कविता
-मनोज बिराली
….
ओ मलेशियाकी मल्लिका !
तिर्खाएर
नदीमा हामफालेका सडकहरुजस्तै
या भनौ
शीतका चिसा चुम्बनहरुले
प्रत्येक रात कठ्यांग्रिने
तरुनी फूलहरुजस्तै
म मरिरहेछु
ऊसका मांसल नक्कलहरुको
दोभानमा परेर
उसलाई छोएर बहने
बतासको ध्वनि
किन किन मलाई
पोर्न स्टारको
अश्लील आवाजजस्तो लाग्छ
फेसबुकमा राखिने
बेतुकका स्टाटसजस्तै
ऊसका खेलाडी मुस्कानहरुले
घरिघरि आह्वान गिररहन्छन्
उसको ओठमा
मेरो ओठले
बेस्कन हिर्काउन
तर,
ओ मल्लिका !
मेरो शरीर त
रामापिथेकस भन्दा प्राचीन भएको छ
तिम्रो देशका रिङगेटहरुसँग
कुस्ती खेल्दा खेल्दै
उता क्यामेराका ओछ्यानहरुमा
निर्बस्त्र मल्लिकाहरु
यौवन बेच्ने अभिनय गरिरहेछन
यता तिमी
भगवान कसम
पूर्ण पहिरनमा पनि
निर्बस्त्र देखिएकी छौ
लाग्दै छ
यो दूनिया
कामवासना मेटाउने मेहेफिल हो
जहाँ म जस्तै
फगत म जस्तै
कयौ हाईलम्फुहरु
बलात्कृत भईरहेछन् ।
देश छोड्नु भनेको
सबथोक छोड्नु रहेछ
टुहुरा रहर
अर्धमृत सपना
र,
अभाबै अभाबको क्याराभान बोकर
हिडिरहेको
यो बुढो जीन्दगी
अन्तत:
गिलास भित्रको बरफजस्तै
जम्ने बहानामा
बिस्तारै बिस्तारै पग्लिरहेछ
र गुमाउँदै छ
पहिचान बिनाको पहिचान
ओ मलेशियाकी मल्लिका
तिमी र तिम्रो देश त आगो रहेछौ
जहाँ
म सिगरेट भएर
बर्षौ देखि जलिरहेछु ।
साभार-निश्चल प्रदेशिकाे फेसबुक वालबाट
Comments are closed.