पोविविका रजिष्ट्रारले पनि दिए राजीनामा, पदाधिकारी नहुँदा समस्यै समस्या

पोखरा, २५ भदौ-
पोखरा विश्वविद्यालयका अधिकांश पदाधिकारी रिक्त हुँदा प्रशासनिक तथा शैक्षिक कामकाजमा समस्या सिर्जना भएको छ । यसअघि उपकुलपति लगायतका पद रिक्त रहेको विश्वविद्यालयमा रजिष्ट्रार प्रा.डा. मानबहादुर के.सी. ले पनि पदबाट राजीनामा दिएपछि, विश्वविद्यालय समस्यामा परेको हो ।

विश्वविद्यालयमा विद्यार्थी भर्ना खुलाउनु पर्ने समयमा गैरजिम्मेवार बन्दै व्यक्तिगत कारण देखाएर केसीले यही भदौ २२ गते राजीनामा दिएका छन् । केसीको पदावधि आगामी पुस १ गतेसम्म भएपनि करिब ३ महिना अघि नै केसीले प्रधानमन्त्री सुशिल कोइरालासमक्ष राजीनामा दिएका हुन् ।

विश्वविद्यालयमा गत साउन २२ गतेदेखि नै उपकुलपति पद रिक्त छ भने विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डीन डा. सुरेशप्रसाद बाँस्तोलाले समेत पदावधि समाप्ति अगावै गत साउनको अन्तिम हप्ता राजीनामा दिएका थिए ।

नयाँ भर्ना लिनुपर्ने बेला रजिष्ट्रार तथा डीनले दिएको राजीनामाले विश्वविद्यालयका अधिकांश प्रक्रिया रोकिएका छन् ।

विज्ञान तथा प्रविधि संकायतर्फका बि. फार्मेसी, विपिएच, बिएस्सी एमएलटी, बिएस्सी नर्सिङ्, बिई सिभिल, बिई इलेक्ट्रिकल तथा एम फार्मको सम्पूर्ण विद्यार्थी भर्ना प्रक्रिया पदाधिकारी नहुँदा रोकिएको छ ।

ती कार्यक्रममा आवश्यक संख्यामा शिक्षकको नियुक्ति नहुँदा कार्यक्रम सञ्चालनमा समेत समस्या देखिन थालेको छ । विश्वविद्यालयमा उपकुलपति लगायतका विभिन्न पदमा भएको रिक्तताले परीक्षा समितिमा आवश्यक गणपुरक संख्या पुग्न नसकी परीक्षासम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिएका छन् ।

साथै साउन महिनाभित्रै सम्पन्न भइसक्नुपर्ने विश्वविद्यालयको सभा समेत अन्यौलमा परेको छ । सभा नहुँदा आ.व. २०७२/०७२ को बजेट आउन सकेको छैन । बजेट नहुँदा दैनिक प्रशासनिक एवम् शैक्षिक कार्यक्रमदेखि सम्पूर्ण तलव भत्ता आदि समेत रोकिने स्थितीमा पुगेको पोखरा विश्वविद्यालयका सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

Comments are closed.