अनलाइनखबरबाट
२७ जेठ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले आफू राष्ट्रपति नबन्ने र सुशील कोइरालालाई नै समर्थन गर्ने बताएका छन् । यसअघि गत साल पौष १५ गते अनलाइनखबरसँगको कुराकानीकै क्रममा प्रचण्डले आफू सेरेमोनियल राष्ट्रपति नहुने घोषणागरिसकेका थिए ।
एमाओवादी अध्यक्ष प्रचण्डले त्यसबेला वाइसिएलको एक कार्यक्रममा घोषणा गरिसकेका थिए कि संवैधानिक राष्ट्रपति हुनु भनेको जेल जानुजस्तै हो । आफू जेल जान तयार नरहेको उनले बताएका थिए ।
आफूलाई मनोनित राष्ट्रपति हुनुभन्दा निर्वाचित राष्ट्रपति बन्ने विचार आएको यसअघि नै स्पष्ट पारेका थिए । अहिले फेरि प्रचण्डले राष्ट्रपति नबन्ने घोषणा गरेका छन् ।
‘उहाँले अहिले आफू राष्ट्रपति नबन्ने स्पष्ट पार्नुभएको छ, प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले प्रचण्डको भनाइ उधृत गर्दै अनलाइनखबरसँग भने, ‘राष्ट्रपतिमा सुशील कोइरालालाई नै समर्थन रहने छ, सुशील नभए कांग्रेसबाट जो भए पनि समर्थन रहनेछ ।’
किन राष्ट्रपति चाहँदैनन् प्रचण्ड ?
एमाओवादी अध्यक्ष प्रचण्ड पार्टीको कार्यकारी पदमा छन् । अझै सक्रिय राजनीति गर्ने उनीसँग उमेर छ । तर, राष्ट्रपति बनेपछि उनले पार्टीमा सक्रिय भूमिका खेल्ने अवस्था रहँदैन ।
यो स्थितिमा संविधान बनिसकेपछि आम चुनाव, प्रादेशिक चुनाव र स्थानीय निर्वाचनमा पार्टीलाई सफलता दिलाउने जिम्मेवारी प्रचण्डको काँधमा बाँकी नै रहेकाले अहिल्यै राष्ट्रपति बनेर प्रचण्डको भूमिकालाई संकुचित पार्न नहुने एमाओवादी नेताहरु बताउँछन् ।
एमालेलाई अप्ठ्यारो
एमाओवादी अध्यक्ष प्रचण्डले आफू राष्ट्रपति नहुने र सुशील कोइराला वा कांग्रेसकै कसैलाई समर्थन गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि यसले एमालेलाई असर पार्ने देखिएको छ ।
केपी ओली प्रधानमन्त्री बनिसकेपछि राष्ट्रपतिमा झलनाथ खनाल वा माधव नेपालले दाबी गर्ने अनुमान गरिँदै आएकोमा अब दोस्रो राष्ट्रपति पनि नेपाली कांग्रेसकै पोल्टामा पर्ने सम्भावना बढेको छ ।
कतिपयले केपी ओली र प्रचण्डको बढ्दो निकटताले एमाले एमाओवादी एलाइन्सको अनुमान गरेका थिए । तर, प्रचण्डले नेपाली कांग्रेससँग पनि सम्बन्ध समानान्तर बनाइराख्ने रणनीति अघि सारेका छन् ।
यद्यपि राष्ट्रपतिमा माधव नेपाल र झलनाथको सम्भावनालाई प्रचण्डले ढाचेका बन्द गरिदिएपछि यसको लाभ एमालेभित्र भावी प्रधानमन्त्री केपी ओलीले लिने लगभग निश्चितजस्तै भएको छ ।
देउवाको भाग्य खुल्ने
नेपाली कांग्रेसको महाधिवेशनअगावै संविधान बन्यो र नयाँ राष्ट्रपतिको चुनाव हुने स्थिति आयो भने सुहील कोइराला शीतल निवास जाने सम्भावना बढेको छ । यो स्थितिमा नेपाली कांग्रेसको नेतृत्व कोइराला खेमाबाट देउवा खेमामा जाने लगभग निश्चितजस्तै बनेको छ ।
यसर्थ सुशीललाई राष्ट्रपतिमा समर्थन गर्ने प्रचण्डको अभिव्यक्तिले शेरबहादुर देउवालाई राजनीतिक लाभ पुग्ने देखिएको छ ।
Comments are closed.