चेपाङ बालबालिकालाई ३ सय ५० जोर न्यानो कपडा वितरण

पोखरा, १९ पुस ।
चितवनको सिद्धि गाविसस्थित चेपाङ बस्तीमा पुगेर पोखराका युवाहरुले चेपाङ बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेर फर्केका छन् ।
९ जनाको टोलीले सिद्धि मजबाङको राष्ट्रिय माध्यामिक विद्यालयमा कपडा वितरण गरेका थिए । टोलीले त्यहाँ ३ सय ५० जोर न्यानो कपडा वितरण गरेको जानकारी दिएको छ ।
टोलीमा विभिन्न सामाजिक संस्था र मिडियामा आबद्ध युवाहरु समावेश थिए । सरिता ताम्रकार, संजोग बस्याल, रेम बिक, दिनेश लामिछाने, मिलन शंकर, जिवन गुरुङ, बोधराज रेग्मी, संजय शाक्य र अरुण जिसीको टोलीले सिद्धिका चेपाङ बालबालिकाहरुलाई कपडा वितरण गरेको थियो । स्कुल समय सकिएपछि सिद्धि पुगेको टोलीले बालबालिकाहरुलाई आफ्नै हातले कपडा लगाईदिएर उनीहरुको वास्तविकता नजिकबाट बुझेको समेत थियो ।
कपडा वितरण गरिसकेपछि सिद्धि पुगेका टोलीका सम्पूर्ण सदस्यहरुले चेपाङ बालबालिकाको अवस्था देखेर आफुहरु निकै मर्माहत बनेको प्रतिक्रिया दिए । थोरै भएपछि सहयोग गरेर चेपाङ बालबालिका र अभिभावकहरुको अनुहारमा हाँसो ल्याउन पाउँदा उत्तिकै खुशि लागेको उनीहरुले बताए ।
यसअघि मंसिर २८ गते यहि टोलीले चितवनको कावले गाविसमा पुगेर त्यहाँका चेपाङ समुदायमाझ कपडा वितरण गरेको थियो । तत्कालिन समयमा टोलीले विभिन्न सहयोगदाताहरुबाट कपडा संकलन गरेर ३५ सय पिस कपडा वितरण गरेको थियो । चेपाङ बालबालिकाहरु नयाँ र न्यानो कपडा लाउन पाउँदा निकै मख्ख देखिएका थिए । उनीहरुका अभिभावकले जाडोको समयमा आएर आफ्ना बालबालिकालाई न्यानो कपडा दिएर टोलीले ठुलो गुण लाएको बताए ।
यस्तै, राष्ट्रिय माध्यामिक विद्यालयका प्राचार्य देवकुमार बस्नेतले चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा बाँडेर टोलीले ठुलो सामाजिक कार्य गरेको बताए । उनले यस्तै सहयोगी हातहरुले निरन्तर सहयोग गर्दा चेपाङ समुदायको शैक्षिक स्तर उकास्नलाई आफुहरुलाई पनि साथ दिएको बताए ।
कपडा संकलनमा सरिता ताम्राकारले विभिन्न स्थानबाट ८० जोर, गीतकार सिता शेरचनबाट ८० जोर, बुटवलबाट ६० जोर, लिचिबोट पार्टी प्यालेसबाट राजीव श्रेष्ठले १० जोर, बोधराज रेग्मीले १० जोर, फिल्म निर्देशक नेत्र गुरुङले पाँच जोर र टोलीमा रहेका अन्य सदस्यले बाँकी कपडा किनेका थिए । यस्तै, विभिन्न फेन्सी स्टोर्सहरुले पनि यो अभियानमा टोलीलाई सहयोग गरेका थिए ।

Comments are closed.