पोखरा, २१ पुस-
पोखरामा सञ्चालित होटल तथा रेष्टुरेण्टको वर्गिकरणका लागि पहल थालिएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवानले पोखरामा सञ्चालित होटल तथा रेष्टुरेण्टको स्तर मापनका लागि पहल थालेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहयोगमा पोखरामा रहेका विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्था, होटल संघ, सिटी रेवान लगायतसँग समन्वय गरी छिट्टै वर्गिकरणको काम थाल्ने तयारी भैरहेको रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले जानकारी दिए । “अहिले पोखरामा होटल तथा रेष्टुरेण्ट धेरै भैसकेका छन् ।” उनले भने– “संख्यात्मक रुपमा जति बढेका छन् ती होटल कस्ता छन्, त्यहाँ के कस्तो सेवा सुविधा उपलब्ध छ र सरसफाई कत्तिको छ भनेर अहिलेसम्म अनुगमन हुन सकेको छैन ।
अधिकांश होटल तथा रेष्टुरेण्टको भान्सा र शौचालय सबैभन्दा बढी फोहोर हुने गरेको पाईएकाले त्यस्ता होटल तथा रेष्टुरेण्टलाई भौतिक सुधार गरी न्यूनतम मापदण्ड पूरा गर्न सचेत गराईनेछ ।
त्यहि भएर हामीले होटल तथा रेष्टुरेण्टको स्तर मापनका लागि पहल थालेका हौं ।”
वर्गिकरणको कुरा उठ्ने बित्तिकै होटल तथा रेष्टुरेण्टहरुले आफुलाई सुधार्ने प्रयास गर्ने र स्तर वृद्धी पनि हुने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई लगातार वर्गिकरणका लागि अनुरोध गरिएको उनले बताए ।
अहिले पोखरामा सानाठूला गरी ५ सयभन्दा बढीको संख्यामा होटल तथा रेष्टुरेण्ट सञ्चालित छन् । तीमध्ये १ सय २० वटा रेष्टुरेण्ट रेवानसँग आबद्ध छन् । पहिलो चरणमा आफु मातहतका होटल तथा रेष्टुरेण्टलाई गुणस्तर सुधार गर्न र स्तरवृद्धीका लागि आग्रह गर्ने रेवानको तयारी छ । अनुगमनपछि, होटल तथा रेष्टुरेण्टले पालना गर्नुपर्ने न्यूनतम मापदण्डको आधारमा वर्गिकृत खाद्य स्वच्छता मूल्यांकन चिन्ह सहितको स्टिकर समेत टाँसिने योजना रहेको भट्टराईले बताए ।
“हामीले शुरुमा रेवानसँग आबद्ध १०/१२ वटा होटल तथा रेष्टुरेण्टमा अनुगमन गरी वर्गिकरण गर्ने योजना बनाएका छौं । त्यसपछि, क्रमशः अन्य होटल तथा रेष्टुरेण्टको पनि वर्गिकरण गरि स्टिकर प्रदान गरिनेछ ।” उनले भने ।
यसअघि स्थानीय प्रशासनले कहिलेकाहीँ उजुरीका आधारमा होटलमा अनुगमन गर्ने गरेपनि खासै प्रभावकारी नभएकाले यसपटक न्यूनतम मापदण्डलाई समेत ख्याल गरेर स्तर निर्धारण गर्ने पहल भैरहेको उनले बताए ।
पोखरामा फूड हाईजिनिष्ट (खाद्य विज्ञ) नै ल्याएर होटल तथा रेष्टुरेण्टको भान्सासम्मै पुगेर गुणस्तर मापन गरिने समेत उनले बताए । अधिकांश होटल र रेष्टुरेण्टको भान्सा तथा शौचालय बढी फोहोर हुने गरेको पाईएकाले त्यस्ता होटल तथा रेष्टुरेण्टलाई भौतिक सुधार गरी न्यूनतम मापदण्ड पूरा गर्न सचेत गराईने पनि उनको भनाई छ ।
होटल तथा रेष्टुरेण्टमा अनुगमनका लागि विभागसँग कुरा भैरहेको भएपनि कुन मितिदेखि अनुगमन हुने भन्ने टुङ्गो लागिनसकेको भट्टराईले बताए । यद्यपी माघको पहिलो या दोश्रो सातासम्म सबै प्रक्रिया पुरा गरी स्तर निर्धारणको चरणमा पुग्ने उनको भनाई छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसअघि राजमार्गका होटलमा अनुगमन गरी मापदण्ड नपुगेका होटललाई न्यूनतम मापदण्ड पूरा गर्न निश्चित समय दिँदै सोही अनुसारका स्टिकर टाँस गरेको थियो ।
यो अभियानलाई देशैभर लैजाने बताएको विभागले पोखराका होटल तथा रेष्टुरेण्ट व्यवसायीसँगको समन्वयमा स्तर निर्धारण गर्न प्रयास गरिरहेको जनाएको छ ।
अहिले पोखराका सबै होटल तथा रेष्टुरेण्टमा गरी करिब ४ हजार मजदूर कार्यरत छन् । होटल तथा रेष्टुरेण्टको गुणस्तर वृद्धी गर्न मजदूरहरुको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुने भएकाले उनीहरुलाई तालिम र सचेतना कक्षामा सहभागि गराउने पनि रेवानले योजना बनाएको छ ।
– नवराज ढुङ्गाना –
Comments are closed.