘सरोज’ले देशमा सार्वजनिक यातायात सञ्चालन गरेर देखाउन सरकारलाई चुनौति दिए । यातायात व्यवसायीहरुको संस्थाको नवीकरण नभएमा आन्दोलन गर्न पनि उनले निर्देशन दिए । संस्था दर्ता ऐन २०३४ अन्तर्गत नाफामुलक यातायात व्यवसायी संस्थाहरु दर्ता नहुने हालै गृहमन्त्रालयस्तरीय निर्णय भएको थियो ।
गण्डकी धौलागिरि सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधानले यातायात क्षेत्रलाई आधुनिक, भरपर्दो तथा समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नारायणी बस व्यवसायी समिति हेटौंडाका अध्यक्ष बद्री चौलागाइँले यातायात ऐनलाई पूर्ण रुपमा परिमार्जित गरी यातायातमैत्री ऐन ल्याउनुपर्ने बताए । पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष दधिमान खरेलले सवारी दुर्घटना कटाउनतर्फ सबैको ध्यान जानुपर्ने जिकिर गरे । संघका अध्यक्ष ऐनकुमार साईको अध्यक्षतामा आयोजित साधारणसभाले महासचिव योगेन्द्रबहादुर केसी र कोषाध्यक्ष जसबहादुर गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सचिव युवराज कुँवर, नेकपा एमालेका सचिवालय सदस्य युवराज पौडेल, एमाओवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेल, विप्लव नेतृत्वको माओवादीका मध्य कमाण्ड इन्चार्ज कुमार विक, स्वतन्त्र मजदुर संघ कास्कीका अध्यक्ष विष्णु खत्री, मजदुर संघ कास्कीका अध्यक्ष जीतबहादुर गुरुङ, अखिल नेपाल मजदुर संघ कास्कीका अध्यक्ष सूर्यमणि लामिछानेलगायतले पोखरामा व्यवस्थित र आधुनिक बसपार्क बन्नुपर्नेमा जोड दिएका थिए ।
Comments are closed.