व्यवस्थित र सुविधायुक्त रंगशाला आवश्यक

सम्पादकीय-
पोखरामा आजदेखि चौंथो मनकामना केबुलकार पोखरा कप शुरु हुँदैछ । यसअघिका तीन बर्ष लगातार सफल दूधको प्रायोजनामा सफल पोखरा कपको नामबाट सञ्चालन भैरहेको प्रतियोगिता यसबर्षदेखि नयाँ नामका साथ शुरु हुन लागेको हो । यसपटकको प्रतियोगितामा नेपालसहित भुटान र हङकङका टीमसमेत सहभागि हुँदैछन् । आयोजक कास्की जिल्ला फुटबल संघले चारबर्षदेखि लगातार आयोजना गर्दै आएको यस पटकको प्रतियोगिता पनि विगतका बर्षहरुजस्तै सभ्य र भव्य बनाउनका लागि आयोजक जुटिरहेको छ ।
हुन पोखरामा पछिल्लो समय राष्ट्रियस्तरका विभिन्न खेल प्रतियोगिताहरु पनि हुँदै आएका छन् । देशकै पर्यटकीय नगरीका नामले चिनिएको पोखरामा विभिन्न बेला र मौसममा भैरहने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताले खेलकूद नगरीका रुपमा पनि चिनाउन सफल भएका छन् । बर्षेनी आयोजना हुँदै आएको आहा रारा गोल्डकप प्रतियोगिता, क्रिकेट प्रतियोगिता, प्रि–वल्र्डकप स्तरिय प्याराग्लाईडिङ्ग प्रतियोगिता, हक्की प्रतियोगिता, बास्केटबल प्रतियोगिता लगायतका प्रतियोगिताले पोखरालाई खेलकूदका माध्यमबाट चिनाउन थप सहयोग गरिरहेका छन् । तरपनि अन्य खेल भन्दा फुटबल धेरैको रोजाईमा पर्ने भएकाले पनि पोखरामा आयोजना हुने दुई ठूला प्रतियोगिता मनकामना केबुलकार पोखरा कप र आहा रारा गोल्डकप प्रतियोगिताले आम पोखरेलीको पनि मन जित्न सफल भएका छन् ।
नेपालमा फुटबलको क्रेज अत्यन्तै भएपनि आवश्यक भौतिक पूर्वाधार नहुँदा र फुटबल खेलाडीलाई उचित तालिम र पारिश्रमिकको सुविधा हुन नसक्दा फुटबल खेल जति फस्टाउनुपर्ने हो त्यति फस्टाउन सकेको छैन । बरु फुटबलको तुलनामा नेपालमा क्रिकेटले धेरै फड्को मारिसकेको अवस्था छ । बर्षमा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल प्रतियोगिता हुने गरेपनि पोखरामा व्यवस्थित र सुविधायुक्त खेल्ने ठाउँको अभावै छ । बिशेषगरी फुटबलको क्षेत्रमा स्थानीयस्तरमा केही पोखेरलीहरुले खेल क्षेत्रलाई व्यवस्थित गरी रंगशाला निर्माणका लागि पहल पनि गर्दै आएका छन् । तर सानोतिनो रकमले व्यवस्थित र ठूलै खेल खेलाउन सकिने रंगशाला निर्माण गर्न सकिँदैन । अन्तराष्ट्रिस्तरको प्रतियोगिता गर्न काठमाडौंमा समेत रंगशाला अभाव भएको अवस्थामा त्यसको विकल्पका रुपमा पोखरालाई उभ्याउन जरुरी छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

Comments are closed.