पोखरा, १४ पुस,
नेकपा एमालेका केन्द्रीय कमिटिका सचिव तथा पूर्व उर्जा मन्त्री गोकर्ण विष्टले गम्भीरताका साथ हेर्दा विमती नभएपनि संविधान निर्माणमा सहमति हुन नसक्नुको कारण खोज्नु पर्ने बताएका छन् ।
मर्दी खोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीको पुरञ्चौर स्थीत भारती भवन उच्च मा.वि.मा सोमबार राखेको छात्रवृत्ति, विज्ञान प्रयोगशाला र शैक्षिक सामाग्री वितरण समारोहमा बोल्दै सचिव विष्टले संविधान निर्माणको लागि विषय बस्तुमा केन्द्रीत भइ गम्भीर छलफल नभएको बताए । राजनैतिक संवाद तथा परामर्श समितिका सदस्य समेत रहेका नेता विष्टले संविधान निर्माणको लागि नेताहरु जिम्मेवार र जवाफदेही बन्न नसकेको धारणा राखे ।
संविधान निर्माणको लागि अधिकतम रुपमा सहमतिको लागि प्रयास गर्ने उल्लेख गर्दै सचिव विष्टले मुलकलाई संविधान विहीन बनाउन नहुने विचार व्यक्त गरे । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका सल्लाहाकार तथा सभासद सिता गिरी ओलीले संविधान निर्माणको लागि छलफल र बहसको नाममा समय खर्चन भन्दा ठोस निर्णय गर्नु पर्ने धारणा राखीन । शिक्षा राष्ट्रको प्राथमिकतामा पर्नु पर्ने उल्लेख गर्दै सभासद गिरीले प्रत्येक निर्वाचन क्षेत्रमा प्राविधीक क्याम्पस खोल्ने सरकारको निति अन्तरगत पुरञ्चौरमा कृषि क्याम्पस स्थापना गर्न पहल गर्ने बताइन् । कार्यक्रममा मावी, उच्च मावी र प्राविधिक तर्फ गरी तिस जना छात्र छात्रालाई १ लाख ४१ हजार छात्रवृति वितरण गरियो ।
त्यस्तै धारापानी मावी ढिकुर पोखरीलाई नयाँ पुस्तकालय निर्माणको लागि ४० हजार प्रदान गरियो । कास्कीका उत्तर पश्चिम क्षेत्रका १४ ओटा विद्यालयलाई पुस्तकालयको विस्तारका लागि जनही १० हजारका दरले वितरण गरियो । सोही अवसरमा महेन्द्र उच्च मावि लाहाचोक र भारती भवन उच्च मावि पुरञ्चौरलाई विज्ञान प्रयोगशालाका लागि जनही ४२ हजारका दरले नगद प्रदान गरियो ।
धिताल र ल्वाङ घलेलको नौमति बाजा संरक्षणको लागि सेते परियार र विष्णु गौतमलाई ३० हजार नगद प्रदान गरियो । कार्यक्रममा होकाइडो मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानका संस्थापक डा.राम गिरीले भुमेश्वर मावि धितालका प्राचार्य झलक बहादुर पौडेललाई दुई थान कम्प्युटर हस्तान्तरण गरे । सोही अवसरमा प्रतिष्ठान तथा रोटरी इन्टरनेशनल डिष्ट्रीक्ट २७५० टोकीयो, योहे यामा, युइ रोटरी क्लवले त्यस क्षेत्रका १९विद्यालयलाई अग्रेंजी माध्यममा अध्यापनको लागि नेटिभ स्पीकर, सिडी प्लेएर वितरण ग¥यो ।
Comments are closed.