पोखरा, १५ पुस ।
पोखरा उद्योग वाणिज्य संघले असहाय, विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्रि तथा पोशाक वितरण गरेको छ ।
बालश्रम न्यूनिकरण कार्यक्रम (क्लेप) अन्तर्गत सञ्चालित श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्रहरुको सम्पर्कमा रहि विद्यालय भर्ना भएका १ सय १३ जना बालबालिकाहरुलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग संघका अध्यक्ष विन्दु कुमार थापाले संघले बालश्रम न्यूनिकरण कार्यक्रमको दिगोपनाका लागि प्रत्येक बर्ष औद्योगिक व्यापार मेलाको टिकटबाट संकलित रकममा थप गरि १ लाख पचास हजार रुपैया बालश्रम न्यूनिकरण कार्यक्रमको लागि छुट्याउने निर्णय संघले गरेको जानकारी दिए । उनले बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्न पाएकोमा खुशि व्यक्त गरेका थिए । समारोहका अध्यक्ष दीपक श्रेष्ठले बालश्रम न्यूनिकरण कार्यक्रमलाई निरन्तरता दिनको लागि संघका सबै सदस्यहरुले साथ दिन अनुरोध गर्दै सम्पर्क केन्द्रमा आएका बालबालिकाहरुको शिक्षाको लागि जस्तो सुकै समस्या आए पनि समाधानका लागि निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएका थिए ।
पोखरा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य तथा बगर सम्पर्क केन्द्रका संयोजक सीता गुरुङ्गले हरेक केन्द्रमा भएका समस्याहरुलाई संघको कार्यसमितिको बैठकले सम्बोधन गर्दै जानुपर्ने बताईन् ।
सहारा सम्पर्क केन्द्रका संयोजक मिन प्रसाद भट्टराईले पोखरा उद्योग बाणिज्य संघले बालश्रमको क्षेत्रमा गरिरहेको कार्य उल्लेखनिय भएको बताउँदै संघले चाहेमा पोखरालाई बालमैत्री नगर बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
Comments are closed.