पोखरा, २१ पुस-
सरकारले खाना पकाउने एल पी ग्यासमा देखिएको अभाव छिट्टै सहज हुने दावी गरेपनि पोखरामा ग्यास अभाव कायमै छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, वाणिज्य विभागका महानिर्देशक, नेपाल आयल निगमका कार्यकारी निर्देशक लगायतले अघिल्लो साता अबको केही दिनमै ग्यासको सहज आपूर्ति हुने बताएका थिए ।
तर उपझोक्ताले अझै पनि ग्यास पाउन सकिरहेका छैनन् । ग्यास अभावबाट उपभोक्ताले भोग्नुपरेको सास्तीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै गत शुक्रबार छलफल चलाएपनि पोखरासहित देशका अधिकांश शहरमा ग्यासको अभाव कायमै रहेको छ ।
उपभोक्ताबाट ग्यास नपाईएको अत्यधिक गुनासो आएपछि, स्थानीय प्रशासनले पोखरामा सोमबार अनुगमन गरेको छ । एक महिनाभन्दा लामो समयदेखि बजारमा ग्यास पाईनै छाडेपछि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतम नेतृत्वको टोलीले पोखराका विभिन्न ग्यास डिपो तथा डिलरहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा केही डिपोमा ग्यास मौज्दात भएपनि उपभोक्तालाई बिक्रीवितरण नगरेको पाईएको थियो भने केही डिपोले खरिद बिल र बिक्री बिल बिना नै कारोबार गर्दै आएको भेटिएको थियो ।
त्यस्ता डिपो तथा डिलरहरुलाई स्पष्टिकरण सोधी आवश्यक कार्वाहीका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बोलाईएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । सोमबार भएको अनुगमनका क्रममा अधिकांश डिपो तथा डिलरमा बोर्ड नराखिएको, खरिद बिल र बिक्री बिल स्पष्ट नभएको, एक भन्दा बढी कम्पनीका ग्याँस बेचेको पाइएको उनले बताए ।
त्यस्ता डिपो तथा डिलरलाई अविलम्व बोर्ड राख्न, खरिद बिल र बिक्री बिल स्पष्ट राख्न, एक पार्टीलाई १ मात्र ग्यास सिलीण्डर बेच्न निर्देशन दिईएको छ ।
अनुगमन टोलीले रुषी ट्रेडस पोखरा–६, डि एन आर ट्रेडर्स पोखरा–६, अशोक अस्मीता ग्यास स्टोर्स, सापकोटा सप्लार्यस पोखरा–८, सम्वृद्धी ट्रेडस पोखरा–११, रानाभाट सप्लायर्स पोखरा–८ र लक्की स्टोर्स पोखरा–११ मा अनुगमन गरेको थियो ।
अशोक अस्मीता ग्यास स्टोर्स र सापकोटा सप्लायर्सलाई अनुगमन टोलीले खरिद विल र बिक्री बिलसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ ।
यसैगरी, सम्वृद्धि सप्लायर्समा मौज्दात भेटिएको ३५ वटा ग्यास सिलिण्डर तत्काल बजारमा पठाउन निर्देशन दिइएको अन्य बिके्रतासँग ग्यास मौज्दात नरहेको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।
अनुगमनमा साना तथा घरेलु उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, नेपाल आयल निगम, प्रहरी, पत्रकार र विद्यार्थी प्रतिनिधिहरु सहितको टोली सहभागि थियो ।
Comments are closed.