लेखनाथ जयन्तीको अवसरमा साहित्यकार प्रश्रित सम्मानित

लेखनाथ १५ पौष-
नेपाली साहित्यका धरोहर कवि शिरोमणि लेखनाथ पौडेलको १ सय ३१ औं जन्म जयन्तीका अवसरमा साहित्यकार मोदनाथ प्रश्रितलाई सम्मान गरिएको छ । कविको जन्मस्थल लेखनाथको अघौं अर्चलेमा आयोजित मूल समारोहमा प्रश्रितलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमको अवसरमा संग्रहालयको उद्घाटन गर्दै सम्मानित स्रष्टा प्रश्रितले लेखनाथको जीवनका वैद्धिक प्रसंगहरु उल्लेख गर्दै पिजराको सुगाको पीडा आफूले पनि सात आठ बर्ष जेल बस्दा भोगेको अनुभव व्यक्त गरे । उनले देशमा त्यागमय राजनिति भएमा समयमानै संविधान बन्ने ठोकुवा समेत गरे । कार्यक्रममा आफूलाई गरीएको प्रशंशावाट प्ररित भई अझै रचनात्मक ढंगले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले गीत तथा शब्द द्धारा स्वागत गरेका थिए । त्रिद्धिवसीय रुपमा आयोजित कार्यक्रको अन्तिम दिनमा मंगलवार प्रावि स्तरिय कविता वाचनमा उत्कृष्ट विद्यार्थीहरु कृष्टि लामिछाने मनिका त्रिपाठी, मनिष विक तथा खुशि विक त्यसैगरी वयष्क तर्फको कवितामा उत्कृष्ट प्रवेश पौडेल, विन्दु धमला, समिक्षा त्रिपाठीलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी, मधुमाया ढकाल छात्रवृत्तीबाट जनज्योति उमाविकी विजया गौतम र सुदर्शन भण्डारी, चन्द्रकात ढकाल छात्रवृत्तिबाट ब्रम्हरुपा उमाविका मदन वाग्ले तथा न्यूलाईट उमाविबाट एसएलसी उत्तिर्ण विशाल पौडेल पुरस्कृत भएका थिए भने फणिन्द्र कुमारी ढकाल छात्रवृत्तिवाट लक्ष्मी आर्दश उमाविवाट एसएलसी उत्तिर्ण प्रदिप पौडेल पुरस्कृत भएका थिए ।
कार्यक्रममा लेखनाथ साहित्य पुरस्कार तथा कुन्तीदेवी शिक्षा पुरस्कारको अक्षयकोषमा इश्वरी भट्टराईबाट एक लाख तथा शरदशशि पौडेलबाट रु. पचास हजार थप गरी दश लाख पुर्याईएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिए । कार्यक्रममा नेपाल राष्ट्र वैकका पुर्व गर्भनर विजयनाथ भट्टराई, प्राज्ञ हरिदेवी कोइराला, लेखनाथ नगरपालीकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, ई. वसन्तमोहन भट्टराई, खडानन्द लामिछाने लगायतले बोलेका थिए ।

Comments are closed.