फेरी बल्झियो फुटपाथ समस्या, सडकमै व्यापार गर्न पाउनुपर्ने व्यवसायीको माग

पोखरा, २१ पुस-
पोखरालाई फुटपाथ निषेधित क्षेत्र घोषणा गरिएपनि पछिल्लो समय सडकपेटीमा हुने व्यापार बढेको छ । दुई बर्ष अघि पोखरा उप–महानगरपालिकाले अभियान नै चलाएर पोखराका सडकपेटीमा हुने व्यापारलाई हटाएपनि फेरी व्यवसायीले सडकपेटी ओगट्ने क्रम बढेको हो ।
बिशेषगरी मौसमी व्यापारीले बन्दोबस्ती र तरकारी तथा फलफूल व्यापारीले मुख्य सडकका पेटीमा बसेर व्यापार गरिरहेका छन् । सडक पेटीमा हुने व्यापार रोक्न उप–महानगरपालिकाले पूर्ण प्रतिबन्ध लगाएर अनुगमन गर्ने गरेपनि बिहान बेलुकी व्यस्त बजारका सडकपेटीमा व्यापार हुने क्रम नरोकिँदा पैदल यात्री तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ । पोखरालाई सुन्दर शहर बनाउनका लागि फुटपाथ नियन्त्रण महत्वपूर्ण हुने भएपनि साना व्यवसायीको अटेरीका कारण उप–महानगरपालिका आफैं हैरानीमा परेको छ ।
सडक पेटीमा पहिलाको जस्तै व्यापार हुन थालेपछि, पोखराका विभिन्न ठाउँमा व्यवस्थित गरिएका व्यवसायीबीच नै विवाद समेत हुन थालेको छ । अन्य व्यापारीहरुले सडकमै बसेर सामान बिक्री गरेपछि, आफुहरुको व्यापार घटेको भन्दै पोखरा सस्तो बजार र हङ्गकङ्ग बजारमा रहेका तरकारी तथा अन्य व्यवसायीहरु आक्रोशित भएका छन् ।
बजार व्यवस्थापन समितिले आफ्ना सदस्यलाई बजार बाहिर गएर व्यापार गर्न प्रतिबन्ध लगाएको छ । सडकमा भएका व्यापारीहरुलाई हटाउन पनि नसक्ने अनि आफुहरुलाई पनि सडकमा जान नदिने भन्दै बजारमा रहेका व्यापारीले गुनासो गर्न थालेको सस्तो बजारमा व्यापार गर्ने शिव खनालले बताए । उनिहरुले समय मिलाएर फुटपाथमा समेत गएर व्यापार गर्न थालेका पाईएको छ । बाहिर गएर व्यापार नगरे बजारमा रहेको स्टलको भाडा समेत तिर्न गाह्रो पर्न थालेपछि सडकमै व्यापार गर्न जान थालेको सस्तो बजारमा फलफुल बेच्दै आएका एक व्यवसायीले बताए ।
केही दिन अघि सडकमा व्यापार गर्न जान पाउनुपर्ने भन्दै सस्तो बजार व्यवस्थापन र व्यापारीहरुबीच बढेको विवादले उग्ररुप लिँदा हात हालाहालको स्थिति समेत उत्पन्न भएको थियो । सस्तो बजारमा व्यापार गर्ने लक्ष्मी अधिकारीले सडकमा व्यापार गर्न पाउनु पर्ने भन्दै स्टल भाडा नदिएपछि, विवाद हुँदा समिर थापा घाईते भएका थिए ।
व्यापारीबीचको विवादलाई बाहिर राजनीतिक रंग दिईएपनि त्यो नितान्त बजारको आन्तरिक बिषय भएको बजार व्यवस्थापन समितिका अध्यक्ष केशव भुजेलले बताए । यस घटनामा कुनैपनि राजनीतिक दलका कार्यकर्ताको संलग्नता नभएको उनले बताए ।
बक्समा
‘कुनै पनि हालतमा सडकमा व्यापार हुन दिन्नौं’
पोखरा उप–महानगरपालिकाका सुरक्षा तथा नियन्त्रण शाखा प्रमुख वसन्त चालिसेले कुनै पनि हालतमा पोखराको सडकमा व्यापार हुन नदिने बताएका छन् । अत्यन्तै दुःख र मेहनतका साथ सफल भएको फुटपाथ नियन्त्रण अभियानलाई प्रभावित गर्न खोज्ने जुनसुकै व्यवसायीलाई पनि कार्वाहीको दायरामा ल्याईने उनले बताए । अहिले नियमित अनुगमनका लागि पोखरा उप–महानगरपालिकासँग पर्याप्त कर्मचारीको अभाव भएकाले पनि लुकिछिपी व्यवसाय गर्नेहरु कार्वाहीको दायरामा आउन नसकेको उनले बताए । बिदाको दिनमा सडकपेटीमा व्यवसायीहरु बढेको गुनासो सुनिएपनि अन्य दिनमा अनुगमन भैरहेकाले यस्ता व्यापारीहरुको संख्या कम रहेको उनको भनाई छ । बिदाको दिनमा उप–महानगरपालिकाका कर्मचारीलाई अतिरिक्त तलबको व्यवस्था गर्न सकिएमा बिदाको दिन पनि अनुगमन हुने र यसका लागि पहल भैरहेको उनले बताए । सडकपेटी अगाडी रहेका घरधनी र व्यवसायीले समेत यो अभियानलाई साथ दिएमा पोखराको सडकपेटीमा कहिल्यै फुटपाथ व्यापार देख्न नपाईने उनको भनाई छ । फुटपाथ नियन्त्रण अभियानलाई सफल पार्न उनले सम्पूर्ण घरधनी तथा व्यवसायीलाई आग्रह समेत गरेका छन् ।

Comments are closed.