​यसकारण मेरो जमानत जफत भयो-कृष्णबहादुर केसी 

  • पार्टी प्रवक्ता दीननाथ शर्माकै कारण चुनाव हार्ने पक्का थियो । उनले विरामी भएको नाटक गरेर चुनाव नलड्ने निर्णय गरेपछि उम्मेदवारी दर्ता हुने दिन नै मेरो टिकट पक्का भएको हो । यसको फाइदा कांग्रेस र एमालेले उठाए ।

  • चुनावमा अतिशयोक्ति ढंगबाट पैसाको खोलो बग्यो । कांग्रेस र एमालेले करोडौं रुपैयाँ खर्च गरे । दुवै पार्टीले पैसा खर्च गरेर भोट किने त्यही विषयमा कांग्रेस र एमालेले पिटापिट पनि गरे ।

  • पुरानो एमाओवादी पार्टी अब भत्कियो । नयाँ ढंगले पुनर्संरचना नगर्ने हो भने अब पार्टी चल्दैन ।

 वाग्लुङ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा मैले पनि जित्ने त अपेक्षा गरेको थिइनँ । तर साढे ८ हजारदेखि ९ हजार मत आउने अनुमान गरेको थिएँ । पार्टी प्रवक्ता दीननाथ शर्माकै कारण चुनाव हार्ने पक्का थियो ।
उनले विरामी भएको नाटक गरेर चुनाव नलड्ने निर्णय गरेपछि उम्मेदवारी दर्ता हुने दिन नै मेरो टिकट पक्का भएको हो । दुई बजे मनोनयन दर्ता गराउने समय थियो, मेरो उम्मेदवारी त्यसै दिन १२ वजे टुंगो लागेको हो ।
पार्टी प्रवक्ता ब्याक भएपछि म चुनावमा जानुपर्‍यो । यसको फाइदा कांग्रेस र एमालेले उठाए । उनीहरुले माओवादीले हार्ने भएकाले दीननाथले उम्मेदवारी नदिएका हुन्, कृष्ण केसी हार्नका लागि चुनाव उठेका हुन् भनेर प्रचार गरे । यसले हाम्रो मतदातालाई प्रभाव पार्‍यो । हामीले त्यसलाई चिर्न सकेनौं ।चुनावमा अतिशयोक्ति ढंगबाट पैसाको खोलो बग्यो । कांग्रेस र एमालेले करोडौं रुपैयाँ खर्च गरे । दुवै पार्टीले पैसा खर्च गरेर भोट किने । वाग्लुङ नगरपालिका ९ को दलित वस्तीमा अघिल्लो साँझ कांग्रेसले पैसा बाँड्यो, भोलीपल्ट फेरि एमालेले पैसा बाँड्यो । त्यही विषयमा कांग्रेस र एमालेले पिटापिट पनि गरे । दुबैले ‘भोट किन्न पाइदैन’ भनेर वाग्लुङ बजारमा नारा जुलस गरे । निर्वाचन आचार संहिताको खिल्ली उड्यो । सोझा मतदाता पैसाको बाढीमा परे ।हामीले चुनाव प्रचार प्रसारमा पनि कुनै कमी गरेका थिएनौं । आमसभा भन्दा पनि घरदैलोमा विशेष जोड दिइएको थियो । चैत २२ गते गल्कोटमा वरिष्ठ नेता डा. बाबुराम भट्टराईको सहभागीतामा विशाल आमसभा गरिएको थियो । म जिल्ला पार्टीको प्रचार बिभागमा भएकाले प्रचार प्रसारमा पनि कुनै कमी थिएन ।

म यसै क्षेत्रको वासिन्दा र सामाजिक काममा सक्रिय भएकाले धेरै मतदाताको विश्वास जित्ने अनुमान गरेको थिएँ । धौलागिरी अञ्चल अस्पतालको अध्यक्ष हुँदा सुधारका केही काम गरेको थिएँ । जनकल्याण उच्च माविको अध्यक्ष भएपछि पश्चिमाञ्चल राष्ट्रिय शिक्षा पुरस्कार पायो । मैले निर्वाचित भएमा तलब भत्ता नलिने घोषणा गरेको थिएँ । आफुले पाउने पारिश्रमिक पिछडिएका समुदाय र विपन्नको शक्तिकरणमा लगाउने, स्वास्थ्य, शिक्षा, खानेपानीमा लगाउने घोषणा गरेको थिएँ । म वाग्लुङ जिल्लाबाट चुनाव लड्ने पहिलो पिएचडीको विद्यार्थी पनि हुँ ।

चुनावमा जमानत जफत हुनु भनेको कल्पनै गर्न नसकिने कुरा थियो । पार्टीभित्र पनि यसको समीक्षा त होला । मेरो विचारमा पार्टी भग्नावशेष भइसक्यो । यसरी अब पार्टी चल्दैन । चुनावमा धेरै मत ल्याउन नसकेकोमा नैतिक रुपमा म जिम्मेवार त हुँ । म पार्टीको कुनै निकायको प्रमुख भएको भए राजीनामा दिने कुरा हुन्थ्यो । पार्टीले उपनिर्वाचनको कमाण्डर देवेन्द्र पौडेललाई तोकेको थियो । वाग्लुङ जिल्ला इन्चार्ज लिलाबहादुर थापा हुनुहुन्छ । उहाँहरुले पनि यसको जिम्मेवारी लिनुपर्छ । जे होस् पुरानो एमाओवादी पार्टी अब भत्कियो । नयाँ ढंगले पुनर्संरचना नगर्ने हो भने अब पार्टी चल्दैन ।

-चक्रपथ

Comments are closed.